नोवेल कोरोना भाइरसबाट जोगिन नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाएको स्वास्थ्य मन्त्रीको दाबी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नोवेल कोरोना भाइरसबाट जोगिन नेपालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अपनाएको स्वास्थ्य मन्त्रीको दाबी



काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नोवेल कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपालमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको काम सरकारले गरिरहेको दाबी गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्री ढकालले विश्व नेपालले अपनाएको साबधानीमा विश्व स्वास्थ्य संगठनले पनि सन्तोष व्यक्त गरेको दाबी गरेका छन ।

नेपालमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिले निको भइसकेको उनले बताएका छन । कोरोना भाइरसको संक्रमणको आशंकामा १३ जनामा परीक्षण भएको तर कसैमा पनि संक्रमण नभेटिएको उनले प्रष्ट पारेका छन ।

‘रोगबाट बच्न आन्तरिक रुपमा धेरै तयारी गरेका छौं। सावधानी अपनाउनु पर्ने देखिन्छ। अस्पताल नै जानुपर्ने अवस्था नरहन सक्छ। संक्रमण भएको दुईदेखि १४ दिनसम्म अर्कोमा सर्न सक्छ। । प्रधानमन्त्रीसँग दुईवटा छलफल गरेका छौं। सरकारका तर्फबाट पूर्ण रुपमा योजना बनाएका छौं’, मन्त्री ढकालले भने ।

उनले चीनमा रहेका नेपालीलाई ल्याउने कि नल्याउने भन्ने विषय गम्भीर रहेको बताएका छन । ‘चीनमा रहेका विद्यार्थीलाई ल्याउने कि नल्याउने भन्ने गम्भीर प्रश्न छ। ल्याउँदा अरुमा नसर्ने अवस्था सिर्जना गर्नुपर्ने हुन्छ, बस्तीभन्दा टाढा राख्नुपर्ने अवस्था छ। त्यसको पहिचना भइरहेको छ। नेपाल आउन १८० जना विद्यार्थीले आवेदन दिएका छन्। त्यहाँबाट आउँदा परीक्षण गरेर संक्रमण देखियो भने चीनले पठाउँदैन। चीनमा यातायात चलेको छैन। प्लेनमा लिन जाँदा सामान्य अवस्थामा आए भने १४ दिन निगरानीमा राख्नुपर्छ’ मन्त्री ढकालले भने ।

उनले चीनबाट उद्दार गरेर ल्याइने नेपालीलाई राख्ने ठाउँको प्रबन्ध गरेको बताएका छन । ‘संक्रमण देखिएको अवस्थामा उपचार गरिन्छ। तीनवटा अस्पतालमा ४३ वटा बेड तयारी अवस्थामा राखेका छौं। अरु अस्पतालमा पनि तयारी भएको छ। पोखरा चितवन र हेटौडामा परीक्षण हुने अवस्थामा राखेका छौं। रसुवा र तातोपानी नाकालाई संभावित जोखिमका रुपमा राखेका छौं। संक्रमणकालीन रोगको उपचार गर्न तीन सय क्षमताको बेड भएको अस्पताल बनाउने सरकारको तयारी छ’, उनले भने ।

प्रकाशित : २१ माघ २०७६, मंगलवार १४:५८