पोखराका ठूला होटलहरु असोज मसान्तसम्म बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

पोखराका ठूला होटलहरु असोज मसान्तसम्म बन्द



काठमाडौं । पोखराको ठूला होटलहरु असोज मसान्तसम्मका लागि बन्द भएका छन् ।

पोखराका ठूला होटल सञ्चालकहरुले दैनिक लाखौंं घाटा भएको भन्दै असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरेका हुन् । सरकारले कुनै राहत प्याकेज नल्याए अनिश्चितकालका लागि बन्द गर्नुपर्ने अवस्था आउने पनि उनीहरुले बताएका छन् ।

पोखराको पर्यटन क्षेत्रमा ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको छ भने अधिकांश लगानी होटल क्षेत्रमा छ । होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले होटल व्यवसाय पहिलेकै अवस्थामा फर्कन २ वर्ष लाग्नसक्ने बताए ।

यस्तै पर्यटन ब्यवसायी नरेश भट्टराई सरकारले बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर राहत प्याकेज ल्याउनुपर्ने बताए । अर्का पर्यटन व्यवसायी गणेशबाहादुर भट्टराई सरकारले राहत प्याकेज ल्याएर कर्मचारी होल्ड गर्नुपर्ने अवस्था आएको बताए ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल सरकारले महामारीकै कारण देखाएर पन्छिन नहुने र ब्यवसायीको भावना बुझेर राहत ल्याउनु पर्ने बताए । होटल संघले भाडामा संचालित होटलहरुलाई घरभाडा छुट गरिदिन, मजदुरलाई ६ महिना वा वर्ष धान्नेगरी प्याकेज दिनुपर्ने माग गरेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलवार २१:३४