आइतबार सेयर बजार हरियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आइतबार सेयर बजार हरियो



काठमाडौं ।  साताको पहिलो दिन आइतबार सेयर बजार हरियो भएको छ । नेप्से परिसूचक ६.८१ अंकले बढेर बिन्दुमा १७२२.५३ विन्दुमा पुगेको छ । आइतबार करिब डेढ अर्बको सेयर कारोबार भएको छ । यो दिन १ अर्ब ४३ करोडको सेयर कारोबार भएको छ । मौद्रिक नीतिको स्वागतमा बजार हरियो भए पनि नीति आउन भने केही दिन ढिलाइ हुने भएको छ । आइतबार वा सोमबार घोषणा गर्ने भनिएको मौद्रिक नीति केही दिन पर सर्न सक्ने संकेत राष्ट्र बैंकका अधिकारीले दिएका छन् ।

बजार खुल्नासाथ आइतबार नै मौद्रिक नीति आउनेमा आसमा लगानीकर्ताहरु निकै उत्साहित देखिएका थिए तर पछि मौद्रिक नीति केही ढिलो हुनसक्ने संकेत पाएपछि त्यसको मनोवैज्ञानिक असर बजारमा पनि देखियो । खुलेदेखि नै हरियो भएको बजार एक बजे करिब १७ अंक बढेर १७३२ सम्म पुगेको थियो । तर पछि बजारमा केही करेक्सन देखियो ।

बैंकहरुको सेयरमा विस्तारै उछाल देखिन थालेको छ । आइतबार पनि बजारलाई बैंकले नै लिड गरेको देखिन्छ । बैंकिङ पसिसूचक ११.०५ ले बढेको छ । त्यसैगरी विकास बैंकको परिसूचक पनि आइतबार १३.४१ अंकले बढेको छ । चार गुनासम्म पुँजी वृद्धि हुने चर्चाले लघुवित्तको आकर्षण बजारमा आइतबार पनि कायम नै देखियो । लघुवित्त कम्पनीको सेयर भाउ र कारोबार दुवैमा उछाल घटेको छैन । आरएमडीसी, साना किसान र फस्ट माइक्रोफाइनान्स आइतबार पनि बढी कारोबार हुने सूचीमा छन्।

बैंकहरुमध्ये पनि एभेरष्ट बैंकप्रति लगानीकर्ताहरुको विशेष आकर्षण देखिएको छ । आइतबार पनि सबैभन्दा बढी कारोबार एभरेष्ट बैंकको भएको छ । गत बुधबार पनि सबैभन्दा बढी कारोबार यही बैंकको भएको थियो । बुधबार ७ करोडभन्दा बढीको सेयर कारोबार भएको एभरेष्टको आइतबार ११ करोडभन्दा बढीको कारोबार भएको छ र यसको सेयर भाउ पनि बढाइएको छ । पुँजी वृद्धिका लागि आकर्षक प्रस्ताव छिटै बाहिर आउने आसमा लगानीकर्ता एभरेष्टतिर मोडिएका छन् ।

बैंकमा लगानी गर्नेहरुको अर्को रोजाइमा फेरि बंगलादेश परेको छ। ८० प्रतिशन हकप्रद दिने घोषणा गरेको यो बैंकको आइतबार पनि ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।  पुँजी बजारका लागि मौद्रिक नीति नकारात्मक नहुने विश्वासमा लगानीकर्ताहरु उत्साहित भएका छन् । बाहिर हल्ला भएजस्तो पुँजी वृद्धिको योजनाको अवधि लम्बाउने र सेयर ऋणमा मार्जिन लेन्डमा कडाइ गर्ने कुनै पनि विषयमा मौद्रिक नीतिमा समावेश नगरिएकोले बजारमा यसको सकारात्मक असर पर्ने र मौद्रिक नीतिपछि बजार बेग्लै उछाल आउने अनुमान गरिएको छ । त्यसको प्रारम्भिक संकेत पनि बजारले दिइरहेको छ ।

प्रकाशित : २६ असार २०७३, आईतवार १०:२०