आयात/निर्यातमा देखिएको गैर भन्सार अवरोध हटाउन सरकारले विशेष पहल गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आयात/निर्यातमा देखिएको गैर भन्सार अवरोध हटाउन सरकारले विशेष पहल गर्ने



nnकाठमाडौं । वाणिज्य मन्त्री दीपक बोहोराले आयात/निर्यातमा देखिएको गैर भन्सार अवरोध हटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बुधबार राजधानीमा आयोजना गरेको ‘गैर भन्सार अवरोध’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बोहोराले यस्तो बताएका हुन् ।

“नेपालबाट सानो परिमाणमा वस्तु निर्यात हुन्छ,” अन्तरक्रियामा मन्त्री बोहोराले भने, “त्यसैमा पनि गैर भन्सार अवरोधले व्यापारी हैरान हुँदा राज्यलाई समेत नोक्सान भएको छ ।”

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), सीएनआई र नेपाल चेम्बर अफ कमर्स मिलेर के/कसरी गैर भन्सार अवरोध हटाउन सकिन्छ त्यसको बारेमा अध्ययन गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउन मन्त्री बोहोराले आग्रह गरे ।

स्थायी सरकार नहुनु, विभागीय मन्त्रीले प्राविधिक कुरा नबुझ्ने हुँदा निजी क्षेत्रको समस्या समाधान गर्न नसकिएको मन्त्री बोहोराले बताए ।

कार्यक्रममा सीएनआईका अध्यक्ष हरिभक्त शर्माले गैर भन्सार अवरोधका कारण व्यापारी हैरान भएको बताए । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा), बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक), विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को सदस्य हुँदा समेत नेपालले गैर भन्सार अवरोध व्यहोर्नु परेको शर्माले बताए ।

वाणिज्य मन्त्रालयका पूर्व सचिव पुरुषोत्तम ओझाले भन्सार अवरोध भन्दा गैर भन्सार अवरोध अपारदर्शी हुने बताए । “भन्सार अवरोध देखिन्छ,” उनले भने, “गैर भन्सार अवरोध देखिदैन, ।” चिया, कफी, अदुवा, अलैचीलगायतका वस्तु निर्यात गर्दा गैर भन्सार अवरोध हुने उनको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले गैर भन्सार अवरोधका कारण नेपाली वस्तु निर्यातमा समस्या भएपछि विभाग आफैले परीक्षण प्रयोगशाला बनाउन लागेको बताए । “धेरैजसो कृषिजन्य वस्तुका त्यस्तो समस्या आएको छ,” उनले भने, “त्यसलाई हटाउन हामीले विभिन्न उपाय अपनाइरहेका छौं ।”

प्रकाशित : १७ चैत्र २०७२, बुधबार १४:५१