केमा बढ्यो, केमा घट्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

केमा बढ्यो, केमा घट्यो ?



buzetकाठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेसँगै केही वस्तुको भाउ वृद्धि हुने भएको छ भने केहीमा उपभोक्ताले सहुलियत पाउने भएका छन् ।

बजेटसँगै जारी अर्थ विधेयकले उपभोग्य वस्तुमा लाग्ने करको दर हेरफेर गरेकाले वस्तुको भाउ घटबढ हुने भएको हो । आगामी आर्थिक वर्षको आर्थिक विधेयकअनुसार अब उपभोक्ताले सस्तोमा विद्युतीय सवारी किन्न पाउने भएका छन् । तर मदिरा, चुरोट, खैनी, बिँडी, गुट्कालगायतका वस्तुको भाउमा भने केही वृद्धि भएको छ ।

मोबाइलमा दिईंदै आएको ५० प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट छुटलाई सरकारले ४० प्रतिशतमा झारेको छ । तोरीको तेल र वनस्पति घिउ उद्योगले आफ्ना उत्पादनमा उठाएको भ्याटमा पाउने छुट घटेकाले त्यसको भार उपभोक्तामा पर्ने देखिएको छ ।

बजेटमा सरकारले मिर्गौला रोग तथा मुटुरोगसँग सम्बन्धित उपकरणमा लाग्ने भ्याट छुट दिएको छ । त्यसले सर्वसाधारणको उपचार खर्चमा कमी आउने छ । नेपालमै विद्युतीय रिक्सा उत्पादन गर्ने कम्पनीले आवश्यक कच्चा पदार्थ आयात गरे त्यसमा लाग्ने भ्याट पनि छुट पाउने भएका छन् ।

ब्याट्रिबाट चल्ने पानी तान्ने पम्पमा पनि भ्याट छुट हुने भएको छ । विद्युतीय टेम्पो र रिक्सामा भ्याट छुट दिइएको छ । प्लास्टिक झोला उत्पादन गरिरहेका उद्योगले वातावरणमैत्री झोला उत्पादन गर्ने मेसिन खरिद गरेमा त्यसमा पनि भ्याट छुट पाउने भएका छन् ।

सुर्ती, सुर्तीजन्य वस्तु, चुरोट, गुट्का, खैनी, मदिरा, वियर, वाइनलगायत सबै वस्तुमा अन्तःशुल्क र भन्सार दर बढेको छ । अल्कोहल मिसाइएका र नमिसाइएका चिनी हालेका पेयमा लाग्ने अन्तःशुल्क पनि बढेकाले यस्ता पेयको भाउ बढ्ने भएको छ । सरकारले एसेम्बल र तयारी टेलिभिजन सेटमा लाग्ने अन्तःशुल्क बढाएको छ

सरकारले विद्युतीय माध्यमबाट चल्ने सार्वजनिक यातायातका साधनमा अन्तःशुल्क हटाएको छ भने भन्सार एक प्रतिशतमा झारेको छ ।

प्रकाशित : १६ जेष्ठ २०७३, आईतवार ०२:४२