साहसिक पर्यटनलाई सरकारले बेवास्ता गरेको आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साहसिक पर्यटनलाई सरकारले बेवास्ता गरेको आरोप



काठमाडौ । साहसिक पर्यटन पर्वतारोहण र पथप्रदर्शनलाई सुरक्षित पार्न सकेमात्र नेपालको पर्यटन क्षेत्रमा अझै विश्वास बढ्नेमा पर्यटनकर्मीहरुले जोड दिएका छन् ।

२०७१ बैशाख ५ गते सगरमाथा हिमपहिरोमा परी निधन भएका प्रख्यात १८ आरोहीहरुको सम्झनामा नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन(यूनिट्राभ)ले आयोजना गरेको स्मृतिसभामा जिफन्टका महासचिव विष्णु लम्सालले पर्वतारोहण र पथप्रदर्शनलाई अझै सुरक्षित पार्नुपर्ने खाँचो औंल्याए ।

हिमाल आरोहीहरुको सुरक्षाका लागि आवश्यक नीति बनाउन जिफन्टले सहयोग पुर्याउने भन्दै उनले मौसमबाट जोगिन पूर्वानुमानको व्यवस्था, आरोहणका उपयुक्त औजार, उपकरणको प्रबन्ध लगायत सामाजिक सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले साहसिक पर्यटनमा असामयिक निधनमा परेका आरोहीहरुको सम्मान गर्दै उनीहरुका परिवारका बालबच्चाहरुलाई नेपाल पर्वतारोहण संघले निशुल्क रुपमा लालनपालपोषण र शिक्षाको प्रबन्ध गरिरहेको बताए । त्यस्तै अंगभंगमा परेकाहरुलाई पनि मासिक ७ हजार रुपैंयाँ सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।

अहिलेसम्म पर्वतारोहणका क्रममा अभिभावक गुमाएका ५९ बालबच्चाको लालनपालनपोषण, शिक्षाको प्रबन्ध संघले गर्दै आएको र छुट हुन गएका आरोहीका परिवारहरुलाई पनि संघको यस अभियानमा सहभागी हुन आग्रह गरे ।

पर्यटन बोर्ड सदस्य कृष्ण अर्यालले पर्वतारोहीहरु नै पर्यटकलाई पर्वतारोहण गराउने मुख्य पात्र भएका भन्दै सगरमाथा हिमपहिरोमा दुःखद निधन हुन पुगेका दक्ष आरोहीको सम्झनामा आगामी वर्षदेखि बैशाख ५ लाई राष्ट्रियरुपमा आरोही स्मृति दिवसका रुपमा मनाउने घोषणा गरे । यसलाई मजदुर, व्यवसायी र सरकारको साझा दिवस बनाउन आफूले पहल गर्ने उनको प्रतिबद्धता थियो ।

यूनिट्राभका अध्यक्ष श्यामकुमार राई र महासचिव सुमन पराजुलीले हिमपहिरोमा परी ज्यान गुमाएका प्रख्यात आरोही दोर्जे खत्रीसहित १८ जना दक्ष आरोही उत्पादन गर्न अबको २० वर्ष कुर्नुपर्ने दाबी गरे । पर्वतारोहीहरुलाई सरकार र व्यवसायीले उपेक्षा गरेको आरोप लगाएका थिए ।

प्रकाशित : ५ बैशाख २०७३, आईतवार १६:५१