९० लाखको सेयर बेच्न ६५ लाख खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

९० लाखको सेयर बेच्न ६५ लाख खर्च



IPOs1काठमाडौं  ।उद्देश्यचाहिँ लगानीका लागि कम्पनीमा सेयरवापत सर्वसाधारणसँग रकम उठाउने तर रकम उठाउनेबराबरकै खर्च भने सोको प्रक्रियामा नै लाग्ने । प्रक्रियाको खर्च तिर्न नसकेर कारोवार रोक्का हुने अनि सर्बसाधारणले हालेको रकम फस्ने । एशियामै सबैभन्दा महंगो दोस्रो बजारको कारोवार रहेको नेपालको प्राथमिक सेयर बजारको झन्झटिलो र महंगो प्रक्रियाको यो एउटा उदाहरण हो ।

सुन्दा पनि अचम्म लाग्न सक्छ, ९० लाख रुपैयाँको सेयर बिक्री गर्न ६५ लाख रुपैयाँ खर्च भयो । सो खर्च ब्यहोर्न नसक्दा कम्पनीको सेयर कारोवार नै रोक्का छ र सेयर हालेका सर्बसाधारणले न सेयर पाए नत कारोवार नै भयो ।

गत वर्षको १७ देखि २१ फागुनसम्म जनउत्थान सामुदायिक लघुबित्त विकास बैंकले ९० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो । सो आईपिओमा जम्मा ९० लाख रुपैंया बराबरको साधारण सेयर बिक्रीमा राखिएको थियो । जसमा कर्मचारी र म्यूचुअल फण्डको लागि छुट्याइको परिमाण समेत त्यसमै थियो ।

आफूसँग भएको संस्थापक सेयर पुँजीमा ९० लाख रुपैयाँ थप गरेर व्यवशाय विस्तार गर्ने योजना बैंकको थियो । तर, ९० लाख रुपैयाँको साधारण सेयर बिक्री गर्न मात्रै ६५ लाख रुपैयाँ खर्च भयो । अब बैंकको हातमा २५ लाख रुपैयाँ मात्रै पर्ने भएको छ ।

तर, सेयर निष्काशनको बिक्री प्रवन्धनमा नै ६५ लाख रुपैयाँ खर्च भएको दाबी बिक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकरले गरेपछी २ कम्पनीबिच विवाद भएको छ । जनउत्थानको आईपीओमा अत्यधिक आवेदन परेको र सोका लागि धेरै खर्च भएको भन्दै ग्रोमोरले धेरै रकम माग गरेको दाबी जनउत्थानको छ । उसले बढीमा २० लाख खर्च हुने अनुमान गर्दै निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मा दिएको जनाएको छ । तर, लघुवित्तको सेयरमा लगानीकर्ताको धेरै चासो रहेका कारण धेरै आवेदन परेकाले धेरै खर्च भएको हो ।

बिक्री प्रवन्धनमा भएको अत्यधिक खर्चका बिषयमा विवाद भएपछी यसमा राष्ट्र बैक र धितोपत्र बोर्डसमेत मुछिएका छन् । जनउत्थानले सो रकम आफुले तिर्न नसक्ने जनाउँदै अदालत जाने जिकिर समेत गरेको छ । उता ग्रोमोरले भने सम्झौता अनुसारको रकम तिर्नैपर्ने भन्दै नियमानुसार छुट दिन सकिने रकम छुट दिइसकिएको दाबी गरेको छ ।

ग्रोमोर मर्चेन्ट बैंकरले सम्झौता अनुसार साढे ६४ लाखको हिसाब जनउत्थानलाई बुझाएको थियो । तर, उसले सो रकम दिन अस्विकार गर्दै राष्ट्र बैंकमा उजुरी दिएको छ । सेयर निष्काशनसम्बन्धी बिषय भएको र मर्चेन्ट बैंकरको नियमन राष्ट्र बैंकले गर्न नमिल्ने हुनाले उसले सो उजुरी धितोपत्र बोर्डमा फरवार्ड गरेको थियो ।
धितोपत्र बोर्डले दुबै पक्षलाई राखेर छलफल गराएको भए पनि कुरा मिलेको छैन । यही विवादका कारण सेयर बाँडफाड भई प्रमाणपत्र समेत बितरण भैसकेकोमा सुचिकरणपछी सेयर कारोवार समेत हुन सकेको छैन । विवादबिच जनउत्थानले सेयर रजिष्ट्रार समेत परिवर्तन गरेको छ । ग्रोमोरलाई नै यसअघि सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेकोमा उसले रकमको विवादपछी ग्रोमोरलाई हटाएको थियो । तर, नयाँ सेयर रजिष्ट्रारले काम नै गर्न सकेको छैन ।

ग्रोमोरले यति धेरै रकम माग गरेपछि बैंकले सेयर रजिस्ट्रारको जिम्मेवारी एनआईबीएल क्यापिटललाई दिएको छ । तर, बैंकले सम्झौताअनुसारको पैसा नदिएको र सेयर रजिस्ट्रारको जिम्मेवारी अर्कै कम्पनीलाई दिएको भन्दै ग्रोमरले बैंकको सेयर तथ्यांक दिन अस्वीकार गरेको छ । ग्रोमोरले तथ्यांक नदिएका कारण अहिले सो बैंकको सेयर कारोबार रोकिएको हो ।

बैंक र बिक्री प्रबन्धकको विवादका कारण अहिले बैंकको सेयर कारोबार नै रोकिएको छ । आफूले सेयर बिक्री गरेर संकलन गर्न खोजेको पुँजीको दुई तिहाइ रकम सेयर सार्वजनिक गर्ने प्रक्रियामै खर्च भएको भन्दै बैंकले यस्तो रकम दिन नसक्ने जानकारी बिक्री प्रबन्धकलाई गराएको छ । बिक्री गरिएको सेयर पुँजीको दुई तिहाइ रकम बिक्री प्रबन्धकलाई नै तिर्नुपर्ने अवस्थामा साना कम्पनीहरुले कसरी आईपीओ निष्काशन गर्न सक्लान ? यो बहसको बिषय बनेको छ ।

ग्रोमोर स्रोतका अनुसार ९० लाख बराबरको ९० हजार कित्ता सेयर बिक्री गर्दा खर्च नै साढे ६४ लाख आएको थियो । सो रकम सेयर निष्काशन सम्झौतामा उल्लखे भए अनुसारकै हो । तर, जनउत्थानले ठुलो रकम भएकाले सानो कम्पनीले त्यति धेरै तिर्न नसक्ने जनाएपछी उसलाई छुट समेत दिइएको थियो ।
ग्रोमोरले करि २० लाख रुपैंया छुट दिएर ४४ लाख रकम तिर्न जनउत्थानलाई आग्रह गरिसकेको छ । यसअघि जनउत्थानले २० लाख रकम बुझाईसकेको र थप २४ लाख रकम बुझाउन बाँकी रहेको ग्रोमोर स्रोतको भनाई छ । तर, जनउत्थानले भने २० लाखभन्दा एक पैसा पनि बढी नबुझाउने अडान राखिराखेको छ । ग्रोमोरले रकम नदिएकोमा अदालतमा मुद्दा हाल्ने जनाएको छ भने जनउत्थानले राष्ट्र बैंक र धितोपत्र बोर्डमा उजुरी हालिसकेको छ ।

यो विवाद लामो समयदेखि धितोपत्र बोर्डमा अड्केको भए पनि उसले कुनै निर्णय दिन सकेको छैन । बोर्डले दुईपक्षको आपसी लेनदेन र कारोवार सम्झौताको बिषय भएकाले सहमतिमा मिल्न आग्रह गरेको भए पनि ठोस कुनै निर्णय दिएको छैन । तर, लामो समयदेखि हजारौं लगानीकर्ताले सेयर कारोवार गर्न नपाएका कारण समस्या परेको बिषयमा भने बोर्ड केही बोलेको छैन । जनउत्थानले सेयर रजिष्ट्रार नै परिवर्तन गरेको र ग्रोमोरले रकम नपाएसम्म कागजात र तथ्यांक नदिने जानकारी गराईसकेका कारण अझै तत्काल विवाद मिल्ने छाँट देखिएको छैन ।

हाल ग्रोमोर मर्चेन्ट बैंकरलाई प्रभु समुहले अक्वाएर गरेको छ । यो प्रभु बैंकसँग मिलेर कारोवार गर्ने तयारीमा छ । नयाँ व्यवस्थापनमा सन्चालनमा आएको ग्रोमोरले अझै यो विवाद मिलाउनको लागि चासो भने दिएको छैन । यसअघि विजय लघुवित्त विकास बैंकको सेयर निष्काशनको बेला पनि यस्तै बढी खर्च भएको सम्बन्धी विवाद आएको थियो । त्यसबेला आधार रकम छुट दिएपछी विजय लघुवित्तले रकम तिरेर कुरा मिलेको थियो । तर, जनउत्थानको विवादमा भने लामो समयदेखि कुरा मिल्न सकेको छैन ।

प्रक्रियागत कामहरु धेरै भएको र कागजी काम धेरै गर्नुपर्ने हुनाले सेयरको प्राथमिक निष्काशनमा धेरै खर्च हुने गरेको छ । आवेदन संकलन केन्द्रहरुलाई रकम संकलन गरेको आधारमा कमिशन दिनुपर्ने भएकाले धेरै आवेदन र रकम संकलन भएमा कमिशनवापत नै धेरै रकम जान्छ । यसर्थ पनि खर्च बढ्न जान्छ । पछिल्लो समय लघुवित्त कम्पनीहरुको सेयरमा झण्डै १०० गुणा बढी आवेदन पर्न थालेको छ । यसले गर्दा खर्च बढी हुने र साना कम्पनीहरु मर्कामा पर्ने गरेका छन् । यसबारे धितोपत्र बोर्डले सानो कम्पनीहरुको सेयर निष्काशनमा बिशेष सहुलियत दिने या खर्च घटाउने बिषयमा नीति ल्याउनुपर्ने आवश्यकता छ ।

– सेयरबजार साप्ताहिकबाट

प्रकाशित : १७ चैत्र २०७२, बुधबार १२:३४