बिमा कम्पनीहरुको एफपीओ अाउँदै, कुन–कुन कम्पनीले एफपीओ जारी गर्न सक्लान् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिमा कम्पनीहरुको एफपीओ अाउँदै, कुन–कुन कम्पनीले एफपीओ जारी गर्न सक्लान् ?



fpoकाठमाडाै । पूँजीबजारमा ऐतिहासिक रेकर्डहरु कायम भइरहँदा विभिन्न कम्पनीहरुले बित्तीय प्रावधान अनुसार सेयर अनुपात मिलाउने क्रममा ठूलो संख्यामा फर्दर पब्लिक अफरिङ एफपीओ जारी गर्ने गरेका छन् । पछिल्लो समय बिमा कम्पनीहरु समेत एफपीओ जारी गरी कम्पनीको सेयर स्वामित्व अनुपात मिलाउन अग्रसर हुन थालेका छन् । सर्वसाधारणले समेत भर्न पाउने भएकोले एफपीओमा निकै ठूलो आकर्षण देखिएको छ । यहीकारण धेरै लगानीकर्ताहरु देशका अन्य बिमा कम्पनीहरुले समेत एफपीओ जारी गर्लान् भन्ने अपेक्षा गरेर बसेका छन् । आखिर कुन–कुन कम्पनी एफपीओ जारी गर्ने अवस्थामा होलान् ? कुन–कुन कम्पनीले एफपीओ जारी गर्न सक्लान् ? आउनुहोस्, हेरौं केही संभावनाहरु ।

हालै सर्वसाधारणका लागि शिखर इन्स्योरेन्सले एफपीओ जारी गरिसकेको छ । नेपाल लाइफ इन्स्योरेन्सले समेत एफपीओ जारी गर्ने तयारी गरे पनि प्रिमियम मूल्यमा भएको लफडाले त्यो केही समय स्थगित छ, तर चाँडै नै यो बिषय टुंगोमा पुगी ठूलो परिमाणमा एफपीओ आउने बताइन्छ ।

विभिन्न कम्पनीले एफपीओ जारी गर्नु पछाडिको मुख्य कारण नै कम्पनीमा संस्थापक र साधारण सेयरधनीको स्वामित्व अनुपातमा भएको पछिल्लो व्यवस्था हो । यो प्रावधान अनुसार बित्तीय कम्पनीमा प्रोमोटर सेयरको अनुपात ५१ प्रतिशत हुनुपर्ने छ भने सर्वसाधारणको ४९ प्रतिशत हुनुपर्नेछ । अहिले पनि धेरै जीवन बिमा कम्पनीहरुमा प्रोमोटर सेयरधनी ५१ प्रतिशतभन्दा बढी स्वामित्व ओगटेर बसेका छन् । तसर्थ, ती संस्थाहरुले प्रोमोटर सेयरलाई घटाएर ५१ प्रतिशतमा झार्नुपर्ने छ भने प्रावधान अनुसार सर्वसाधारणको सेयर स्वामित्व बढाउनैका लागि ठूलो मात्रामा एफपीओ गर्नुपर्नेछ ।

हाल नेपालमा ९ वटा जीवन बिमा कम्पनी छन्, जसमध्ये ७ वटाको सेयर नेप्सेमा सूचिकृत छ र कारोबार पनि भइरहेकै छ । मेटलाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय विमा संस्थानको सेयर हालसम्म नेप्सेमा खरीदबिक्री भएको छैन ।

बाँकी ७ वटा जीवन बिमा कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमीटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडमा प्रोमोटर सेयरधनीको होल्डिङ ८० प्रतिशत छ । यसको अर्थ, यी दुई संस्थाले यो प्रतिशतलाई ५१ मा झार्नका लागि ठूलो संख्यामा एफपीओ गर्नुपर्ने हुन्छ । तर तत्काल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले संस्थापक र साधारण सेयर स्वामित्व ७० : ३० बनाउने उद्देश्यले एफपीओ गर्न लागेको कम्पनीस्थित स्रोतले बताएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमीटेडमा पनि प्रोमोटर र सर्वसाधारणको सेयर अनुपात ८०ः२० प्रतिशतमा छ । यो कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इण्डियासँगको साझेदारीमा संचालित छ, यो संस्थाको सेयर स्वामित्व ५५ प्रतिशत छ । नेपालको विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत लगानी छ ।

यसैगरी, एशियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र सूर्य लाइफ इन्स्योरेन्समा संस्थापक साधारण सेयर स्वामित्व ७० : ३० को अनुपातमा छ । यी संस्थाहरुले समेत ५१ः४९ प्रतिशतको अनुपात मिलाउन भविष्यमा ठूलो संख्यामा एफपीओ जारी गरी सर्वसाधारणलाई लगानीकर्ताको रुपमा भित्र्याउने छन् ।

देशमा हाल १७ वटा निर्जिवन बिमा कम्पनीहरु छन् । जसमध्ये नेशनल इन्स्योरेन्स कम्पनी लिमीटेड र ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयर हाल नेप्सेमा कारोबार हुँदैन । बाँकी १५ वटा निर्जिवन बिमा कम्पनीको सेयर नेप्सेमा कारोबार हुन्छ । निर्जिवन बिमा कम्पनीको उद्देश्य प्राप्तिसँग मिल्दाजुल्दा कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ल्याएका कारण पछिल्लो समय यी कम्पनीहरुको सेयर मूल्य निकै बढेको छ । बिमा कम्पनीहरुकै अग्रताका कारण सेयर बजार गुल्जार बन्दै आएको छ ।

निर्जिवन बिमा कम्पनीमा पनि अधिकांशमा ५१ : ४९ को अनुपात मिलेको छैन । स्रोतका अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १०० प्रतिशत नै सर्वसाधारणको सेयर लगानी छ ।

यसैगरी, हिमालयन जनरल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभू इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्समा संस्थापक साधारण सेयर स्वामित्व ६० : ४० को अनुपातमा छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स,  एनबी इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्समा चाहि यो अनुपात ८० : २० मा छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडमा ५१.२९ : ४८.०१ को अनुपात छ भने राष्ट्रिय बिमा कम्पनी लिमीटेड र शिखर इन्स्योरेन्समा ७० : ३० को सेयर स्वामित्व अनुपात छ । एनएलजी इन्स्योरेन्समा प्रोमोटर र सर्वसाधारणको सेयर स्वामित्व ५० प्रतिशतको दरले कायम छ भने सिद्धार्थ इन्स्योरेन्सको सेयर अनुपात ७५ : २५ छ ।

ढिलोचाँडो बिमा कम्पनीहरुले एफपीओ जारी गर्नुपर्ने बाध्यता रहेकोले लगानीकर्ताहरुले कम्पनीको बित्तीय अवस्था राम्रोसँग बुझेर आफ्नो लगानी नडूब्ने हिसाले लगानीको योजना बनाइरहँदा हुने देखिन्छ ।बिजशालाको सहयोगमा

प्रकाशित : २१ असार २०७३, मंगलवार ०८:१६