विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड दिन आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड दिन आग्रह



काठमाडाैं । कोरोना संक्रमणको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको हो ।

प्राधिकरणले यस दिवसको अवसरमा ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागिहरुले अहिलेको परिस्थितिमा डिजिटल रुपान्तरण अत्यावश्यक भएको र त्यसको लागि सूचना प्रविधिको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विज्ञबाट कार्यपत्र प्रस्तुति र प्यानल डिस्कसन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले यस फोरममा आएका विज्ञका सुझाबका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने भन्दै अहिलेको कोभिड संक्रमणमा दूरसञ्चार सेवा अझ भरपर्दो हुनुपर्ने बताए ।

‘अहिले दूरसञ्चार क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने, ‘कोभिड विभिन्न चरणमा आउने छन् । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौं । मानवसेवाका निम्ती एकजुट हौं ।’

त्यस्तै, कार्यक्रम आयोजकका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिवद्धताको खाचो रहेको बताए । ‘प्रतिवद्धता लिएर योजनावद्ध रुपमा अगाडि बढ्ने हो भने डिजिटल रुपान्तरण गर्न गाह्रो छैन,’ उनले भने, ‘प्रत्येक निकायबाट प्रतिबद्धता आउनु पर्छ ।’

नेपालमा डिजिटल रुपान्तरणको लागि लामो समयदेखि काम गरिरहेको बताउँदै यसलाई सफल पार्न कानुनी रुपमा बाध्यकारी बनाउनु पर्ने विचार अध्यक्ष खनालल राखे । ‘कानुनले बाध्यकारी नबनाउँदासम्म यसमा प्रफेक्ट हुन गाह्रो छ,’ अध्यक्ष खनालले भने, ‘बाध्यकारी बनाएर नीति लागु गर्नुपर्छ ।’

त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नगरेको अवस्थामा सूचना प्रविधिले काम गरिरहेको प्रति सजग गराए । कार्यक्रममा आईटीयूका महासचिव हौलिन जाओले पठाएका सन्देश सुनाइएको थियो । आइसिटी विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।

भट्राईले नेपालमा डिजिटल रुपान्तरणको लागि विभिन्न योजनाहरु बने पनि त्यसमा अझै स्पष्टता भईनसकेको बताए । उनले सरकारले सहजकर्ता भूमिका खेल्नु पर्ने र निजी क्षेत्रलाई अगुवाको भूमिकामा राख्नु पर्ने विचार व्यक्त गरे ।

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार १९:१०