त्रिपाल घोटालामा सरकारको मिलोमतो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

त्रिपाल घोटालामा सरकारको मिलोमतो



काठमाडौं । विपत्‌का बेला छोटो प्रक्रियाबाट आपूर्ति गर्ने अधिकार पाएको सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक घोटाला भएको पाइएको छ। मन्त्रालयले नियुक्त गरेको आपूर्तिकर्ताले मन्त्रालयका उच्च कर्मचारीको मिलोमतोमा कम परिमाणमा सरकारलाई त्रिपाल आपूर्ति गरेको पत्ता लागेको छ।

अन्नपूर्ण पोष्टमा राजेश बर्मा लेख्छन् –आइतबारअघि काठमाडौं आएका ट्रकको कुनै जाँच नगरी सीधै आपूर्ति गर्ने व्यवस्था सहरी विकास मन्त्रालयले मिलाएपछि उसको पनि मिलोमतो पुष्टि भएको हो।

मन्त्रालयसँग सम्झौता गरेका मध्ये वीरगन्जको ‘भी मल्टी कन्सर्न प्राइभेट लिमिटेड’ले भारतबाट भित्र्याएको ट्रकमा एक हजार एक सय ५४ वटा त्रिपाल कम भेटिएको हो।
मन्त्रालयले सार्वजनिक खरिद ऐन २०६३ अनुसार ‘छोटो बाटो’ को टेन्डरमार्फत त्रिपाल खरिद र आपूर्ति गर्न विभिन्न व्यापारीसँग सम्झौता गरेको थियो।

भारतको ‘भी के पावर त्रिपाल’ कम्पनीद्वारा उत्पादित कालो, पहेंलो र रातो रङको पालमा अनियमितता भेटिएको हो। भी मल्टी कन्सर्न प्राइभेट लिमिटेडले एक बन्डलमा १२ बाई १५ को १२ थान त्रिपाल भएको भनी मन्त्रालयलाई जानकारी गराएर १० थान मात्रै पोकामा हालेर आइतबार रामशाहपथस्थित नेसनल ट्रेडिङ लिमिटेडको केन्द्रीय राहत वितरण केन्द्रमा भित्र्याएको थियो।

कुनै जाँच नगरी सीधै आपूर्ति गर्ने व्यवस्था सहरी विकास मन्त्रालयले मिलाएपछि उसको मिलोमतो पुष्टि भएको हो।

भैरहवा नाकाबाट मल्ली कन्सर्न प्राइभेट लिमिटेडको सहयोगमा भी मल्टी कन्सर्नले लु १ ख ७५६६ नम्बरको ट्रकमार्फत राजधानी भित्र्याएको पाँच सय ७७ बन्डलमा एक हजार एक सय ५४ वटा त्रिपाल कम फेलापरेको थियो।
सोही आपूर्तिकर्ताले आइतबार तीन ट्रक त्रिपाल भित्र्याएकोमध्ये एउटा ट्रक जाँचका क्रममा हरेक बन्डलमा कम संख्यामा त्रिपाल भेटिएको थियो।
भी मल्टी कन्सर्नले एउटा ट्रकमा आठ सय ३०, अर्कोमा पाँच सय ७७ र तेस्रो ट्रकमा आठ सय ५३ वटा त्रिपालको बन्डल राहत वितरण केन्द्रमा झारेको थियो। सोही आपूर्तिकर्ताले शनिबार आठ सय ५०, पाँच सय ९६ र तीन सय ९५ बन्डल त्रिपाल झारेको जानकारी नेसनल ट्रेडिङ लिमिटेडका सुपरभाइजर गोपाल न्यौपानेले दिए।

न्यौपानेले भने, ‘लु १ ख ७५६६ नम्बरको ट्रकमा आएको सबै बन्डलको स्टिकर च्यातिएको अवस्थामा भेटियो। स्टिकर च्यातिएको अवस्थामा भेटिएपछि शंका लागेको आधारमा सुरक्षाकर्मीको रोहबरमा बन्डल खोलेर हेर्दा एक बन्डलमा १२ थान हुनुपर्नेमा १० थान मात्रै भेटियो।
पाँच सय ७७ बन्डलमा यस्तो कमी रहेछ। तत्कालै उक्त कम संख्याबारे मन्त्रालयमा जानकारी गराएँ।’

नेसनल ट्रेडिङ लिमिटेड परिसरमा आपूर्तिकर्तामध्ये एक आफू रहेको बताउने राम न्यौपानेले भने यस्तो त्रुटि आफूहरूको त्रिपालमा मात्रै नभेटिएको दाबी गरे। ‘त्रिपाल सप्लाई गर्ने १० वटै आपूर्तिकर्ताले घोटाला गरेका छन्’, उनले भने, ‘छानबिन सबैको हुनुपर्छ। हाम्रो मात्रै गरेर हुँदैन।’

त्रिपाल ल्याउने क्रममा तीन दिनअघि त्रिशूलीमा ट्रक पल्टेर सबै बन्डलको स्टिकर च्यातिएको र बन्डलमा भएको त्रिपालको संख्या तलमाथि भएको दाबी उनले गरे।

सहरी विकास मन्त्रालयका प्रवक्ता पदम मैनालीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।मन्त्रालयका उपसचिव दीपकराज पाण्डेका अनुसार शनिबारसम्म केन्द्रीय राहत वितरण केन्द्रमा चार लाख ३१ हजार पाँच सय ६८ वटा त्रिपाल प्राप्त भएको थियो।
यसमा भारतलगायत अन्य मुलुकले उपलब्ध गराएको त्रिपाल र सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालसमेत जोडिएको जानकारी उनले दिए।

प्राप्त त्रिपालमध्ये शनिबारसम्म तीन लाख १६ हजार आठ सय १४ थान विभिन्न जिल्लामा भूकम्पपीडितलाई वितरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिलाई पठाइसकिएको छ। अहिले केन्द्रमा एक लाख १४ हजार सात सय ५४ वटा त्रिपाल मौज्दात छन्।

प्रकाशित : १८ जेष्ठ २०७२, सोमबार ०२:३८