साताैं ऊर्जा सम्मेलनमा साढे ७ सयभन्दा बढीकाे उपस्थिति हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

साताैं ऊर्जा सम्मेलनमा साढे ७ सयभन्दा बढीकाे उपस्थिति हुने



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को अग्रसरतामा आगामी मंसिर ५ र ६ गते (नोभेम्बर २१ र २२) राजधानीमा हुने साताैं ऊर्जा सम्मेलन (पावर समिट) मा विभिन्न देशका ७ सयभन्दा बढीकाे उपस्थिति हुने भएकाे छ । जसमा भारतका जलस्राेत मन्त्री गजेन्द्र सिंह शेखावत र बंगलादेशका ऊर्जा, विद्युत तथा खनिज राज्यमन्त्री नसरुल हमिद आउने भएका छन् । इपानले अाज बुधबार पत्रकार सम्मेलन गरी यसकाे जानकारी गराएकाे हाे ।

ऊर्जा उत्पादनमा विदेशी अनुभव र प्रविधि हस्तान्तरण गर्ने उद्देश्यले सम्मेलन हुन लागेको इपानले जनाएकाे छ । ‘पाउरिङ द एसियन सेन्चुरी’ भन्ने नाराका साथ सुरु हुन लागेको सम्मेलनमा भारत र बंगलादेशबाट बढी सहभागिता हुने अपेक्षा गरिएकाे छ । इपानका अनुसार भारतबाट एक सय र बंगलादेशबाट ५० जना सहभागी हुने पक्का भएको छ । छिमेकी राष्ट्रसँगै भुटान, नर्वे, दक्षिण कोरिया, क्यानडा, बेलायत, अमेरिका, जापान र नेदरल्याण्डका लगानीकर्ताको सहभागिता रहने इपानले उल्लेख गरेकाे छ ।

सम्मेलनमा नेपाल र विदेशी सहभागीकाे संख्या ५०/५० प्रतिशत हुने अनुमान छ । विदेशी सहभागीमध्ये ७५ प्रतिशत भारत र बंगलादेशबाट आउने टुंगाे लागेकाे इपानले दाबी गरेकाे छ । सम्मेलनमा क्षेत्रीय विद्युत व्यापार, विद्युत बजार नियमन र वित्तीय व्यवस्थापन, संघीयतामा ऊर्जा व्यवस्थापन, सहजीकरण र लगानीका विषयमा वृहत छलफल हुने इपानका उपाध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार ऊर्जा विकासमा अन्तराष्ट्रिय सफल उदाहरण प्रस्तुत गर्दै अनुभव आदानप्रदानबाट नीतिगत सुधारमा योगदान पुर्याउने लक्ष्य छ । सम्मेलनमा ‘विजनेस टु विजनेस मिटीङ’लाई प्रोत्साहन दिई लगानी तथा व्यापारमा टेवा पुर्याउने र आधा दर्जनभन्दा बढी विद्युत व्यापार, वातावरणीय उत्तम अभ्यास तथा समावेशी ऊर्जा क्षेत्र सम्बन्धी सम्झौता हुने अपेक्षा रहेको इपानले जनाएको छ ।

साथै, ऊर्जा क्षेत्रको विकास एवं विस्तारमा सरकारले अगिंकार गरेको नीतिलाई मुर्त रूप दिन अहम भूमिका निर्वाह गर्ने, विकासको सम्भावना र भविष्यको बाटो पहिल्याउन ठोस सुझाव र मार्ग प्राप्त हुने विश्वास छ । सम्मेलनबाट २५ हजार मेगावाट विद्युत निर्यात हुने ठाेस बाटो खुल्ने विश्वास व्यक्त गरिएकाे छ । भारतले आगामी सन् २ं०३४ सम्म १५ हजार मेगावाट र बंगलादेशले आगामी २०३० सम्ममा ९ हजार मेगावट विद्युत नेपालबाट आयात गर्ने घोषण गरेकाे बताइएकाे छ । इपानले गर्न लागेको यो सातौ सम्मेलन हो । इपानको पहलमा ‘सूर्यास्तसम्म १० हजार मेगावाट’ नारा राखेर सन् २०१६ मा छैटौं सम्मेलन भएको थियो । यसअघि सन २००६, २००७, २००८, २०१२ र २०१३ मा पनि सम्मेलन गरिएको थियो ।

सन् २००६ र ०७ मा भएको सम्मेलनले ‘जलविद्युतमा लगानीको अवसर’ भन्ने मुद्दालाई प्राथमिकता दिएको थियो । सन् २००८ को सम्मेलन आयोजना निर्माण तथा विद्युत उत्पादन गर्नुपर्नेमा केन्द्रित रह्यो । यसैगरी, सन २०१२ को सम्मेलनले स्वदेशी र विदेशी लगानीकर्ताबीचको सम्बन्ध तथा लगानी आदानप्रदानमा जोड दिएको थियो । सन २०१३ को सम्मेलनमा ‘जलविद्युत उत्पादनमा हतार’ भन्ने नारा राखिएको थियो । सरकार तथा लगानी बोर्डले २०७५ चैत १२ र १३ गते लगानी सम्मेलन गर्यो । यो सम्मेलनमा निजी ऊर्जा उत्पादकलाई कम महत्त्व दिएको भन्दै व्यवसायीहरू रुष्ट पनि भएका थिए । बोर्डले पनि यसअघि दुई पटक सम्मेलन गरिसकेको छ ।

प्रकाशित : ६ कार्तिक २०७६, बुधबार १७:०९