निषेधाज्ञा खुकुलो बनाएर काम गर्ने वतावरण बनाउः नाडा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

निषेधाज्ञा खुकुलो बनाएर काम गर्ने वतावरण बनाउः नाडा



काठमाडौं । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले निषेधाज्ञाका कारण जनता दुःख, पीडा र अभावमा परी बाध्य भएर सडकमा निस्किने अवस्था आएको भन्दै यसलाई अब अन्त्य गरी जनतालाई निस्किन र उद्योग व्यवसाय चल्न दिन सरकारसँग आग्रह गरेको छ ।

नाडाले सरकारले यथासक्य चाँडो जनतालाई कोभिडविरुद्धको खोपको व्यवस्था गरी संक्रमणबाट बच्ने अन्य सुरक्षात्मक उपायहरूको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताएको छ ।

थपिँदो निषेधाज्ञा अवधीका कारण अब जनता स्वयं नै आफनो दुःख, पीडा र अभावमा परी बाध्य भएर सडकमा आउने संभावना प्रवल हुँदै गएको र यस्तो संभावित समस्यालाई सरकारले यथोचित सम्बोधन पनि गर्न नसकिरहेको वर्तमान अवस्थामा निषेधाज्ञाको अवधि थपिँदै जादा समस्या अरु भयावह हुने नाडाको भनाई छ ।

यस्तो विकट स्थिति आउनुअघि नै सरकारले घटदो क्रममा रहेको कोरोना संक्रमणको स्थितिलाई दृष्टिगत गर्दै निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लैजान नाडाले आग्रह गरेको छ ।

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार १३:१६