मूल्यबृद्धि नियन्त्रण बहिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मूल्यबृद्धि नियन्त्रण बहिर



1465385884_Khaddaकाठमाडौं । मूल्यबृद्धि नियन्त्रणमा आउने अपेक्षाविपरीत झनै उकालो लाग्दै गएको छ । चालु आर्थिक वर्षको जेठ महिनामा मूल्यबृद्धि वैशाखभन्दा झनै उकालो लागेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७२/०७३ को ११ महिनाको आर्थिकस्थितिमा उपभोक्ता मुद्रास्फीति ११.१ प्रतिशत पुगेको जनाइएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.४ प्रतिशत रहेको थियो । वैशाखमामात्रै पनि १० प्रतिशतमा झरिसकेको थियो । खाद्य तथा पेयपदार्थ दुबै समूहको मूल्यबृद्धि दोहोरो अंकमा रहेकाले समीक्षा अवधिमा मुद्रास्फीतिदर उच्च रहन गएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको सूचकांक ११.९ प्रतिशतले र गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकांक १०.५ प्रतिशतले बढेको छ ।

जेठ महिनामा कुल वस्तु निर्यात् २०.१ प्रतिशतले ह्रास आइ रु. ६२ अर्ब १६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ४.८ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा कुल वस्तु आयात् ०.९ प्रतिशतले घटेर रु. ६८४ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात् ७ प्रतिशतले बृद्धि भएको थियो ।

समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात् उच्चदरले घटेकोले कुल वस्तु आयात् घट्न गएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १.६ प्रतिशतले बढी रु. ६२२ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ८.७ प्रतिशतले बढेकोे थियो ।

यस्तै, पछिल्लो समय रेमिट्यान्सको बृद्धिदरमा पनि केही कमी आउँदै गएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बृद्धि भइ रु. ५९८ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.४ प्रतिशतले बृद्धि भएको थियो ।

विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा पनि कमी आउँदै गएको राष्ट्र बैंकको तथ्यांक छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७२/०७३ को ११ महिनामा गत वर्षको सोही अवधिको तुलनामा २०.६ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.२ प्रतिशतले बढेको थियो ।

प्रकाशित : १ श्रावण २०७३, शनिबार १०:३६