गरिब किसानको अर्बपति छोरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गरिब किसानको अर्बपति छोरा



सुरुवात सधैं राम्रो हुन्छ भन्ने छैन । तर, आफूसँग कर्म गर्ने जाँगर र परिश्रमी स्वभाव भए मानिसलाई सफल हुन बेर लाग्दैन । हो, त्यस्तै कर्मवीर मध्येका एक थिए, अमेरिकी नागरिक हेनरी फोर्ड ।

आज सडकमा गुड्ने ‘फोर्ड’ गाडीहरू उनकै ट्रेडमार्क हो । फोर्ड मोटर कम्पनीका संस्थापक हेनरीको जन्म ३० जुलाई १८६३ मा अमेरिकी राज्य मिसिगनमा भएको थियो । एक गरिब किसान परिवारमा जन्मेका थिए ।

Henery22_1457791104

जब उनी आठ वर्षका भए, बल्ल बुबा विलियम फोर्डले मिसिगन राज्यस्थित डियरबोर्न नजिकै एक विद्यालयमा उनको भर्ना गरिदिए । बुवाचाहिँ खेती किसानीमै व्यस्त रहे । चाहन्थे, छोरो हेनरीले काम चलाउ शिक्षा लिएर खेतीकिसानी नै गरोस् । तर, हेनरी फोर्ड अत्यन्तै जिज्ञासु थिए, यन्त्र त उनले हेर्नै हुँदैनथ्यो, भेट्यो कि चलाइहाल्ने स्वभाव । बुवाले एकपटक जन्मदिनमा उनलाई घडी उपहार दिएका थिए ।

घडी के पाएका थिए, उनले त्यसलाई खोलेर सेट गर्ने सुरसार कसिहाले । त्यसका लागि उनले एउटा सानो किला, चिम्टा र सुई खोजे, जसलाई उनले औचार बनाए । यी साधारण ज्यावलहरूको सहयोगबाट उनले घडी खोले अनि फेरि पहिलेकै जस्तै बनाइदिए । यसले उनलाई यन्त्र बनाउनमा कति रुचि थियो भन्ने कुरा पुष्टि हुन्छ ।

प्राइमरी शिक्षा पूरा गरेपछि बुवाले उनलाई खेतीकै काममा लगाए । तर, समय निकालेर उनी आफ्ना मित्रहरूको नयाँ–नयाँ घडीका पार्टपुर्जा खोल्दै जोड्ने गर्थे । यो देखेर उनका बुवा दिक्क हुन्थे, कहिलेकाहीँ कुटपिट पनि गर्थे ।

१६ वर्षको उमेरमा उनी घरबाट भागेर डेंट्राइट पुगे र त्यहाँ वाफ इन्जिन बनाउने वर्कसपमा काम गर्न थाले । त्यहाँ उनी धेरै मेहनत गर्थे । त्यसैको परिणाम थियो, वर्षभित्रै उनी वर्कसपको प्रमुख इन्जिनियर बने ।

त्यसताका उनको तलब १२५ अमेरिकी डलर थियो, जसबाट उनी सय डलर बचाउँचे थे । जब उनीसँग हजार डलर भयो, त्यसपछि उनले एउटा यस्तो कार बनाउने योजना बनाए, जुन सस्तो होस् र सबैले खरिद गर्न सक्ने मूल्यमा पाइयोस् । एक वर्षभित्रै उनले ‘मोडेल टी’ कार तयार पारे । सडकमा आएलगत्तै त्यो कारले तहल्का मच्चाइदियो । यो यति सस्तो थियो कि जोकोहीले पनि खरिद गर्न सक्थ्यो ।

कालो रङको यो कार ग्राहकले खुबै मन पराए । बिक्रीको रेकर्ड नै तोड्न सफल भयो, त्यो कार । जति कार बनाइन्थ्यो त्योभन्दा बढी माग हुन थाल्यो । हेनरीलाई भ्याई न भ्याई भयो । उनी भन्थे, ‘परिश्रम कहिले पनि खेर जाँदैन, कुनै न कुनै दिन त्यसले सफलताको शिखरमा पुर्‍याउँछ तर यसका लागि दृढ विश्वासचाहिँ हुनैपर्छ कि म जुनसुकै काम पनि गर्न सक्छु । त्यसैले त्यो रहस्य थाहा पाउन पनि प्रयास गर्नुपर्छ, त्यसबाट सफलताको मार्ग देखिँदै जाने छ ।’

हेनरीले आफ्नो अथक परिश्रमबाटै आफूले खडा गरेको फोर्ड कार उत्पादन कम्पनीलाई सफलताको शिखरमा पुर्‍याए । हाल उनको नातिनातिनाहरूले त्यो कम्पनी चलाइरहेका छन् । हेनरी फोर्डका बारेमा धेरै कथनहरू चर्चित छन् । ती मध्येको एउटा हो, उनको लन्डन यात्राको कथा । त्यहाँ उनले सोधपुछ अफिसमा गएर सस्तो होटलबारे जानकारी लिएका थिए ।

एकजना अर्बपति जसले सस्तो बासस्थानको खोजी गर्छन्, त्यो पनि लन्डनमा । यो देखेर उनका निजी सचिवले हेनरीसँग जिज्ञासा राखेका थिए, ‘तपाईका आफन्तहरू जब यहाँ आउँछन्, आलिसान होटलमा बस्छन्, तपाईचाहिँ सस्तो होटलबारे जानकारी माग्दै हिँड्नुहुन्छ ।’ हेनरीले जबाफ फर्काएका थिए, ‘म एउटा गरिब किसानको छोरा हुँ र मेरा छोराहरू धनी बुबाका सन्तान ।’

यो जवाफ सुनेर ती निजी सचिव अक्क न बक्क बनेका थिए । हेनरीले अगाडि भनेका थिए, ‘जब तपाई अरूको जस्तो बन्ने प्रयास गर्नुहुन्छ, तब तपाई सधैं दोस्रो स्थानमा रहनुहुन्छ । त्यसैले भिडको अंश नबन्नुस्, रेलको इन्जिन बन्नुस् । किनभने इन्जिनलाई कसैले तान्दैन, त्यो आफ्नै ऊर्जाबाट चल्छ । तर, डिब्बालाई चलाउन इन्जिनको आवश्यकता पर्छ ।’

यो महान उद्गारबाट हेनरीप्रति नतमस्तक नहुने पक्कै कोही भेटिँदैन होला । त्यस्तै अर्बपति हेनरी फोर्डबारे एउटा अर्को कथन पनि लोकप्रिय छ । उनी आफ्नो सन्तानलाई जुत्तामा पलिस गर्न सडकमा पठाउँथे रे ।

भन्थे, ‘आफ्नो पकेट खर्च आफैं निकाल ।’ एक दिन छिमेकीले हेनरीलाई मख्खिचुस मात्रै भनेनन्, यो कार्यलाई आफ्नै सन्तानप्रतिको अत्याचारको संज्ञा दिन भ्याएका थिए । यो सुनेर हेनरी केही बेर मौन बसे ।

अनि जवाफ फर्काए, ‘मैले सुरुमा जुत्ता पलिस गरेर रुपैयाँ कमाएको थिए । अहिले अर्बपति छु । मेरो समयमा जो अर्बपति थिए, ती सबैको अवस्था भिख माग्ने भइसकेको छ, अर्थात उनीहरूको अवस्था ठिक छैन । म आफ्नो सन्तानलाई भिख माग्ने बनाउन चाहन्नँ, त्यसैले उनीहरूलाई जुत्ता पलिस गर्न पठाउँछु ।’ जुत्तामा पलिस गर्ने खुलासा भने उनले पहिलोचोटि गरेका थिए । हेनरीसँग जोडिएको अर्को चर्चित प्रसंग उनले लगाउने लत्ताकपडासँग जोडिएको छ । उनी कारखानामा कहिले पनि तडकभडक कपडा लगाएर गएनन् । उनी भन्थे, ‘महँगो पोसाकमा केही छैन, हुँदैन ।’

अत्यन्तै सादा र साधारण पोसाकमा उनलाई देखेर कर्मचारीहरूले भन्ने गर्थे, ‘हाम्रा मालिक अर्बपति भएर पनि साधारण लुगा मात्र लगाउँछन् । यसबारे जिज्ञासा राख्ने साहस भने कसैको हुँदैनथ्यो । एक दिन उनका निजी सचिवले सोधी त हाले, ‘श्रीमान् तपाई अर्बपति हुनुहुन्छ तर कम मूल्यको कपडा मात्रै प्रयोग गर्नुहुन्छ रु’ हेनरी मुस्कुराउँदै भने, ‘यहाँ सबैले मलाई चिनेकै छन् कि म हेनरी फोर्ड हुँ ।

म महँगो कपडा लगाएर, सबैलाई देखाउने चिन्ता किन गरूँ, म हेनरी फोर्ड हुँ ।’ एक पटक हेनरी विश्व भ्रमणमा गए, त्यहाँ पनि उनी साधारण कपडा लगाएरै गए । निजी सचिवले फेरि प्रश्न तेस्र्याइहाले, ‘श्रीमान् विदेशमा त हजुरलाई कसैले चिन्दैन ।

त्यसैले महँगो र राम्रा लुगा लगाउनु राम्रो होला कि रु हेनरी मुस्कुराउँदै भने, ‘मैले आफ्नो शरीर ढाक्ने लुगाको चिन्ता किन गरूँ, त्यो पनि तिनीहरूका लागि जसले मलाई चिन्दै चिन्दैनन् कि म अमेरिकी अर्बपति हेनरी फोर्ड हुँ ।’

उनको यो भनाइ मानिसले कामका कारण सम्मान पाउँछन्, महँगो पोसाकले होइन भन्ने सन्देश दिन्छ । २० औं शताब्दीको सुरुमा उद्योगपतिहरूले श्रमिक वर्गलाई एउटा यन्त्रका रूपमा लिन्थे र न्यूनतम तलब दिन्थे । हेनरी फोर्डले भने ‘धेरै देऊ। धेरै फर्किन्छ’ भन्ने विचार अपनाए र अघि बढे ।

सबैभन्दा पहिले उनले त्यस्ताका ‘मोडेल टी’ को मूल्य घटाएर ३४० अमेरिकी डलर बनाए । कारखानामा काम गर्ने समय ९ घण्टाबाट घटाएर आठ घण्टा पुर्‍याए । मजदुरहरूको तलब दुई गुणाले वृद्धि गरिदिए ।

फोर्ड मोटर कम्पनीमा काम गर्ने अवधि घटेपछि तीन सिफ्टमा उत्पादन हुन थाल्यो, त्यही मेसिनबाटै तीन गुणा उत्पादन हुन थाल्यो । कम्पनीलाई फाइदै फाइदा हुन थाल्यो । सन् १८८२ मा हेनरीले आफ्नै गाउँमा कृषि उपकरण सुधारर्ने वर्कसप खोले । तर, दुई वर्षमै उनलाई दिक्क लाग्यो । त्यसपछि एडिसन एल्युमिनेटिङ कम्पनीमा रात्रिकालीन अपरेटरका रूपमा ४० डलर पाउने गरी काम थाले ।

त्यो कम्पनी महान् वैज्ञानिक थोमस ए एडिसनको थियो । एडिसनलाई आफ्नो कामबाट प्रभावित पार्दै हेनरी स्टिम इन्जिन मेन्टेनेस विभागका प्रमुख बनाइए । हेनरीले बिजुली चिमका जनक एडिसनको कम्पनीमा ज्वाइन गर्नुको एउटा मात्रै कारण थियो, इलेक्ट्रिकल इन्जिनियरिङ सिक्नु । त्यसताका आफ्नो नोकरीबाट फर्केर आएपछि हेनरी फोर्ड घरमा अबेर रातिसम्म वाष्प इन्जिन बनाउने प्रयास गर्थे ।

सन् १८९६ जुन ४ मा उनले बाफबाट चल्ने वाहन बनाए । भर्खर ३३ वर्ष टेकेका उनले बाफ इन्जिन बनाउनु चानचुन कुरा थिएन । त्यो सफलता उनले हात पारिसकेका थिए । हेनरीले आफ्नो मृत्युभन्दा दुई वर्षअघि कम्पनीको अध्यक्ष आफ्नो नाति हेनरी फोर्ड द्वितीयलाई बनाएका थिए । आज पनि उनले स्थापना गरेको कम्पनी विश्वविख्यात छ ।

बिभिन्न अन्तराष्टिय अनलाइनकाे सहयाेगमा

प्रकाशित : १९ चैत्र २०७२, शुक्रबार ०६:४४