महंगो मूल्यमा एनएलआइसीको एफपीओ, प्रति कित्ता २९ सय ५१ रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महंगो मूल्यमा एनएलआइसीको एफपीओ, प्रति कित्ता २९ सय ५१ रुपैयाँ



nlic-1काठमाडौं। नेपालको पुँजी बजारमा नेपाल लाइफ इन्स्योरेन्स (एनएलआइसी)को नयाँ शेयर निष्काशन (एफपीओ)को निवेदन स्वीकृत भएमा अहिलेसम्मकै सबैभन्दा महंगो दरमा एफपीओ निष्काशित हुनेछ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिले प्रति कित्ता २९ सय ५१ रुपैयाँ एफपीओ जारी गर्ने सूचना नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ । कम्पनीले संस्थापक र साधारण शेयर समूहलाई ७०ः३० को अनुपातमा रुपान्तरण गर्न एफपीओ गर्न लागेको हो । यसअघि संस्थाको शेयर संरचना ८०ः२० को अनुपातमा रहेको छ । नेपाल लाइफले १ सय रुपियाँ अंकित दरको शेयरलाई २८५१ रुपियाँ प्रिमियम जोडेर २९५१मा निष्काशन गर्न लागेको हो ।

नेपालमा एफपीओ शेयर निष्काशन जहिले पनि प्रिमियममै निकाल्ने अभ्यास रहेको छ । सबैभन्दा पहिले एनएमबी बैंकले एफपीओ निष्काशनको शुभारम्भ गरेको हो । एनएमबी बैंकले २०६६ को चैत्रतिर १ सय ८५ प्रिमियम थपेर २ सय ८५ मा शेयर निष्काशन गरेको थियो । प्रायः संस्थापक र साधारण शेयरको अनुपात मिलान गर्न यस्तो अभ्यास गरिएको पाइन्छ । त्यसपछि यसै आर्थिक वर्षमा शिखर इन्स्योरेन्सले ५सय ५० रुपियाँ प्रिमियम थपेर ६सय५० मा एफपीओ शेयर निष्काशन ग¥यो । शेयर निष्काशन गर्दा ९ सयको हाराहारीमा रहेको यो कम्पनीको शेयर दोस्रो बजारमा एफपीओ शेयरको बाँडफाँड हुने बेलासम्म करिब १५ सय र हाल करिब २९०० को हाराहारीमा कारोबार भइरहेको छ । शिखर इन्स्योरेन्सको एफपीओ लगानीकर्ताले शेयरको दोस्रो बजारमा बम्पर फाइदा लुटेपछि साधारण लगानीकर्ताले एफपीओ शेयरमा पनि चर्को प्रिमियमका बाबजुद आइपीओमाजस्तै मरिमेटेर लागेको पाइएको छ । पछिल्लो समय नेपाल इन्भेस्टमेन्ट बैंकले जारी गरेको एफपीओ मागभन्दा करिब ४७ गुणा बढी शेयर आवेदन परेको थियो ।

नेपालको धितोपत्र कानुनले प्राथमिक शेयर निष्काशन(आइपीओ) र शेयरको नयाँ निष्काशन (एफपीओ)मा कुनै भिन्नता गरेको छैन तर प्रिमियममा शेयर निष्काशन गर्दा भने प्रिमियममा जारी गर्न चाहेको शेयरको मूल्य गणनाको विधि तथा आधार तयार गरी धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने मात्र उल्लेख गरेको हुँदा पछिल्लो समय महंगो प्रिमियममा शेयर निष्काशन गर्ने प्रवृत्ति बढ्दै गएको छ ।

नेपाल लाइफले ३० लाख ९६ हजार ४२९ कित्ता सेयर नयाँ शेयर (एफपीओ)जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । एफपीओ पछि कम्पनीको पुँजीमा ३० करोड ९६ लाख रुपैयाँ थपिने छ । बाँकी ८ अर्ब ८२ करोड रुपैयाँ कम्पनीको जगेडा कोषमा जाने छ । अहिले कम्पनीको पुँजी दुई अर्ब १६ करोड ७५ लाख रुपैयाँ छ । यो पुँजीका आधारमा कम्पनीले संस्थापक समूहमा रहेको १० प्रतिशतलाई साधारणमा झार्ने गरी एफपिओ गरेको हो । कम्पनीको जगेडा कोषमा २६ करोड ५४ लाख रुपैयाँ छ । प्रिमियम वापतको रकम थपिएर कम्पनीको जगेडा थप बढ्ने छ । कम्पनीको शेयर बिहीबार १० प्रतिशतले बढेर ४४ सय ८८ रुपियाँमा कारोबार भएको थियो ।
यसैगरी कम्पनीले शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई नियुुक्त गरेको छ ।

प्रकाशित : २७ जेष्ठ २०७३, बिहीबार १५:१७