अनधिकृत कारोबार रोक्न सरकार असफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनधिकृत कारोबार रोक्न सरकार असफल



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष रमेश गुप्ताले नाकाबन्दीपछि बढेको अनधिकृत कारोबार सरकारले रोक्न नसकेको आरोप लगाएका छन् ।

‘नाकाबन्दीपछि बढेको अनधिकृत कारोबार फष्टाइरहेको छ । यसलाई रोक्न सरकार असफल जस्तै देखिएको छ,’ संघले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा उनले भने, ‘यसले वैध व्यापार गर्ने उद्योगी समस्यामा परेका छन् ।’ गुप्ताका अनुसार नक्कली सामानको कारोबार बढिरहेको तर रोक्ने निकाय स्पस्ट भएको छैन ।

राजस्व अनुसन्धान विभागले कर छलिको छानबिन सुरु गर्नुअघि व्यवसायीको विगत, सामाजिक प्रतिष्ठा, करप्रति उसले विगतमा गरेको व्यवहार, कर्पोरेट गभर्नेन्स लगायतका पक्षमा हेर्नुपर्ने बताउँदै उनले कुनै व्यक्तिले उजुरी दिएकै भरमा छापा नर्मान आग्रह गरे । विभागले छानबिनको क्रममा व्यापारीको कागजात नियन्त्रणमा लिने बित्तिकै दोषी झैं प्रचारप्रसार गर्न नहुने बताउँदै गुप्ताले सामान समातेको निश्चित समयभित्र छानविन सक्नुपर्ने र दोषीलाई दण्डित गर्नुपर्ने बताए ।

संघका पूर्वअध्यक्ष अशोककुमार अग्रवालले गल्ती गर्नेलाई सजाय दिनुपर्ने तर  निर्दोषलाई फसाउन नहुनेमा बताए ।  आयातका क्रममा बिक्रेताले गलत सामान पठाएमा आयातकर्तालाई दोषी बनाउने कानुनी व्यवस्था परिमार्जनका लागि आग्रह गरे । संघका महासचिव विनोद सेठियाले अनुसन्धानको सिलसिलामा छापा मार्दा व्यवसायीका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिलाई पनि सहभागी गराए त्रासको वातावरण कम हुने बताए ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक निर्मलहरि अधिकारीले हचुवाको भरमा छापा मारेर छानबिन थाल्ने विगतको चलनलाई आफूले निरुत्साहित गरेको बताए ।  ‘तथ्यगत रुपमा पुष्टि भएपछि मात्रै कागजात नियन्त्रणमा लिएर थप छानबिन गर्ने गरेको छ,’ उनले भने , ‘करदाताको गोपनीयताको प्रतिष्ठाप्रति म गम्भीर छु ।’

विगतमा उद्योग र व्यापार क्षेत्रमा मात्रै विभागले छानबिन गर्ने गरेकोमा अहिले सेवा क्षेत्रमा पनि छानबिन थालेको उनले बताए । उनले छानबिनलाई एकै किमिसको बनाउने, आन्तरिक ओसारपसारमा पनि सेल्फ एसेस्मेन्ट लागू गर्ने योजनामा रहेको बताए ।  ‘मेरो उद्देश्य व्यापारीलाई सडकमै पुग्ने गरी कारबाही गर्ने होइन नियम कानुनको अधिनमा रहेर कारोबार गर्न प्रोत्साहित गर्नु हो,’ उनले भने, ‘करदाताको गोपनीयताप्रति म सचेत छु ।’

प्रकाशित : ८ चैत्र २०७२, सोमबार ०४:३६