भूकम्पको एक वर्ष : पुनस्थापन र पुनर्निर्माणमा सरकार रमिते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्पको एक वर्ष : पुनस्थापन र पुनर्निर्माणमा सरकार रमिते



काठमाडाै । करिब नौ हजारको ज्यान जाने गरी नेपालमा गएको भूकम्पको आज एक वर्ष भएको छ । गत सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रन्बिन्दु भएर गएको ७.८  रेक्टरको भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ । भूकम्पले आधा नेपाललाई तहस नहस बनाइदिएको थियो ।

करिब नौं हजार मानिसको मृत्यु भएको उक्त भूकम्पमा २२ हजारभन्न्दा बढी घाइते बने । हजारौं घाइते अहिले पनि अस्पतालमा उपचाररत छन् ।

विक्रम संवत १९९० सालपछिको ठूलो मानिएको यस भूकम्पबाट १४ अति प्रभावितसहित ३१ जिल्लामा असर पर्‍यो । निजी घर र सरकारी भवन गरी करीब नौं लाख घर कामै नलाग्ने गरी भत्किए ।

एकाएक आइलागेको बज्रपातबाट मुलुकको समग्र राष्ट्रिय अर्थतन्त्रमै नराम्रो असर परेको छ । भूकम्पबाट क्षति भएका पूर्वाधारको पुनर्निर्माण गर्न करिब सात खर्बको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

तर भूकम्पबाट प्रत्यक्ष प्रभावित बनेका आम पीडितले केही मात्रामा राहत पाए पनि पुनस्थापन र पुनर्निर्माणको अवस्था भने अझै दयनीय अवस्थामै छ ।

1461460330quecka

पुनर्निर्माणको जिम्मेवारी पाएको प्राधीकरणको भूमिका प्रभावी बन्न नसकेकोमा आलोचना भइरहँदा प्रशासनीक र राजनीतिक परिचालनमा पनि ठूलो कमजोरी देखिएको छ ।

भूकम्पको मार ब्यहोरेका जनताले वर्ष दिनको यस अवधिमा अतिसाध्य वर्षात्, कठ्याँग्रिदो ठीही र प्रचण्ड गर्मीको मौसम बेचैनीका साथ गुजारे तर पनि प्रभावितका घर उभ्याउन अझै निकै पापड पेल्नुपर्ने अवस्था देखिएको छ ।

वर्ष दिनको यस अवधिमा निरन्तर आइरहेका ठूला साना परकम्पले नेपालीलाई त्रसित बनाइरहेको छ । वर्षभरमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । चार म्याग्निच्यूडमाथिका मात्र ४ सय ४९ वटा परकम्प गएका छन् ।

यस्तोमा भूकम्पलगत्तै सहयोग गर्न तयार भएका दाताहरु पनि सरकारी कार्यशैलीप्रति दिक्क बन्दै सहयोग नै फिर्ता लैजाने चेतावनी दिन थालिसकेका छन् । त्यसैले अब सबै क्षेत्र र समुदाय एक ढिक्का भएर भौतिक पुननिर्माणलाई तीब्रता दिनु अहिलेका लागि सवैको साझा लक्ष हुन जरुरी छ ।

यसैबीच, भूकम्प गएको बर्ष दिनका दिन आज राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले भूकम्प स्मृति दिवस मनाउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भूकम्पको केन्द्रविन्दू रहेको गोरखाको बारपाकमा भूकम्पको स्मारकको शुभारम्भ गरिँदैछ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको चौतारास्थित निजी आवास अनुदान सम्झौताको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : १२ बैशाख २०७३, आईतवार ०२:४३