तयारी पोशाक व्यावसायी निराश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तयारी पोशाक व्यावसायी निराश



काठमाडौ । अमेरिकी सरकारले नयाँ कानूनमार्फत् ६६ प्रकारका नेपाली उत्पादनका लागि दिएको शून्य भन्सार सुविधामा निर्यात हुने मुख्य तयारी पोशाक छुटेपछि तयारी पोशाक व्यावसायीहरु निराश भएका छन् । गत डिसेम्बरमा अमेरिकी कंग्रेसले नेपालका लागि छुट्टै ऐन पारित गरी यस्तो सुविधा दिएको थियो । सम्भवतः आगामी महिनाबाट कार्यान्वयनमा आउने ठानिएको यस ऐनमा नेपालबाट अमेरिका निर्यात हुने मुख्य वस्तुहरु भने छुटेका छन् ।
नयाँ कानुन अनुमोदन भएपछि अमेरिकी सरकारले अफ्रिकी राष्ट्रहरुलाई दिए जस्तै सुविधा प्राप्त हुने आशामा रहेका व्यवसायीहरुलाई हालै नेपाल भ्रमणमा रहेकी नायब नायब सहाक युएस ट्रेड रिप्रिजेन्टेटीभ डन स्याकलफोर्डले नयाँ कानूनको बारेमा प्रष्ट पारेपछि उनीहरु निराश भएका हुन् । अमेरिकाले आगामी १० वर्षका लागि दिने यो सुविधा प्राप्त हुने वस्तुहरुमा छालाका उत्पादनहरु– ब्याग, बेल्ट, पस्मिना, टोपी, विशेष ग्राह्यता प्रणाली (जीएसपी) अन्तर्गत समावेश नभएका कार्पेट, यात्रामा प्रयोग गरिने सामग्री लगायत छन् ।
विश्व व्यापार सङ्गठनमा प्रवेशसँगै सन् २००५ मा अमेरिकी सरकारबाट प्राप्त कोटा प्रणाली खारेज गरेपछि तयारी पोशाक उद्यमीहरु निरन्तर नेपाली तयारी पोशाकले सुविधा प्राप्त गर्नुपर्ने ‘लबिङ’ मा थिए । गत वर्ष भूकम्पपछि क्यालिफोर्नियाकी सिनेटर डायना फाइन्सटाइनले नेपाललाई सुविधा दिने विधेयक पेश गरेपछि व्यवसायीहरु हौसिएका थिए । यसले तयारी पोशाक उद्योगलाई पुनर्जागरण दिने र देशभित्र ठूलो संख्यामा रोजगारी सिर्जना हुने उनीहरुको विश्वास थियो ।

कोटा प्रणाली कायम रहँदा नेपाली तयारी पोशाकका लागि अमेरिका ठूलो बजार थियो । सन् २००० ताका अमेरिकातर्फ तयारी पोशाकको वार्षिक निर्यात १० अर्ब रुपैयाँ थियो । तत्कालीन समयमा झण्डै ६ अर्ब रुपैयाँ लगानीमा झण्डै सात सयको हाराहारीमा तयारी पोशाक उद्योगहरु थिए । जसले छ लाख भन्दा बढी व्यक्तिहरुका लागि रोजगारी सिर्जना गरेको थियो ।
अमेरिका तयारी पोशाक निर्यातमा निर्यातकर्ताले मुख्य निर्यात वस्तुहरुमा १७ देखि ३५ प्रतिशत भन्सार तिर्नुपर्छ । शून्य भन्सार सुविधाले नेपाली उत्पादन अमेरिकी बजारमा प्रतिस्पर्धी भई माग बढ्ने अपेक्षा गरिएको थियो । अहिले अमेरिकातर्फ नेपालले वार्षिक ८० करोड रुपैयाँ हाराहरीको तयारी पोशाक निर्यात गर्छ । जबकी सन् २००० ताका नै निर्यात १० अर्ब रुपैयाँको थियो । कोटा प्रणाली खारेजसँगै नेपालले ठूलो बजार गुमाउनुका सथै तयारी पोशाक उद्योगहरु नै धराशयी हुन पुगे । अहिले नेपालले वार्षिक पाँच अर्ब रुपैयाँको तयारी पोशाक निर्यात गर्छ जसको मुख्य बजार युरोपेली राष्ट्रहरु हुन् ।

प्रकाशित : ४ चैत्र २०७२, बिहीबार ०४:२६