खाता अध्ययन गर्न राष्ट्र बैंकको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खाता अध्ययन गर्न राष्ट्र बैंकको निर्देशन



Nepal-Rastra-Bank_Panorama1_20111122085657काठमाडौ । नेपाल राष्ट्र बैंकले पनामाको ‘मोसाक फोन्सेका’ बाट सार्वजनिक नामहरूको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । सार्वजनिक भएका व्यक्तिहरूको नेपालमा पनि कुनै व्यवसाय हुनसक्ने भन्दै त्यस्ता खाताहरूका बारेमा अध्ययन गर्न मौखिक निर्देशन दिएको जानकारी राष्ट्र बैंकको उच्च स्रोतले दिएको छ ।

‘सार्वजनिक भएका नाममा नेपालसँग जोडिएर व्यवसाय भएको हाम्रो अनुमान छ । बैंकिङ कारोबारसँग जोडिने भएको हुँदा हामीले बैंक तथा वित्तीय संस्थालाई संवेदनशील भएर हेर्न भनेका छौं’, राष्ट्र बैंक स्रोतले भन्यो । सार्वजनिक भएका नामहरू तथा तिनको कम्पनीको कुनै कारोबार नेपालमा हुनसक्ने भएकाले कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

खोज पत्रकारहरूको अन्तर्रा्ष्ट्रिय संस्था (आईसीआईजे) ले पनामाको व्यवसायीलाई कानुनी परामर्श दिने ‘मोसाक फोन्सेका’ ले गोप्य दस्ताबेज सार्वजनिक गरेको थियो । त्यसमा विश्वका शक्तिशाली मानिएका देशका राष्ट्रपतिदेखि व्यवसायी, कलाकार तथा खेलाडीसम्मको नाम छ । उक्त सूचीमा सातजना नेपाली रहेको भनिए पनि नाम भने सार्वजनिक भएको छैन । एउटा नेपाली भेन्चर कम्पनीको नाम सार्वजनिक भए पनि त्यो नेपाली कम्पनी हो कि होइन, प्रस्ट छैन ।

सम्पत्ति शुद्धीकरण निवारणका विषयमा अध्ययन गरिरहेका राष्ट्र बैंकका एक अधिकारीको अनुभवमा सातवटा नेपाली फर्म व्यवसायीको भएको हुनसक्ने बताए ।
राजनीतिक व्यक्तिहरू नमुछिएको हुँदा सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्रा्ष्ट्रिय संस्थाहरूले प्रश्न उठाउने सम्भावना भने कम भएको उनले बताए ।

अफसोर देशहरूबाट पछिल्लो समय नेपालमा आउने विदेशी लगानी बढेको छ । ‘खासगरी करछली गरेर विदेश पैसा पु¥याउने र त्यहाँबाट विदेशी लगानीको रूपमा नेपाल भित्र्याउने क्रम बढेको देखिन्छ’, ती अधिकारीले भने ।

सार्वजनिक भएका नाम तथा तिनको कम्पनीको कारोबार नेपालमा हुनसक्ने भएकाले कारोबार गर्दा सजगता अपनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

विश्वको अर्थ राजनीतिमा ठूलो प्रभाव पारेको पनामा पेपर्स लिकपछि आइसल्यान्डमा प्रधानमन्त्री सिग्मुन्दुर डेभिड गुन्नलाउन्सनको राजीनामा माग गर्दै ठूलो प्रदर्शन भएको छ । आइसल्यान्ड प्रधानमन्त्री सिग्मुन्दुरका पत्नी र छोराका नाममा अफसोर देशमा कम्पनी थियो । प्रदर्शनपछि प्रधानमन्त्री सिग्मुन्दुरले राजीनामा दिएका छन् ।

विश्वको राजनीतिलाई हल्लाइदिएको पनामा लिकले नेपालमा पनि प्रभाव पारेको छ ।

सम्पत्ति शुद्धीकरण निवारणको विषय हेरिरहेका राष्ट्र बैंकका एक अधिकारी पनामा लिकले सम्पत्ति जहाँ गएर लुकाए पनि तथ्य बाहिर आएरै छाड्ने प्रमाणित भएको बताउँछन् । ‘यस्ता खालका दस्ताबेज सार्वजनिक हुँदा केही राजनीतिक कारण पनि हुनसक्छ तर सम्पत्ति लुकाउनेका लागि भने यो ठूलो झड्का हो’, उनले भने ।

उनले करछलीका लागि विश्वभर नै गेट किपरका रूपमा वकिल तथा लेखापालले काम गर्ने भनाइ प्रचलन रहेकोमा पनामा पेपर्स लिकले यो तथ्यलाई पुष्टि गरेको बताए ।

पूर्वमुख्यसचिव विमल कोइरालाले कर छल्ने नियतले अफसोर देशमा कम्पनी खडा गर्ने र विदेशी लगानी नेपालमा भित्र्याउने क्रम बढेको भन्दै पनामा लिकले यसमा नयाँ तथ्य सार्वजनिक गरेको बताए ।

‘आर्थिक विषयमा यसले ठूलो प्रभाव पारेको छ । यसले अहिले एनसेल खरिदबिक्रीमा देखिएको कर नलगाउन गरिएको चलखेललाई पनि सँगै जोडेर हेर्न मिल्ने बनाएको छ’, उनले भने ।

एनसेल ८० प्रतिशत स्वामित्व रहेको रेनोल्ड होल्डिङ सेन्ट किट्समा दर्ता भएको कम्पनी हो जुन अफसोर देशकै सूचीमा पर्छ । यस्ता देशहरूमा कम्पनी दर्ता गर्न कुनै कठिनाइ पर्दैन भने नाफामा पनि आयकर लाग्दैन । यस्ता देशबाट आउने लगानी कानुनी रूपमा वैधानिक भए पनि सम्पत्तिको स्रोत नखोजिने भएकाले ती देशबाट आउने विदेशी लगानीमा संवेदनशील हुनुपर्ने आवाज उठ्दै आएको छ ।

अर्थ्विद् डा. विश्वम्भर प्याकुरेलले पनामा लिकले नेपालजस्तै देशहरूबाट हुने पुँजी पलायनको विषयलाई सार्वजनिक गरेको बताए । ‘नेपालजस्ता देशहरूबाट पुँजी पलायन गरेर अफसोर देशमा कम्पनी खोल्ने र विदेशी लगानी भित्र्याउने प्रचलन बढिरहेको थियो । यसलाई रोक्न केही सहयोग भने हुने देखिन्छ’, उनले भने ।

अर्थ्विद् प्याकुरेलले विश्वको राजनीतिलाई पनामा लिकले प्रभाव पारे पनि नेपालमा भने सरकारी एजेन्सीले कुनै काम नगरेको बताएको अन्नपूर्ण पोष्टले खबर लेखेको छ । भारतका चर्चित व्यवसायी तथा कलाकार पनि मुछिएकाले यसबारे छानबिन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका छन् ।

प्रकाशित : २४ चैत्र २०७२, बुधबार ०४:३४