आर्थिक वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आर्थिक वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण



काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर एक दशमलव पाँच प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

उसले बुधबार एक कार्यक्रम गरी सार्वजनिक गरेको सन् २०१६ को एसियाली मुलुकहरुको विकास परिदृश्यअनुसार नेपालको आर्थिक वृद्धिदर गत वर्षको भन्दा आधै घटने अनुमान गरेको हो । गत वर्ष यस्तो वृद्धिदर तीन प्रतिशत हुने उसको प्रक्षेपण थियो ।

1459332827_adb

एडीबीको यो अनुमान सरकारको भन्दा कम हो । सरकारले भूकम्प र नाकाबन्दीका कारण आर्थिक वृद्धिदर दुई प्रतिशतमा सीमित हुने अनुमान गरेको थियो । एडीबीले अर्को आर्थिक वर्षमा भने आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशत कायम हुने अनुमान गरेको छ ।

एडीबीले पुनर्निर्माणमा भएको ढिलाई, व्यापार र पारवहनमा गरिएको अवरोधका कारण यस वर्ष आर्थिक वृद्धिदर खस्कने अनुमान गरिएको भन्दै एडीबीले अर्को वर्ष पुनर्निर्माणमा आउने सुधार र व्यापार तथा पारवहन सामान्य अवस्थामा फर्कने विश्वास लिएको छ ।

एडीबीका अनुसार यो वर्ष मुद्रास्फीति दोहोरो अंकमा पुग्नेछ । गत वर्ष एकल अंकमा रहेको मुद्रास्फीति यस वर्ष १०.५ प्रतिशत हुनेछ भने अर्को वर्ष घटेर आठ दशमलव दुई प्रतिशत हुने बैंकको प्रतिवेदनमा उल्लेख छ । संविधान जारी भएपछि सुरु भएको संवैधानिक विवादले नयाँ गठन भएको संयुक्त सरकारलाई बजेट कार्यान्वयन गर्ने उसको क्षमतामा प्रतिकुल प्रभाव परेको एडीबीले तर्क गरेको छ ।

यसबाट प्रत्यक्ष वैदेशिक लगानीका साथै निजी क्षेत्रलाई आकर्षित गर्ने अति आवश्यक विद्युत ऐन, विद्युत नियामक आयोग ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन बनाउने कार्य प्रभावित भएको जनाएको छ । पुनर्निर्माणमा भएको ढिलाई, व्यापार तथा पारवहनमा भएको अवरोध र प्रतिकुल मौसमका कारण कुल ग्रार्हस्थ उत्पादन सरकारको दुई प्रतिशतको संशोधित अनुमानभन्दा कम एक दशमलव पाँच प्रतिशत हुने एडीबीले प्रतिवेदनमा जनाएको छ ।

गएको वैशाखको विनाशकारी भूकम्पका कारण पाँच खर्ब २० अर्ब पुँजीगत र एक खर्ब ९० अर्ब आर्थिक क्षति भएको राष्ट्रिय योजना आयोगले तथ्य सार्वजनिक गरेको थियो । यता कृषि विकास मन्त्रालयले कृषि क्षेत्रको अनुमानित वृद्धिमा शुन्य दशमलव पाँच प्रतिशतले कमी देखाउने गरी धानको उत्पादन १० प्रतिशत, मकैको पाँच प्रतिशतले घटने अनुमान गरेको छ ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार ११:३२