सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी सङ्घको स्वास्थ्य सुरक्षा सामग्री सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी सङ्घको स्वास्थ्य सुरक्षा सामग्री सहयोग



काठमाडाैँ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अग्र मोर्चामा खटिने गरेका सुरक्षाकर्मीका लागि झापा जिल्ला सहकारी सङ्घले स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

संघका अध्यक्ष गणेश ढकाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरी, सचिव भवानीप्रसाद दंगाल र जिल्ला बचत तथा ऋण सहकारी सङ्घ झापाका अध्यक्ष घनश्याम अधिकारीको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर तीनै अङ्गका सुरक्षाकर्मीहरूका लागि ५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई हस्तान्तरण गरेको हो ।

त्यहाँ झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, नेपाली सेना चार आलीका प्रमुख सेनानी गौरवजंग थापा र सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार पाण्डेको पनि उपस्थिति थियो ।

स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दै संक्षिप्त कार्यक्रमका बीच संघका अध्यक्ष गणेश ढकालले प्रजिअ तिमिल्सिनालाई सामग्री हस्तान्तरण गरे । सङ्घले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री सहयोग गरेको सचिव दंगालले जानकारी दिए ।

सङ्घले १० हजार थान सर्जिकल मास्क, ६० थान पीपीइ सेट, ६ हजार सेट ग्लोब्स, एक हजार थान फेसशील्ड र १८०० लिटर स्यानिटाइजर उपलब्ध गराएको संघका वरिष्ठ उपाध्यक्ष गिरीले बताए ।

झापा जिल्ला सहकारी सङ्घले गत वर्ष पनि जिल्लाका प्रारम्भिक सहकारी संस्थाहरूको सहयोगमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाका कारण सङ्कटमा परेका नागरिकहरूलाई राहतका लागि नगद सहयोग गरेको थियो भने झापाको कनकाईमा नागरिक स्तरबाट स्थापित पीसीआर परीक्षण ल्याबका लागि २५ लाखभन्दा बढी रकम जुटाएको थियो ।

सङ्घले यस पटक कोरोना भाइरस सङ्क्रमितहरूलाई निमोनिया हुने जोखिम अत्यधिक देखिएकोले सङ्क्रमितहरूको एक्स–रे गर्न २५ लाख रुपैयाँ बराबरको अत्याधुनिक एक्स–रे मेशिन पनि ल्याउन लागेको अध्यक्ष ढकालले जानकारी दिए। सो मेशिन झापाकै एक अस्पताललाई हस्तान्तरण गरिने पनि उनले बताए।

प्रकाशित : २ जेष्ठ २०७८, आईतवार १९:१७