नाकाबन्दी पछि मूल्यवृद्धिदर घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नाकाबन्दी पछि मूल्यवृद्धिदर घट्यो



काठमाडौं । भारतीय नाकाबन्दी खुले यता मूल्यवृद्धि दर (मुद्रास्फीति) मा उल्लेख्य सुधार भएको छ । नाकाबन्दी खुलेपछि आपूर्ति व्यवस्था सहज भएकाले मुल्यवृद्धिदर पनि घटेको हो ।

Nepal-Rastra-Bank_Panorama1_20111122085657

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुनमा वार्षिक ‘विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर’ १० दशमलव २ प्रतिशत रहेको छ । गत पुसमा मुल्यवृद्धिदर १२ दशमलव १ प्रतिशत रहेको थियो ।  यो उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको मुल्यको औसत वृद्धिदर हो । राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको फागुन महिनामा मुलुकको आर्थिक तथा वित्तीय विवरणमा नाकाबन्दीका कारण आपुर्ति व्यवस्थामा अवरोध भएपछि पछिल्ला केही महिना यता दक्षिणी सीमाका भन्सार नाकाहरुको अवरोध सहज हुँदै गएपछि इन्धन लगायत उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था सहज भएकाले गत पुसदेखि मुल्यवृद्धिदर घट्न थालेको उल्लेख छ ।

त्यस्तै सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर १० दशलमव ३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर १० दशलमव २ प्रतिशत बढेको छ । उक्त अवधिमा दलहन तथा गेडागुडीको मूल्य सबैभन्दा धेरै ३१ दशमलव ६ प्रतिशत र घ्यू तथा तेलको मूल्य १८ दशलमव ८ प्रतिशतले बढेको  राष्ट्र बैंकले बताएको छ ।

क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा काठमाडौं उपत्यकामा मुल्यवृद्धिदर सबैभन्दा धेरै १२ दशलमव ७ प्रतिशतले र हिमाली भेगमा सबैभन्दा कम ८ दशलमव ५ प्रतिशतले बढेको छ । यस्तै, उक्त अवधिमा पहाडमा मूल्यवृद्धिदर  १० दशमलव ४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको फागुनमा काठमाडौं उपत्यका र पहाड दुवैमा मुल्यवृद्धिदर ७ दशमलव १ प्रतिशत र तराईमा ६ दशमलव ९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकद्धारा जारी उक्त प्रतिवेदनमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले घटेर ३ खर्ब ९३ अर्बमा सिमित भएको छ । भारतीय नाकाबन्दी र तराई आन्दोलने यस वर्ष वैदेशिक व्यापार घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ३१ दशमलव १ प्रतिशतले बढेको थियो ।

समिक्षा निर्यात २४.९ प्रतिशतल घटेर ४२ अर्ब ७३ करोडमा सीमित भएको छ । आयात १३.९ प्रतिशतले घटेर रु. ४३५ अर्ब ८० करोड पुगेको छ ।

निर्याततर्फ भारतमा जिंक शीट, लत्ताकपडा, जि.आई. पाइप, जुस लगायतका वस्तुहरु, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरु र अन्य मुलुकतर्फ दाल, प्रशोधित छाला, छालाका तयारी सामान, चिया लगायतका वस्तुहरुको निर्यात घटेकोे छ ।

आयाततर्फ भारतबाट पेट्रोलियम पदार्थ, एम.एस.विलेट, रासायनिक मल, मेसिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरु, चीनबाट मेसिनरी तथा पार्टपूर्जा, विद्युतीय सामान, औषधिजन्य उपकरणहरु, स्टिल रड तथा सीट लगायतका वस्तुहरु तथा अन्य मुलुकबाट चाँदी, खाने तेल, कच्चा पाम तेल, तामाको तार लगायतका वस्तुहरुको आयात घटेको छ ।

प्रकाशित : ८ बैशाख २०७३, बुधबार १५:३४