सेबोनले धितोपत्र व्यवसायीलाई जारी गर्यो ६ बुद्धे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेबोनले धितोपत्र व्यवसायीलाई जारी गर्यो ६ बुद्धे निर्देशन



काठमाडौं । कोरोना संक्रमण जोखिम बढ्दै गएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रोकथाम तथा नियन्त्रणका लागि धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीलाई सेवा प्रवाह गर्दा सवाधानी अपनाउन आग्रह गरेको छ । बोर्डले ६ बुँदे निर्देशन जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको हो ।

बोर्डले कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीहरुलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन दिएको छ।

नेपाल सरकारले तोकेको जनस्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण पालना गर्न गराउन पनि बोर्डले निर्देशन दिएको छ।

यसैगरी कार्यालय हाताभित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राहीबीच २ मिटरको भौतिक दूरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको छ।

यस्तै, बोर्डले सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम, प्रशिक्षणजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्चुअल माध्यम अपनाउन पनि निर्देशन दिएको छ।

सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गर्न आफ्नो संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्ने गरी परिचालन गर्न तथा सेवाग्राहीले भीडभाड कम गर्ने अभिप्रायले सकेसम्म सेवा प्रवाह गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न गराउन पनि बोर्डले सुझाव दिएको छ।

कोभिड–१९ को संक्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले कोभिड–१९ रोकथामका लागि अपनाएका आवश्यक उपायहरुका साथै यसअघि दिएको निर्देशनहरुको पूर्ण पालना गर्न गराउन पनि बोर्डले निर्देशन दिएको छ।

प्रकाशित : ८ बैशाख २०७८, बुधबार १३:३७