‘समाजिक–आर्थिक विकासमा सहकारीको प्रभाव’ विषयमा ओझाको विद्यावारिधी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

‘समाजिक–आर्थिक विकासमा सहकारीको प्रभाव’ विषयमा ओझाको विद्यावारिधी



दमौली  । दमौली निवासी अविन ओझाले भारतको लखनऊ स्थित बाबासाहेव भीमराव अम्वेडकर केन्द्रीय विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावरिधी गरेका छन् । विश्वविद्यालयका कुलपति पद्मश्री प्रो.डा. आर. सी. सोवतीको अध्यक्षतामा जेठ १४ गते बसेको ‘रिसर्च डिग्री कमेटी अफ युनिर्भसिटी’ को बैठकले ओझालाई समाजशास्त्र अन्र्तगत विकास अध्ययनमा विद्यावारिधीको उपाधि प्रदान गरेको हो ।

ओझाले ‘इम्प्याक्ट्स अफ कोओपेरेटिभ्स् अन सोसियो–इकोनोमिक डेभलपमेन्ट ः ए स्टडी अफ तनहूँ डिस्ट्रीक अफ नेपाल’ (समाजिक–आर्थिक विकासमा सहकारीको प्रभावः नेपालको तनहुँ जिल्लाको अध्ययन) विषयमा पिएच.डी. शोधकार्य सम्पन्न गरेका थिए । करिब चार सय पृष्ठ लामो शोधमा ओझाले नेपालको सामाजिक–आर्थिक विकासमा सहकारीले पारेको प्रभावको अध्ययन गरेका छन् ।

ओझाको शोधले नेपालको सन्र्दभमा सहकारी अभियान आर्थिक सशक्तिकरण, प्रजातान्त्रिक प्रणालीको अभ्यास, क्षमता अभिवृद्धि, सामाजिक समावेशिता तथा सम्बद्धतता आदिमा महत्वपूर्ण रहेको देखाउँछ । नेपाली अर्थ व्यवस्थामा सहकारी आर्थिक विकासको साधन तथा सामाजिक रुपान्तरणको माध्यमको रुपमा अगाडी बढेको तथ्य उजागर गरेको छ ।

ओझाको शोधमा सहकारी अभियानलाई अझ समावेशी बनाई समाजको पिछडा वर्गको समुन्नतिको लागि मूलत महिला, दलित तथा पिछडा वर्गको सहभागिता सहकारीमा बढाई उनीहरुको प्रतिनिधित्व अधिक गर्नुपर्नेमा जोड दिइएको छ ।

शोध निर्देशक प्रो.डा. बी. बी. मलिकले ओझाको शोध नेपालको समाजिक–आर्थिक विकासमा सहकारी अभियानको अध्ययनको निम्ति कोशेढुङ्गा हुने बताएका छन् । यसले सहकारी अभियान मर्फत देशको सामाजिक–आर्थिक विकासलाई थप मजबुत पार्न सहयोग हुने उनले बताए ।

यसै गरी शोधका बाह्य परिक्षक जहावरलाल नेहरु विश्वविद्यालय दिल्लीका प्रोफेसर दोय प्रो डा. एसान ऊल हक र प्रो. डा. विवेक कुमारले ओझाको शोध सैद्धान्तिक, धारणात्मक एवं प्रणालीगत रुपमा निकै उच्च रहेको प्रतिक्रिया दिएका थिए ।
यसअघि पिएच. डी. अध्ययनको आधार पिएच. डी. कोर्ष वर्कको सैद्धान्तिक परीक्षामा ओझाले विश्वविद्यालयमा प्रथम स्थान हासिल गरेका थिए । ओझाले नेपालको सामाजिक, आर्थिक विकास तथा सहकारीका सन्र्दभमा छ दर्जन भन्दा बढी अनुसन्धानमूलक लेख तथा रचनाहरु प्रकाशित गरिसकेका छन् । karobardaily

प्रकाशित : १८ जेष्ठ २०७२, सोमबार ०२:४३