संकटमा परेका महिलालाई पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

संकटमा परेका महिलालाई पुँजी र बजारीकरणमा सहयोग गर्नुपर्छ : मन्त्री चौधरी



काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले कोभिडको संकटमा परेका महिलालाई उद्यममा फर्काउन पुँजी र बजारीकरणमा सहयोग गर्नु पर्ने बताएकी छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको सिएनआई सिइओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका महिला नेतृहरूसँग “कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न नेतृत्वको भूमिका” विषयमा गरेको भर्चुअल कार्यक्रममा उनले यस्तो भनेकी हुन् ।

मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलाहरूलाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पुजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको उल्लेख गरेकी थिइन् । “महिलाहरूलाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय सुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ,” उनले भनिन् ।

कार्यक्रममा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको बताइन । उनले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवं बालबालिका पर्न थालेको उल्लेख गरेकी थिइन् ।

यस्तै महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउने सम्बन्धी राष्ट्रसंघीय समितिकी निर्वाचित सदस्य बन्दना राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिलाहरू नै रहेको भन्दै अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताइन् । उनले कोडिसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उल्लेख गरेक िथिइन् ।

“अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ,” राणाले भनिन्, “नागरिकहरूलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी नेतृत्व तहबाट हुनुपर्छ । अहिले भएका कामहरूको अभिलेख राम्रोसँग व्यवस्थापन गरेर भविष्यमा थप काम गर्नुपर्छ ।”

यसैगरी युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत उपासना पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताइन् । उनले कोभिका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औँल्याएकी थिइन् ।

“हामीले संस्थागत उत्तरदायित्वमा ध्यान दिनुपर्छ, अहिलेको बेला सबैले एकजुट भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ,” उनले भनिन्, “यो महामारी हो, कहिले सकिन्छ भन्न सकिँदैन, जहिलेसम्म यो रहन्छ हामीले संस्थागत उत्तरदायित्व बहन गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ ।”

कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं सिएनआई सिइओ फोरमका कोअर्डिनेटिङ उपाध्यक्ष चौधरीले अहिले सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताए । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै उनले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताए।

सिएनआई सिइओ फोरमका कन्भेनर एवं नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताए । अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित : २७ जेष्ठ २०७८, बिहीबार १८:००