उखु खेती प्रवद्र्धनका लागि छुट्टाएको सरकारी रकम पाएनन् किसानले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

उखु खेती प्रवद्र्धनका लागि छुट्टाएको सरकारी रकम पाएनन् किसानले



नवलपरासी । नवलपरासीमा चिनी उद्योगहरुले विवरण पठाउन अटेरी गर्दा सरकारले उखु खेती प्रवद्र्धनका लागि उपलब्ध गराएको रकम पाउनबाट उखु किसान बञ्चित भएका छन् ।

उद्योगसँग विवरण मागेर किसानलाई उखु प्रवद्र्धन वापतको रकम वितरण गर्न सरकारले पाँच करोड ६३ लाख ५० हजार जिल्ला कृषि विकास कार्यालयमा पठाएपनि उद्योगको बेवास्ताका कारण किसान मर्काका परेका हुन् ।

सुनवल, बाग्मती र इन्दिरा चिनी उद्योगले विवरण नपठाएका हुन् । उखु प्रवद्र्धन वापत प्रतिक्वीन्टल २५ रुपैयाँका दरले भुक्तानी दिन सरकारले रकम पठाएको वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए ।

विवरण अनुसार जिल्लामा साढे २२ लाख क्वीण्टल उखु उत्पादन भएको छ । विवरण पठाउन बारम्बार पत्राचार गर्दा पनि उद्योगले किसानको तथ्यांक नपठाएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

विवरण नपठाए रकम फिर्ता जाने जानकारी दिंदा पनि उद्योग सञ्चालकले अटेर गरेकोमा कृषकले आपत्ति जनाएका छन् । जिल्लामा १२ हजारभन्दा बढी उखु किसान छन् ।

आफूले उत्पादन गरेको उखुको उचित मोल नपाउँदा वर्षेनी उखु लगाउने कृषक नै घट्न थालेका छन् । सुनवल, बाग्मती र इन्दिरा चिनी उद्योगले गत वर्षको उखु वापतको १८ करोड रुपैयाँ अझै तिर्न बाँकी रहेको छ । सुनवलले सात करोड र बाग्मती र इन्दिराले पाँच÷पाँच करोड तिर्न बाँकी रहेको कृषकले जनाएका छन् ।

प्रकाशित : ९ जेष्ठ २०७३, आईतवार ०४:५७