२ अर्ब ८० करोड ६० लाख बराबरको हकप्रद सेयर अाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

२ अर्ब ८० करोड ६० लाख बराबरको हकप्रद सेयर अाउदै



काठमाडाै । तीन वाणिज्य बैंक र एक विकास बैंकले २ अर्ब ८० करोड ६० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निश्कासन गर्ने भएका छन् ।  हिमालयन बैंक लिमीटेड, मेगा बैंक लिमीटेड, प्राइम कमर्सियल बैंक र सिन्धु विकास बैंक लिमीटेडले नेपाल राष्ट्रबैंकले तोकेको पूँजी पुर्याउन हकप्रद  निकाल्नेको  लागेका हुन ।

राष्ट्रबैंकको नीति अनुसार ०७४ असार मसान्तसम्म वाणिज्य बैंकले ८ अर्ब र विकास बैंकले २ अर्ब ५० करोड चुक्तापूँजी पुर्याउनुपर्नेछ ।  हिमालयन बैंक लिमीटेडले ७ः१ अनुपातमा हकप्रद दिने भएको छ । यो बैंकले ६४ करोड २७ लाख मूल्यको हकप्रद ल्याउन लागेको हो । हकप्रदको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमीटेड रहेको छ । बैंकको गत पुस ८ गते सम्पन्न २३ औं वार्षिक साधारणसभाले ७ः१ अनुपातमा आफ्ना शेयरधनीलाई हकप्रद दिने प्रस्ताव पारित गरेको थियो । हकप्रद वितरणको प्रस्ताव अन्तिम स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाइएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्सले बताए । प्रारम्भिक अनुमति आए पनि अन्तिम स्वीकृतिको पर्खाईमा रहेको र धितोपत्र बोर्डबाट त्यस्तो स्वीकृति आएलगत्तै साधारणसभाबाट पास भएको हकप्रद वितरण सुरु हुनेछ । करिब असार दोश्रो सातासम्ममा यो बैंकको हकप्रद वितरणको काम सुरु हुने ती अधिकारीले दाबी गरेका छन् ।

हिमालयन बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ३१ करोड खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापूँजी ५ अर्ब १ करोड पुग्नेछ ।

यसैगरी, मेगा बैंक लिमीटेडले पनि ४ः१ को अनुपात(२५ प्रतिशत)का दरले हकप्रद वितरण गर्दैछ । गत पुस २६ गते  सम्पन्न बैंकको ५ औं वार्षिक साधारणसभाले ८१ करोड १ लाख मूल्यको हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको थियो । यसको हकप्रदको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमीटेड नियुक्त भइसकेको छ । हकप्रद सेयर वितरणको काम असारको अन्तिम  साताबाट हुनसक्ने  बताइएको छ । बैंकको साधारणसभाबाट पारित २५ प्रतिशत हकप्रद निश्कासनका लागि नेपाल धितोपत्र बोर्डले यसअघि नै स्वीकृति दिइसकेको छ ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३२ करोड २ लाख खूद नाफा आर्जन गरेको थियो । हकप्रद वितरणपछि बैंकको चुक्तापूँजी ४ अर्ब ५ करोड पुग्ने बताइएको छ ।

यसैगरी, प्राइम कमर्सियल बैंक लिमीटेडले पनि  ३ः१ को अनुपातमा हकप्रद वितरण गर्दैछ । १०० अंकित मूल्यका कुल १ अर्ब २३ करोड बराबरको हकप्रद वितरण हुने बैंकले जनाएको छ । सिभिल क्यापिटल मार्केट लिमीटेड यसको हकप्रदको बिक्री प्रबन्धकको रुपमा नियुक्त भइसकेको छ ।  प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा ७० करोड ९५ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड छ । हकप्रदपछि बैंकको चुक्तापूँजी  ४ अर्ब ९३ करोड पुग्नेछ ।

यो बैंकले हालै विराटलक्ष्मी विकास बैंक लिमीटेड र कन्ट्री डेभलपमेन्ट बैंक लिमीटेडलाई खरीद गर्ने सम्झौता गरेको छ ।  यसैबीच, सिन्धु विकास बैंक लिमीटेडले समेत १ः१ अर्थात १०० प्रतिशतको दरले हकप्रद निश्कासन गर्दैछ । कुल १२ करोड ९ लाख मूल्यको हकप्रद जारी गर्न लागेको हो । यो बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले गर्नेछ । यो विकास बैंकले धितोपत्र बोर्डबाट  १२ लाख ९ हजार ३ सय ७५ कित्ता हकप्रद जारीका लागि अनुमति पाइसकेको छ । धितोपत्र बोर्डबाट निश्कासनको अनुमति पाएको ६० दिनभित्र प्रक्रिया सुरु गर्नुपर्ने भएकाले यसको हकप्रद पनि असारभित्रै निश्कासन हुने  बताइएको छ ।

प्रकाशित : ३२ जेष्ठ २०७३, मंगलवार ०५:०६