उद्योग परिसंघ विपन्न परिवारलाई २५ लाख बराबरको राहत सामग्री वितरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग परिसंघ विपन्न परिवारलाई २५ लाख बराबरको राहत सामग्री वितरण



विराटनगर । उद्योग परिसंघ प्रदेश १ ले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई झण्डै २५ लाख बराबरको राहत सामग्री वितरण गरेको छ । लामो समयदेखिको बन्दाबन्दीका कारण आर्थिक अवस्था कमजोर भएका परिवार भोकै बस्नुपर्ने बाध्यतालाई ध्यानमा राखी एसियन थाईफुड्ससँगको साझेदारीमा परिसंघले राहत वितरण गरेको हो ।

सुनसरीको दुहबी भलुवा नगरपालिका वडा नम्बर २, ८,९,१० र ११ वडाका अतिविपन्न २ हजार परिवारलाई राहत वितरण गरिएको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले जानकारी दिए । उनका अनुसार उक्त राहत सामग्री ५ वटै वडाका वडा अध्यक्षलाई वितरण गरिएको छ । वडा अध्यक्षमार्फत् ती सामग्री विपन्नको घरघरसम्म पुग्ने आशा अध्यक्ष घिमिरेको छ ।

‘हामीले उपलब्ध गराएका राहत सामग्री अति विपन्नको घरघरमा पुग्नेछ,’ अध्यक्ष घिमिरेले भने, ‘यो कोरोनाको महामारीमा सबैलाई बोलाएर दिँदा अप्ठ्यारो हुने र संक्रमणको डर हुने भएकाले वडा अध्यक्षमार्फत् उपलब्ध गराइनेछ।’ सुनसरीको सोनापुर क्षेत्रका सर्वसाधारण उद्योग बन्द भएर बेरोजगार रहेकाले उनीहरूको परिवार अहिले खायो भरे के खाने भन्ने अवस्थामा रहेकाले केही सहयोग पुगोस् भनेर राहत उपलब्ध गराइएको उनले जानकारी दिए ।

नेपाल उद्योग परिसंघ प्रदेश १ का सल्लाहकार एवम् एसियन थाईफुड्सका प्रबन्ध निर्देशक महेश जाजुले सामाजिक उत्तरदायित्वअनुसार सोनापुर क्षेत्रका मजदुरका परिवारलाई राहत उपलब्ध गराइएको बताए । राहत सामग्रीमा प्रतिपरिवार ५ किलो चामलसहित दाल, खाने तेल नुन, चाउचाउ, बिस्कुट, भटमास मस्यौरा, भुजा र मास्कको पोका बनाएर उपलब्ध गराइएको जाजुले बताए । उपलब्ध गराइएको सामग्री प्रतिवडा ४ सय परिवारले एक हप्तासम्मका लागि खान पुग्ने उपलब्ध गराइएको छ ।

परिसंघका अध्यक्ष घिमिरेले यो शुरुवाती भएकाले आवश्यकताअनुसार राहत उपलब्ध गर्दै जाने बताएका छन् । विशेषगरी औद्योगिक क्षेत्रका मजदुर समस्यामा रहेकाले उनीहरू लक्षित पहिलो चरणको राहत वितरण हुने बताइएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७८, मंगलवार १८:३९