दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी



काठमाडौँ। नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्धन गर्न संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन्। यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले जेठ २१ गते समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेको एनसेलले जनाएको छ।

साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरित मार्ग’ एपको माध्यमलगायतबाट प्रवर्धन गरिनेछ। शहरी बासिन्दाका लागि दिगो शहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवर्धन गर्ने उद्देश्यले यो अभियानको शुभारम्भ गत पुस २०७७ बाटै भएको थियो। शहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय हो।

‘विश्व वातावरण दिवस २०२१’को पूर्व सन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्र अन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक—सामाजिक जिम्मेवारी (सीएसआर) को हिस्साका रूपमा काठमाडौँ उपत्यका बाहिरका अन्य इच्छुक शहरहरूमा समेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन्। अभियानले स्वस्थ शहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ।

प्रकाशित : २२ जेष्ठ २०७८, शनिबार १७:०५