महिला सशक्तिकरणमा सहकारीको योगदान महत्वपुर्ण ः मन्त्री महतो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महिला सशक्तिकरणमा सहकारीको योगदान महत्वपुर्ण ः मन्त्री महतो



काठमाडाै । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सहकारीमार्फत महिला आपसमा मिलेर टोल टोलमा उद्यमशीलता तथा उत्पादन बृद्धिको कार्य गरीरहेको भन्दै खुसी व्यक्त गरेकी छन् ।

‘सहकारीले महिला सशक्तिकरणमा महत्वपूर्ण योगदान गरेको छ ।’ मन्त्री महतोले भनिन्, ‘सहकारी ५६ प्रतिशत महिला सहभागीता छ । महिलाको आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक चेतना बृद्धि गर्ने विषयमा सहकारीको योगदान महत्वपूर्ण छ ।’


राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको सहकारीमा महिला समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री महतोले भनिन्,‘महिला दिदिबहिनी सहकारीमार्फत उत्पादनमा जोडिएकी कारण सरकारले पनि ठूलो अपेक्षा गरेको छ ।’ उनले नीति नियमबाट सहकारी र महिला उद्यमशीलताका लागि समस्या परेको भए आफूले त्यसका लागि पहल गर्ने बचत समेत दिइन् । उनले महिलाबाट संचालन गरेका उद्योग व्यवसाय तथा संस्थालाई अझ ठूलो बनाएर उदाहरण दिन सकिने बताइन् । उनले अब अधिकार खोज्ने भन्दा पनि गरेर देखाउने बेला आएको बताइन् । नीति नियमले ग्यारेन्टी गरेको विषयमा महिलाले जिम्मेवारी पाउनुपर्ने र उत्कृष्ट कार्य गरेर देखाउनुपर्ने उनको धारणा थियो ।

अब नेपालमा अब कुनै पनि मानिसले सडकमा मागेर खानुपर्ने अवस्था रहँदैन उनीहरुको जिम्मेवारी सरकारले लिने उनले बताइने । ‘घरबारबिहिन कुनै मानव सडकमा देख्नु भयो भने हामीलाइ खबर गरिदिनुस् हामी उहाँहरुको जिम्मेवारी लिने छौं ।’ उनले भनिन्, ‘०७८ भित्र सडक मानवमुक्त गर्ने सरकारको योजना छ ।’ उनले प्रदेश र स्थानीय तहसम्म प्रभावकारी नेटवर्क निर्माण गर्ने काममा सहकारी अगाडि रहेको बताइन् ।

कार्यक्रमा राष्ट्रिय योजना आयोगका सदस्य तथा महासंघका सल्लाहकार उषा झाले महिला निर्णयकर्ता भएकाले अधिकार लिने होइन अधिकार दिने भूमिकामा हुनुपर्ने बताइन् । ‘हामी एक सय प्रतिशत हौं । हामी जन्म दिन्छौ अनि हामी अधिकार देउँ किन भन्ने हामीले अधिकार माग्ने होइन दिने हो ।’ महासंघका अध्यक्ष मिनराज कडेलले ७० वटा जिल्ला सहकारी संघमध्ये ३ वटामा महिला अध्यक्ष रहेको र अन्यमा समेत महिलालाई नेतृत्व लिनका लागि प्रेरणा मिलेको बताए ।

कार्यक्रममामा सांसद डा विमला राई पौडेलले लैंगिक समानताको मुलप्रवाहकरणमा सहकारी चुनौती र आगामी कार्यदिशा विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यसको अध्यक्ष महासंघका संचालक तथा महिला उपसमिति संयोजक अमृता सुब्बाले गरेकी थिइन ।

कार्यक्रममा सांसद मनकुमारी जिसी,महासंघका उपाध्यक्ष रमेश पोखरेल, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, संचालक अमृता सुब्बा,पदमा गुरुङले महिला समावेशिताको विषयमा बोलेका थिए । दुई दिने गोष्ठीमा महिला उद्यमी कमला सुवेदी, मल्लिका श्रेष्ठले आफ्नो अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ । त्यसैगरी महिला समावेशिताका लागि संघले गरेको प्रयास एवं चुनौतीहरुको विषयमा समेत सोमबार प्रस्तुती हुने छ ।

प्रकाशित : ८ चैत्र २०७७, आईतवार २०:५७