यस कारण गएन कुमारी बैंक मर्जरमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस कारण गएन कुमारी बैंक मर्जरमा



काठमाडौं । कुमारी बैंकको विशेष साधारणसभाले एनसिसीसहित अन्य चार विकास बैंकसँग मर्जरमा नजाने निर्णय गरेको छ । राष्ट्र बैंकको दवावमा एनसिसीसँग मर्जरमा लैजान खोजिए पनि विशेष साधारणसभाले त्यसलाई अस्वीकार गरेको हो । मर्जरको विषयमा विवाद भएपछि विशेष साधारणसभामा शुक्रवार भोटिङ भएको छ । भोटिङमा उपस्थितको ५० प्रतिशतभन्दा वढि सदस्यले मर्जरको विपक्षमा मतदान गरेका थिए । मर्जरमा जानै हुँदैन भनेर फ्लोरबाट हुटिङ भएपछि मतदानमा जाने निर्णय भएको थियो ।

एनसिसी बैंकको नेतृत्वमा मर्जरमा जाने सम्झौता हुँदादेखि नै कुमारीका तत्कालिन अध्यक्ष नुरप्रताप राणा, शशिकान्त अग्रवाल तथा दुगड समूहसहितको समूहले विरोध गरेको थियो । कुमारीमा यो समूहको सेयर हिस्सा वढि छ । मर्जर प्रकृयाबिचमा राणाको मृत्यु भइसकेको छ । सञ्चालक समितिभित्र भने मर्जरमा जानु पर्छ भन्ने समूह बलियो छ । तर विशेष साधारणसभाले अनुमति नदिएपछि एनसिसीको नेतृत्वमा मर्जरमा जाने बिषय टुङ्गियो । यही साधारणसभाले अन्य साझेदार खोज्ने जिम्मा सञ्चालक समितिलाई दिएको छ । कुमारी बैंकसँगै एनसिसीसँग चार विकास बैंक मर्जरको प्रकृयामा थिए । बाँकीको विशेष साधारणसभाबाट मर्जरमा जाने निर्णय गरिसकेका छन् ।

कुमारीका लगानीकर्ताले स्वाप रेसियोमा असहमति जनाएका थिए । डिडिएले कुमारीको स्वाप रेसियो एनसिसीसँग ९८ रुपैयाँ तय गरेको थियो । मर्जर कमिटिको आपसी सहमतिमा १०० रुपैयाँ निर्धारण गरिएको थियो । यसलाई पनि कुमारीका लगानीकर्ताले अस्वीकार गरेका हुन् । कुमारीका लगानीकर्ताले एनसिसीभन्दा १० रुपैयाँ वढि हुनु पर्ने माग गरेका थिए ।

कुमारी अलग भएपनि बाँकी पाँच संस्था मर्जर सम्मबन्धि अन्तिम सम्झौतामा हस्ताक्षर गरेर साउनको पहिलो साता राष्ट्र बैंक जाँदैछन् । बिजमान्डुबाट

 

 

 

प्रकाशित : १ श्रावण २०७३, शनिबार ०६:०९