सञ्चयकोषको ऋण अब एनसिएचएलमार्फत डिजिटल भुक्तानी गर्न मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

सञ्चयकोषको ऋण अब एनसिएचएलमार्फत डिजिटल भुक्तानी गर्न मिल्ने



काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने सरल चक्र कर्जा, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी तथा विशेष सापटी लगायतका कर्जाको भुक्तानी अनलाईन माध्यमबाट गर्न मिल्ने भएको छ।

नेपाल क्लियरिङ हाउस (एनसिएचएल)को कनेक्ट आइपिएस इ-पेमेन्टबाट हुने यस्तो भुक्तानीको संकलन हिमालयन बैंक, माछापुच्छ्रे बैंक तथा एनआइसी एसिया बैंकमा रहेको कोषको खातामा हुने एनसिएचएलले जारी प्रेस विज्ञप्तीमा छ।

एनसिएचएलको प्रणालीमा आबद्ध ५५ वटा बैंक तथा वित्तीय संस्थाको खाताबाट कनेक्ट आइपिएस हुँदै सञ्चय कोषमा भुक्तानी व्यवस्था मिलाइएको पनि कम्पनीले जानकारी दिएको छ। यसबाट अबदेखि ग्राहकले कर्जा भुक्तानीका लागि कोषको कार्यालय वा बैंक काउन्टरसम्म पुग्नुपर्ने बाध्यता हटेको एनसिएचएलले जानकारी दिएको छ।

यसका लागि ऋणीले कनेक्ट आइपिएस इ-पेमेन्ट प्रणालीमा आफूलाई आवद्ध गराएर सदस्य बैंकमा रहेको खातामा लिन्क तथा भेरिफाई गराएपछि कनेक्ट आइपिएसको वेवपेजबाट कर्मचारी सञ्चय कोष भुक्तानीलाई छनोट गरी आवश्यक विवरण भर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

यसरी भुक्तानी गरेपछि कोषको प्रणालीमा गएर भुक्तानी सफल भएको जानकारी प्राप्त गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।

सञ्चय कोष तथा एनसिएचएलवीच गत साउनमै नेशनल पेमेन्ट्स इन्टरफेस (एनपिआई)को प्रयोग गरी बैंक खातामा आधारित डिजिटल भुक्तानी कारोबार गर्ने सम्झौता भएको थियो। सम्झौताअनुरुप गत वर्षदेखी नै कोषले प्रदान गर्ने धितो कर्जा लगयातका भुक्तानी लाभग्राहीको बैंक खातामा जम्मा हुँदै आएको थियो। जसअनुसार यो प्रक्रियाबाट कोषले असार मसान्तसम्म ३२ हजार कारोवारमार्फत पाँच अर्व ३६ करोड रुपैयाँ बराबरको भुक्तानी दिएको थियो।

यसका साथै विभिन्न संस्थाले कोषमा गर्ने योगदानमा आधारित मासिक भुक्तानी लगायतका सुविधालाई पनि अनलाईन प्रणालीमा लैजान लागिएको एनसिएचएलले जारी प्रेस विज्ञप्तीमा छ।

सुरुमा विद्युतीय चेक क्लियरिङका लागि नेपाल राष्ट्र बैंकको समेत लगानीमा सुरु गरिएको एनसीएचएलले एनसिएचएल-इसिसि, एनसिएचएल-आइपिएस, कनेक्ट-आइपिएस, कनेक्टआइपिएस इ-पेमेन्ट, कनेक्ट आरटिजिएस/एनपिआई लगायतका भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ।

उता कर्मचारी सञ्चय कोषमा साढे पाँच लाख सञ्चयकर्ता र तीस हजार संस्था आबद्ध छन्।

प्रकाशित : २१ श्रावण २०७७, बुधबार ११:५३