पाँच वाणिज्य बैंकद्धरा साढे ४ करोड कित्ता हकप्रद र बोनस सेयर निश्कासन गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पाँच वाणिज्य बैंकद्धरा साढे ४ करोड कित्ता हकप्रद र बोनस सेयर निश्कासन गर्ने तयारी



काठमाडाै । पाँचवटा वाणिज्य बैंकहरुले साढे ४ करोड भन्दा बढी कित्ता हकप्रद र बोनस सेयर निश्कासन गर्ने भएका छन् । चारवटा वाणिज्य बैंकले साढे ४ करोड ४६ लाख कित्ता हकप्रद र एक बैंकले केही लाख कित्ता बोनस सेयर जारी गर्न लागेका हुन् ।

प्राइम कमर्सिल बैंकले १ करोड २३ लाख ५० हजार कित्ता हकप्रद सेयर जारी गर्न लागेको छ । यसका लागि यो बैंकले आइतबार नै धितोपत्र बोर्डमा आवेदन दर्ता गराइसकेको छ । प्राइमले बैंकले नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले ३ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भन्दै बोर्डमा आवेदन दिएको छ । जस अनुसार बैंकले १०० अंकित मूल्यका १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता अर्थात १ अर्ब २३ करोड ५० लाख ८७ हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ । यो सेयर बिक्रीका लागि बैंकले सिभिल क्यापिटललाई विक्री प्रवन्धकमा नियुक्ति गरेको छ । हकप्रद सेयर निश्कासनको संचालक समितिको प्रस्तावलाई बैंकको केही समयअघि सम्पन्न साधारणसभाले अनुमोदन गरेको थियो ।

पूँजी वृद्धिको योजना अनुसार लामो समयदेखि नै हकप्रद निकाल्ने तयारीमा रहेको सिटीजन्स बैंक इन्टरनेशनलले शेयरधनीलाई ५५ प्रतिशत हकप्रद दिने भएको छ । बैंकले हकप्रद निष्काशनका लागि यही जेठ २४ गते शेयरधनी दर्ता किताब बन्द हुने जनाएको छ । बैंक स्रोतका अनुसार १ अर्ब ७० करोड मूल्यको १ करोड ७० लाख कित्ता हकप्रद निश्कासन हुन लागेको हो । जेठ २३ गतेसम्म शेयर किन्नेले सिटिजन्सको हकप्रद भर्न पाउने छन् । हकप्रद निश्कासनपछि यो बैंकको चुक्तापूँजी ४ अर्ब ८० करोड पुग्नेछ ।

यसैगरी, सानिमा बैंकले पनि पूँजी वृद्धिको योजना अनुसार ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको छ । बैँकले हकप्रद निष्कासनको सूचना यसै साताभित्र सार्वजनिक गर्ने जनाएको छ । बैंकले २ः१ अनुपातमा १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा १ अर्ब रुपैयाँ छ । गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । हकप्रद निष्कासनपश्चात बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ ।

उता, बैंक अफ काठमाण्डौको सोमबार सम्पन्न साधारणसभाले आफ्ना शेयर धनीलाई २६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव अनुमोदन गरेको छ । बोनस शेयरको कर प्रयोजनको लागि १.३६ प्रतिशत नगद लाभांश समेत सेयरधनीले पाउनेछन् ।

रिडीको हकप्रद असार १ देखि
रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले २०७३ असार १ गतेदेखि साउन ४ गतेसम्म १० कित्ता शेयरबराबर ३.५ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीले शेयरधनीका लागि प्रतिशेयर १ सय अंकित दरका ११ लाख ५५ हजारबराबरको हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । सेयर खरीदका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमल, काठमाडौं र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा रहेको रजिष्टर्ड कार्यालयबाट दरखास्त फारम उपलब्ध हुने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ । यस कम्पनीको हकप्रद शेयर निष्कासन प्रयोजनका लागि इक्रा नेपालबाट क्रेडिट रेटिङ गराई ‘इक्रा एनपी आईपीओ ग्रेड ४ प्लस’ प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित : १९ जेष्ठ २०७३, बुधबार ०३:४८