नेपाली काँग्रेस नयाँ सरकार गठनभन्दा पनि पार्टी महाधिवेशनमा केन्द्रित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेपाली काँग्रेस नयाँ सरकार गठनभन्दा पनि पार्टी महाधिवेशनमा केन्द्रित



काठमाडाै । नेपाली काँग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो ।

पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए पनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए । ‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ पौडेलले राजधानीसँग भने ।

बैठकमा तत्काल नयाँ सरकार गठन विषयमा कुनै छलफल नभएको पनि आवश्यक परे कांग्रेस वैकल्पिक सरकार दिन सधैं तयार रहेको नेता रमेश लेखकले बताए । ‘कांग्रेस प्रतिपक्षी दल हो, आवश्यकता परे कांग्रेसले वैकल्पिक सरकार दिन सक्छ तर अहिले नै स्थिति परिपक्व बनिसकेको छैन,’ नेता लेखकले बैठकपछि पत्रकारसँग भने । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित : १० चैत्र २०७७, मंगलवार ०८:०७