चीनको घरजग्गा विक्री वृद्धि मध्यम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चीनको घरजग्गा विक्री वृद्धि मध्यम



चीन। आगामी १२ महीनामा चीनको घरजग्गा व्यवसाय मध्यम दरले बढ्ने अन्तरराष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी मूडिजद्वारा सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । अर्थतन्त्र उकास्न सरकारले चालेका कदमले सकारात्मक प्रभाव देखाउन थालेकाले घरजग्गा व्यवसाय मध्यम स्तरले बढ्ने अनुमान गरिएको हो । ‘सन् २०१४ मा ७ दशमलव ८ प्रतिशतले घटेको घरजग्गा विक्री आगामी १२ महीनामा भने ५ प्रतिशतले बढ्ने अनुमान छ,’ मूडिजका अध्यक्ष तथा वरिष्ठ विश्लेषक काभेन साङले भने ।

गतवर्षको उत्तराद्र्धबाट कार्यान्वयनमा आएको मौद्रिक तथा नियामक नीतिका कारण यस्तो वृद्घिको अपेक्षा सम्भव भएको मूडिजले दाबी गरेको छ । त्यस्तै, गत फेब्रुअरीदेखि बैङ्कले न्यून स्तरमा राखेको आवश्यक सञ्चिति दरका कारण बजारमा बढी तरलता प्रवाह हुने अनुमान गरिएको छ । त्यस्तै यसले घर खरीदकर्ता तथा घरजग्गा व्यवसायीलाई कर्जा दिने क्षमतामा समेत वृद्घि गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । गतवर्षको नोभेम्बरयता भएको तीनओटा ब्याजदर कटौतीले मोर्टगेज ऋणप्रति निर्भर रहेका खरीदकर्ताको आर्थिक लागत घट्ने विश्लेषण गरिएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित : २५ जेष्ठ २०७२, सोमबार ०६:४८