मौद्रिक नीतिः यसकारण सेयर बजारलाई फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मौद्रिक नीतिः यसकारण सेयर बजारलाई फाइदा



काठमाडाै । नेपाल राष्ट्र बैंकले गत बिहीबार जारी गरेको मौद्रिक नीति पुँजी बजारको विकासमा थप सहयोगी हुने देखिएको छ ।  सीधा हेर्दा मौद्रिक नीतिमार्फत बैंकले दिने मार्जिन प्रकृतिको सेयर कर्जामा सामान्य कडाई गरेजस्तो देखिन्छ । तर व्यवहारमा यसले बजारमा पनि असर पुर्याउने देखिंदैन ।

बजारका खेलाडीले सेयर उठाउने प्रयोजनका लागि केही दिन भाउ घटाउने प्रयास गरे पनि त्यसले लामो समय निरन्तरता पाउने कत्ति पनि सम्भावना छैन ।  मौद्रिक नीतिले एक सय ८० दिनको अन्तिम मूल्यको औसत भाउ वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको बढीमा ५० प्रतिशतसम्म कर्जा दिन पाइने व्यवस्था गरिएको छ ।  विगतमा एक सय ८० दिनकै औसत मूल्य र बजार भाउलाई नै आधार मान्ने गरिएको थियो । यसमा ६० प्रतिशतको सीमालाई थोरै घटाउनेबाहेक अन्य केही पनि परिवर्तन गरिएको छैन ।
तर विभिन्न बाहनामा पुँजी बजार घटाउन खोजिरहेकाले यसलाई निकै नकारात्मक ढंगल प्रचार गरिरहेका छन् । तर सुक्ष्मरूपमा अध्ययन गर्ने हो भने नयाँ मौद्रिक नीतिले पुनः सेयर बजारको वृद्धि गर्न थप सघाउ पुर्याउने अवस्था छ ।  सेयर कर्जा ५० प्रतिशतमात्र दिने व्यवस्थाले दीर्घकालमा बजारमा केही पनि असर पर्दैन ।  किन भने यसअघि पनि  बैंक तथा वित्तीय संस्थाले ६० प्रतिशत कर्जा प्रदान गरेको देखिन्छ ।

सामान्य लगानीकर्तालाई त धेरैजसो बैंकले ५० प्रतिशतमात्र दिएको अवस्था पनि छ । थोरै पहुँचवालाले मात्र ७० प्रतिशतसम्म कर्जा पाएका थिए ।   राष्ट्र बैंकले नै ५० प्रतिशतको सीमा तोकिदिए पछि बैंक तथा वित्तीय संस्थालाई पनि यही अधिकतम सीमाभित्र रहेर कर्जा प्रवाह गर्न अप्ठेरो पर्दैन ।  सेयर कर्जासँगै घरजग्गामा जाने ऋणलाई पनि कडाई गरिएको छ । यसबाट घरजग्गामा लगानी एकोहोरिन सक्ने सम्भावनालाई मौद्रिक नीतिले अन्त्य गरिदिएको छ । मौद्रिक नीतिले रियल स्टेट कर्जालाई पनि ५० प्रतिशतमा सीमित गरेको छ ।  यो प्रावधानले घरजग्गा कारोबार बबल हुने देखिंदैन । सेयर लगानीकर्तालाई यसबाट बाहिरिएर घरजग्गा कारोबारमा लाग्न यो नीतिले प्रोत्साहित गर्ने ठाउँ दिएको छैन ।

Nepal-Rastra-Bank_Panorama1_20111122085657

पुँजी बजारको विकासमा मौद्रिक नीतिको सबैभन्दा सकारात्मक पक्ष सीआरआर दरमा कुनै पनि परिमार्जन नहुनु हो ।  सीआरआर दर बढाइएको भए बैंक तथा वित्तीय संस्थाबाट अरबौं रुपैयाँ तरलता खिचिन सक्दथ्यो । यसो हुँदा बैंकमा निक्षेपकर्ताले बढी ब्याज पाउने सम्भावना हुने भएकाले पुँजी बजार ओरालो लाग्ने निश्चित हुन्थ्यो ।
तर सीआरआर नबढाउँदा घुमिफिरी फेरि पैसा सेयर बजारमा आउनेछ । यतिबेला सेयर बजारमा लगानीको माहोल पनि बनिरहेको अवस्था छ । तत्काल लगानीका अन्य क्षेत्र तय भएका छैनन् । यसो हुँदा बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी बढाउनुबाहेक अर्को विकल्प देखिंदैन ।

राष्ट्र बैंकले चुक्ता पुँजी बढाउनुपर्ने बाध्यकारी प्रावधानका कारण अधिकांश बैंक तथा वित्तीय संस्थाले हकप्रद जारी गर्ने लहर चलेको छ ।  मनग्ये नाफा कमाएका कम्पनीले बोनस सेयरलाई पनि उत्तिकै प्राथमिकता दिएका छन् । यसबाहेक मर्ज र एक्विजिसनका कारण संस्था थप सबल हुनेक्रममा छन् । यसबाट लगानीकर्ताको सूचीकृत कम्पनीप्रति थप आत्मविश्वास बढेको अवस्था छ ।

व्यक्तिगतरूपमा पनि गभर्नर डा. चिरञ्जीवी नेपाल पुँजी बजार तल झार्नुपर्छ भन्ने पक्षमा पटक्कै छैनन् । उनी पुँजी बजारप्रति सधैं सकारात्मक छन् । धितोपत्र बोर्डको अध्यक्ष रहँदा पनि डा. नेपालले पुँजी बजारको विकासमा उल्लेखनीय काम गरेका थिए ।  वित्तीय बजारको नियमन गर्ने निकायको प्रमुखको हैसियतमा सेयर बजारमा बबल नआओस भनेर मात्र सांकेतिकरूपमा लगाम लगाउने अस्त्रमात्र उनले प्रयोग गरेको देखिन्छ । पुँजी बजार घट्दा राष्ट्र बैंकको चुक्ता पुँजी बढाउने नीतिमै असर पुग्छ भन्नेतर्फ मौद्रिक नीति सचेत रहेको देखिन्छ ।

राष्ट्रियस्तरको थोक कारोबार गर्नेबाहके अन्य लघु वित्त कम्पनीको चुक्ता पुँजी नबढाइएकाले यसमा बबल आउने अवस्था छैन । राष्ट्रियस्तरका थोक कारोबार गर्ने लघु वित्तको पनि पुँजी आकार ठूलो भइसकेको छ ।

प्रकाशित : २ श्रावण २०७३, आईतवार ०२:३५