नेपाल-चीन केन्द्रीय बैंकबीच सम्झौता हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल-चीन केन्द्रीय बैंकबीच सम्झौता हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपाल राष्ट्रबैंक र चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाबीच नियमन सुपरीवेक्षण क्षेत्रमा प्राविधिक सहयोगका लागि सम्झौता हुने भएको छ ।

 

नेपाल राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले दुई देशका केन्द्रीय बैंकबीच नियमन सुपरीवेक्षण तथा दुईपक्षीय सम्बन्ध विस्तारका लागि सम्झौता हुन लागेको जानकारी दिए । सम्झौताका लागि प्रधानमन्त्री ओलीसँगै राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल तथा सुपरीवेक्षण विभागका प्रमुख कार्यकारी निर्देशक नारायण पौडेल चीन भ्रमणमा जाने भएका छन् ।

उक्त सम्झौता पश्चात दुई देशको केन्द्रीय बैंकबीच सूचना आदान प्रदान तथा प्राविधिक विषयमा सहयोग पुग्ने उनको विश्वास छ । साथै उक्त सम्झौताले बैंकिङ कारोबारमा आउन सक्ने समस्या सुल्झाउन पनि सहज हुने प्रवक्ता पंगेनीले बताए । त्यस्तै सम्झौता पश्चात चीनियाँ बैंकलाई नेपाल शाखा विस्तार गर्न पनि सहज हुने र यसबाट नेपाललाई पनि लाभ हुने विश्वास लिइएको छ । र नेपालले पनि प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा चिनियाँ बैंकको शाखा नेपालमा खोल्नको लागि प्रस्ताव पठाएको छ ।

नेपालले सन् २०१० देखि विश्व व्यापार संगठनको नियम अनुसार विदेशी बैंकलाई नेपालमा शाखा खोल्न अनुमति दिए पनि अहिलेसम्म एउटा पनि शाखा खुलेको छैन ।

त्यसमापनि पछिल्लो समयमा चीनसँगको व्यापार पनि बढ्दै गएको र पूर्वाधारको क्षेत्रमा चिनियाँ लगानी पनि बढ्दै गएको सन्दर्भमा चिनियाँ बैंकको शाखा स्थापनाले द्विपक्षीय व्यापार विस्तारमा सहयोग पुग्नेछ ।

प्रकाशित : ३ चैत्र २०७२, बुधबार ०४:००