उद्योगी र लगानीको सुरक्षा सरकारले गर्छ : प्रधानमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योगी र लगानीको सुरक्षा सरकारले गर्छ : प्रधानमन्त्री



kpकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हुने लगानी र लगानीकर्ताको सुरक्षा सरकारले गर्ने बताएका छन् ।

स्वदेशी लगानीको प्रबद्र्धनसहित विदेशी लगानी भित्र्याउन सरकार लागिपरेको भन्दै उनले लगानीको सुरक्षा सरकारले गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको आइबार काठमाडौंमा भएको ५०औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको जायज माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै औद्योगिकीरण र आधुनिकीकरणका लागि सरकार निजी क्षेत्रसँगै रहेको बताए ।

उनले चीन र भारतको आफ्नो भ्रमणबाट निजी क्षेत्रको समेत सहयोगमा आर्थिक विकासको आधार तयार पारेको जिकिर गरे ।

उनले निजी क्षेत्रको मागअनुसार आजको आवश्यकताअनुसार ऐन संशोधन हुँदै जाने पनि बताए ।

महासंघका अध्यक्ष पशुपति मुरारकाले उद्योगी–व्यवसायीमाथि सरकारले गरेको व्यवहारले सरकार नियन्त्रणमुखी अर्थव्यवस्थातर्फ उन्मुख छ की भन्ने शंका पैदा भएको बताए ।

सरकारी क्रियाकलाप लगानीमैत्री र निजी क्षेत्रमैत्री हुनुपर्नेमा उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारत कार्यान्वयन भएको निजी क्षेत्रले हेर्न चाहेको पनि बताए ।

नेपाल विद्युत् प्राधिकरण र नेपाल आयल निगम पूर्णतः विफल भएको महासंघको ठहर छ ।

न्यून आर्थिक बृद्धिदर र रोजगारीमा अवसरको कमी, बढ्दो व्यापार घाटा, चरम उर्जासंकट, विकासको असमान वितरण, कमजोर पूर्वाधार, कमजोर शासनप्रणाली आर्थिक विकासको मुख्य चुनौती भएको महासंघले जनाएको छ ।

प्रकाशित : २८ चैत्र २०७२, आईतवार १६:३२