टेलिकम कम्पनीहरूलाई कल शुल्क घटाउन समय ताेकियाे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टेलिकम कम्पनीहरूलाई कल शुल्क घटाउन समय ताेकियाे



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरआबद्धता (इन्टरकनेक्शन) कल शुल्क घटाउन टेलिकम कम्पनीहरूलाई ४ महीनाको समय दिएको छ । गत शुक्रवार प्राधिकरण सञ्चालक समितिको बैठकले अन्तरआबद्धता कल शुल्क घटाउन उक्त समय निर्धारण गरेको हो । प्राधिकरणले गत भदौमा अन्तरआबद्धतासम्बन्धी नयाँ निर्देशिका २०७६ जारी गरेपछि सेवाप्रदायकलाई कल शुल्क घटाउनुपर्ने बाध्यता थियो । तर, निर्देशिका जारी भएको लामो समय भइसक्दा पनि सेवाप्रदायकले शुल्क घटाउन आनाकानी गर्दैआएका थिए । एक नेटवर्कबाट अर्को नेटवर्कमा जाने कललाई नै अन्तरआबद्धता कल भन्ने बुझिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीका अनुसार प्राधिकरण बोर्ड बैठकबाट निर्देशिका स्वीकृत भएलगत्तै सेवाप्रदायकलाई शुल्क घटाउन निर्देशन दिइएकोमा कम्पनीहरूले तत्काल लागू गर्न नसकिने भन्दै पत्र पठाएका छन् । त्यसैले अब निर्देशिका ४ महीनापछि लागू हुने उनले बताए । त्यसपछि मात्र ग्राहकले तिर्दै आएको कल शुल्क घट्नेछ ।

नयाँ निर्देशिकाअनुसार ग्राहकले एक टेलिकम कम्पनीको मोबाइलबाट अर्को कम्पनीको मोबाइलमा फोन गर्दा प्रतिमिनेट १० पैसा मात्र शुल्क तिर्नुपर्ने छ । प्राधिकरणको २०६५ को अन्तरआबद्धता निर्देशिकाले मोबाइलबाट अर्को अपरेटरको मोबाइलमा कल गर्दा अन्तरआबद्धता शुल्क ५४ पैसा तोकेको थियो ।

प्राधिकरणले निर्देशिका मार्फत शुल्क लिने सीमा तोकिदिएको भए पनि सेवाप्रदायकले समझदारी गरेर सोभन्दा कम शुल्क पनि तय गर्ने गरेका छन् । अहिले नेपाल टेलिकमको नम्बरबाट टेलिकमकै नम्बरमा फोन गर्दा कम शुल्क लाग्छ भने टेलिकमको नम्बरबाट एनसेलको नम्बरमा कल गर्दा बढी शुल्क लाग्ने गरेको छ ।

नेपाल टेलिकमका पोस्टपेड ग्राहकले आफ्नै नेटवर्कभित्र कल गर्दा प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले प्रतिमिनेट १ रुपैयाँ ५० पैसा शुल्क तिर्दै आएका छन् । एनसेलले भने अन्य नेटवर्कमा फोन गर्दा प्रतिमिनेट शुल्क २ रुपैयाँ ५४ पैसा तोकेको छ ।

प्रकाशित : २६ मंसिर २०७६, बिहीबार ०७:१७