चीनले दिएन पर्यटकलाई भ्रमण अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनले दिएन पर्यटकलाई भ्रमण अनुमति



काठमाडौं । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि नेपाल भ्रमणका लागि चीनले यात्रा अनुमति नदिँदा हजारौं चिनियाँ पर्यटकलाई असर परेको छ।  भूकम्पपछि चीनले नेपाल भ्रमणको यात्रा अनुमति बन्द गरेक कारण थुप्रै पर्यटक प्रभावित भएको एसोसिएसन अफ कैशाल टुर्स अपरेर्सका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए।

अन्नपूर्ण पोष्ट लेख्छ ,अनुमति नदिएकै कारण नेपाल आउने पर्यटकले लिइसकेको प्याकेज पनि रद्द गर्न थालेका छन्। श्रेष्ठका अनुसार आगामी पर्यटकीय सिजनका लागि बुकिङ गरिसकेका कैलाश मानसारोवर क्षेत्र घुम्न चाहने पाँच प्रतिशतले बुकिङ रद्द गरेका हुन्।

नेपालमा विस्तारै पर्यटकको अवस्था सहज हुँदै गरेको र सीमित पर्यटकीय क्षेत्रबाहेक धेरै क्षेत्र सुरक्षित रहेकोले पनि सरकारले चिनियाँ राजदूतावासमार्फत पहल गर्नुपर्ने एसोसिएसनले आग्रह गरेको छ।

राजधानीमा आइतबार आयोजित कार्यक्रममा पर्यटन व्यवसायीले चिनियाँ पर्यटक नेपाल नआउँदा कैशाल टुरमा जाने मात्रै करिब २५ हजार पर्यटक प्रभावित भएको बताए।

उनका अनुसार मेदेखि सेम्टेम्बर महिना सम्म सञ्चालन हुने कैलाश मानसरोवर यात्रा यो वर्ष प्रभावित हुने भएको छ। भूकम्पपछि कोदारी राजमार्गमा गएको पहिरोका कारण पनि चीनले नेपालको यात्रा अनुमति अनिश्चितकालका लागि रद्द गरेको हो।

भूकम्पपछि नेपाल आउने भारतीय पर्यटकको भ्रमणसमेत रोकिएको छ। धार्मिक पर्यटकीय गन्तव्यमा कुनै क्षति नभएको र भूकम्पले क्षति पुर्‍याएका सडक यातायात सहज भैसक्दासमेत धार्मिक पर्यटक आउन सुरु नभएको व्यवसायीको भनाइ छ।

कैलाश मानसरोवर पुग्ने २५ हजार पर्यटकले पशुपति, लुम्बिनी, मुक्तिनाथ, पोखरा, मनकामनालगायतका धार्मिक स्थलमा समेत भ्रमण गर्ने गरेका छन्।

पर्यटकलाई ‘मल्टिपल’ भिसा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले नेपाल आउने विदेशी पर्यटकलाई तीन वर्षसम्मको मल्टिपल भिसा दिन सकिने बताएका छन्।

पर्यटन व्यवसायीले आइतबार गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री शेर्पाले प्याकेज बिक्री गर्ने र नेपाल प्रवेशका लागि केही वर्षसम्म मल्टिपल भिसा दिन सकिने बताएका हुन्।

व्यवासायीले पर्यटकलाई भिसा नि:शुल्क माग गरेकोले मन्त्री शेर्पाले यस्तो तर्क दिएका हुन्। उनका अनुसार नेपाल घुम्न आउने विदेशीलाई नि:शुल्क भिसा दिँदा त्यसको दुरूपयोग हुनसक्ने भन्दै व्यवस्थित र सहजीकरण गर्न सकिने जानकारी दिए।

पर्यटन सचिव सुरेशमान श्रेष्ठले पनि पर्यटकलाई मल्टिपल भिसा दिन अध्यागमन विभागसँग आवश्यक छलफल गर्न सकिने बताए। उनले पर्यटकलाई भिसा नि:शुल्क गर्नुभन्दा मल्टिपल दिने तर्क उपयुक्त भएको बताए।

पर्यटन विभागका महानिर्देशक तुल्सी गौतमले नेपाल भित्रने पर्यटकलाई भूकम्पपछि बिमा रकम महँगो परेको गुनासो बढ्न थालेको बताए।  सम्बन्धित पर्यटकीय संस्थाको पहलमा बिमा रकम तथा नेपालमा पर्यटकीय जोखिमको बारेमा स्पष्ट जानकारी दिनुपर्ने गौतमको भनाइ छ।

कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धन गर्न र आगामी सिजन सुरु भएको जानकारी दिन अक्टोवर ५ (असोज १८) गते एभरेष्ट म्म्याराथन आयोजना गर्न लागिएको पर्यटन व्यवसायी बिक्रम पाण्डेले बताए।

हरेक वर्ष मे २९ मा हुने यो म्याराथन यो वर्ष भूकम्पको कारण अक्टोवरका लागि सारिएको हो। प्यासिफिक एसिया ट्राभल एसोसिएसका अध्यक्ष सुमन पाण्डेले सरकारले पर्यटकीय संरचनाको पुर्ननिर्माणको संयोजनकारी भूमिका पर्यटन व्यवसायीलाई दिनुपर्ने माग गरे।

प्रकाशित : १८ जेष्ठ २०७२, सोमबार ०२:४८