बिमामा उछाल, नेप्से १८०० अंक नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिमामा उछाल, नेप्से १८०० अंक नजिक



काठमाडौं  ३ साउन । पुँजी बजारमा उछाल अाएको  छ । आइतबार २७.५९ अंकले बढेको नेप्से परिसूचक सोमबार ४०.८३ अंकले बढेको छ । बैंक र बिमा दुवै चम्किएपछि नेप्सेले नयाँ उचाइ चुमेको छ ।  अब नेप्से परिसूचक १८ सयको लक्ष्यतिर उन्मुख भएको छ । सोमबार नेप्से ४०.८३ अंक बढेर १७८६.५७ को विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक उच्च विन्दु हो ।बजार वृद्धिसँगै कारोबारमा पनि व्यापक उछाल देखिएको छ । सोमबार करिब दुई अर्बको कारोबार भएको छ ।

बैंक र बिमाको सेयर भाउ र कारोबार दुवैमा उछाल देखिएको छ । बैंकिङ परिसूचक ४०.७९अंकले बढेको छ भने बिमाको परिसूचक ६१८.४२अंकले बढेको छ। बीचमा केही सुस्ताएका बिमाले बजारलाई फेरि तरंगित बनाएको छ । शिखर, सिद्धार्थ, प्रिमियर, सगरमाथा, नेपाल इन्सुरेन्स, एनएलजी, निकोलगायतका दर्जनजति बिमा कम्पनीको भाउ सोमबार दस प्रतिशतको हाराहारीमा बढेको छ ।

सबैभन्दा बढी सेयर कारोबार नेपाल बंगलादेश बैंकको भएको छ । यो कम्पनीको सोमबार मात्र १0 करोडभन्दा बढीको कारोबार भएको छ ।८० प्रतिशत हकप्रद दिने घोषणा गरेको नेपाल बंगलादेश बैंकको सेयरप्रति बजारमा विशेष आकर्षण देखिएको छ ।

घोषित हकप्रद पारित गराउन छिटै विशेष साधारणसभा बोलाउने तयारी भइरहेको सूचना आएपछि लगानीकर्ता यसमा झुम्मिएका छन् । आकर्षक कमाइ र सुदृढ हुँदै गएको वित्तिय स्वास्थ्यका कारण पनि बंगलादेश बैंक लगानीकर्ताको पहिलो रोजाइमा परेको छ ।  त्यसैगरी निकै लामो समय सुस्त देखिएको र भाउ पनि खासै नबढेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर पनि अब विस्तारै चम्किन थालेको छ । भाउ र कारोबारमा दुवैमा भारी वृद्धि छ ।

सिद्धार्थको सेयर बजारमा किन्नै नपाइने ब्लुचिप भएको छ । एक सातादेखि लगातार हरेक दिन दस प्रतिशतले भाउ बढ्दा यसको बजारमा सहज आपूर्ति भएको छैन र  यो बैंकको सेयर किन्ने लगानीकर्ताको लाम घटेको छैन । बजार भाउ १०५० पुगेको छ।

पुँजी बजारका लागि मौद्रिक नीति सकारात्मक देखिएपछि पुँजी बजारमा नयाँ उत्साह देखिएको हो । बाहिर हल्ला भएजस्तो पुँजी वृद्धिको योजनाको अवधि लम्बाउने र सेयर ऋणमा मार्जिन लेन्डमा कडाइ गर्ने कुनै पनि विषय मौद्रिक नीतिमा समावेश नगरिएकोपछि लगानीकर्ताको मनोबल बढेको छ ।

असारपछि नाफा नोक्शानको वार्षिक विवरण बाहिर आउन लागेको अवस्था र त्यसबारेमा बजारमा प्रस्तुत अनुमानले पनि बजारमा चमक थपेको छ । खासगरी बैंकहरुले गत सालभन्दा यसवर्ष नाफा कमाएको रिपोर्ट आउँदैछ । अब भदौंको अन्तिमसम्म नै बजार बुलिस ट्रेन्समा रहने देखिएको छ ।

प्रकाशित : ३ श्रावण २०७३, सोमबार १५:१५