नेप्से परिसूचक र कारोबार रकम दुबै भूकम्प अघि कै अवस्थामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से परिसूचक र कारोबार रकम दुबै भूकम्प अघि कै अवस्थामा



काठमाडौं । पुँजी बजारले भूकम्पको क्षतिलाई पुरै विर्साएको छ । नेप्से परिसूचक र कारोबार रकम दुबै भूकम्प अघि कै अवस्थामा पुगेका छन् । साताको अन्तिम कारोबार हुने दिन विहीबार बजार थोरै बढ्यो । दिनभरको कारोबार परिसूचक १.३५ अंकले बढेर ९२६.८४ अंकमा पुग्यो भने कारोबार रकम २७ करोड रुपैयाँ नाघ्यो । बैशाख १२ गते अघि पनि औसत कारोबार रकम २५ करोड रुपैयाँको हाराहारीमा थियो । कारोबार सुरु भएको केही समयमा नेप्सेले ९३७ अंक पार गरेको थियो । १२ बजेर ४० मिनेट पछि बजार घट्न थालेको हो ।

केही ठूला कम्पनीहरुको सेयर कारोबार रकम निकै आकासिएको छ । विहीबार लुम्बिनी बैंक लिमिटेडको तीन करोड १० लाख रुपैयाँको सेयर किनबेच भयो । यो बैंकको प्रतिकित्ता तीन सय ४० रुपैयाँमा सेयर किनबेच भयो ।

त्यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता दुई ८२ रुपैयाँमा दुई करोड पाँच लाख रुपैयाँको सेयर किनबेच भयो । चिलिमे हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डू हरेकको पनि एक करोड भन्दा बढीको सेयर किनबेच भयो । यसले कारोबार रकमलाई निकै माथि उठाएको हो ।

लघुवित्त सस्थाहरुको सेयर मुल्य भने सुध्रिन सकेको छैन । केही लघुवित्त सस्थाको सेयर मुल्य थोरै बढेपनि समूहगत रुपमा भने यो समूह सुध्रिन सकेको छैन । असुलीमा समस्या आउन सक्ने अनुमानका आधारमा यो समूहको सेयर माग थोरै भएको हो ।

बाणिज्य बैंक, होटल र जलविद्युत समूहको सूचक विहीबार घटेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, नविल लगायतका बाणिज्य बैंकको सेयर मुल्य घटेको कारण बजार यो समूहकै बजार ओर्लिएको हो । चिलिमे हाइड्रोको सेयर मुल्य घटेको कारण जलविद्युत समूहमा पनि रातो लागेको हो ।

प्रकाशित : २१ जेष्ठ २०७२, बिहीबार ११:४७