घ्यू र तेलको मूल्य एक वर्षमै २८.२० प्रतिशतले बढ्यो, श्रमिकको आम्दानी भने खुम्चियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

घ्यू र तेलको मूल्य एक वर्षमै २८.२० प्रतिशतले बढ्यो, श्रमिकको आम्दानी भने खुम्चियो



काठमाडौँ ।   चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट सार्वजनिक गर्दै घ्यू तथा तेलको मूल्य वृद्धि एक वर्षमै २८.२० प्रतिशतले  बढेको छ ।
 नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार  २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा अन्य वस्तुहरूको समेत मूल्य वृद्धि भएको छ । यस अवधिमा मासु तथा माछाको समेत मूल्य वृद्धि १७.१२ प्रतिशत रहेको राष्ट्र बैङ्कले जानकारी दिएको छ ।

यसै गरी २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा गैर-मदिराजन्य पेय पदार्थको मूल्य ९.८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि ९.८४ प्रतिशत रहेको राष्ट्र बैङ्कले बताएको छ । समग्रमा उपभोक्ता मुद्रास्फीति भने घटेको राष्ट्र बैङ्कले बताएको छ ।


राष्ट्र बैङ्कका अनुसार २०७८ वैशाखमा बार्षिक  बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ ।


राष्ट्र बैङ्कका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरूमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

घ्यू, तेल तथा माछामासुको मूल्य वृद्धि हुँदा श्रमिकहरूको आम्दानी वृद्धिदर भने खुम्चिएको छ । राष्ट्र बैङ्कका अनुसार तलब तथा ज्यालादर सूचकाङ्क वृद्धिदर निकै घटेको छ । तेल लगायतको मूल्यवृद्धि त्यति धेरै देखिदा २०७८ वैशाखमा वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क १.८९ प्रतिशतलेमात्रै बढेको छ ।


अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । वैशाख महिनामा ज्याला दर सूचकाङ्क भने २.४३ प्रतिशतले बढेको राष्ट्र बैङ्कले बताएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १७:३६