सहकारी बैंकमा ठूलो आर्थिक घोटलाको आशंका, बैंकको व्यवस्थापन परिवर्तनमा राष्ट्र बैंकको चासो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारी बैंकमा ठूलो आर्थिक घोटलाको आशंका, बैंकको व्यवस्थापन परिवर्तनमा राष्ट्र बैंकको चासो



काठमार्डौ ।  राष्ट्रिय सहकारी बैंक लिमिटेडको व्यवस्थापकीय संरचना परिवर्तनमा नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । सहकारी बैंकमा सञ्चालक नै कार्यकारी भएर लामो समयदेखि बैंकको व्यवस्थपकीय नेतृत्व चलिरहेको छ । उक्त बैंकको कार्यकारीमा बैंककै सञ्चालक के.बी. उप्रेतीलाई प्रबन्ध सञ्चालकको जिम्मा दिइएको छ । नेपाल राष्ट्र बैंकको नियमन र अनुगमनमा चल्ने यो नै एउटा यस्तो संस्था हो, जसमा सञ्चालक नै कार्यकारी भएर बसेका छन ।
‘अहिले एउटा प्रारम्भीक सहकारी संस्थामा त संस्थाका सञ्चालक÷अध्यक्षले कार्यकारी भएर बस्न नपाउने नियम बनाउने प्रयासमा राज्य रहेको छ ।’ नेपाल राष्ट्र बैंकका एक उच्च अधिकृतले भने– ‘वित्तीय अनुशासन सहित कडा ऐन नियममा रहनु पर्ने बैंकमा यस्तो व्यवस्था हाम्रो लागि पनि चुनौतिको विषय भएको छ ।’ त्यसो त यो विषयमा राष्ट्र बैंकको मात्रै हैन, सहकारी बैंककै अल्पमत सञ्चालकले समेत पचाउन सकेका छैनन् । ब्यवथापकीय संरचना परिवर्तनमा नेपाल राष्ट्र बैंक समेत निरिह रहेको सन्दर्भमा आफूहरु पनि बाध्यताले रमिते मात्र हुनु परेको तिनै अल्पमत मध्येका एक सञ्चालकले सहकारी समाचारपत्रसँग असन्तुष्टि पोखे ।

देशमा कँही नभएको, कानुनले नै नमिल्ने र हुनै नसक्ने प्रकारको व्यवस्थपकीय संरचना सहकारी बैंकका रहको भन्दै राष्ट्र बैंकको चासो भएको हो । ‘यस्तो चासो विगतमा पनि नगरिएको होइन ।’ राष्ट्र बैंकका ती अधिकृतले भने– ‘तर, तत्कालिन गभर्नर डा. युवराज खतिवडाको अहसयोगको कारणले राष्ट्र बैंकका कर्मचारीले उठाउँदै आएको यो विषयलाई ओझेलमा पारिदिएको थियो ।’ नेपाल राष्ट्र बैंक अहिले समग्र वित्तीय क्षेत्रलाई सबल र सक्षम बनाउने अभियानमा रहेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई पनि सक्षम र समयसापेक्ष बनाउने जरुरी रहेको उनको भनाई थियो ।

अघिल्ला गभर्नर डा. युवराज खतिवडासँग उप्रेतीको मिल्दो जुल्दो राजनीति उठ्बस, बैचारिक एकता र पहँुचताको कारणले पनि सहकारी बैंकको व्यवस्थपकीय संरचना सुधार गर्नेतर्फ त्यत्ति ध्यान दिइएको थिएन । तर अहिले परिस्थिति ठिक उल्टो छ । समग्र वित्तीय क्षेत्रलाई नै सक्षम, सबल र समय सापेक्ष बनाउने अभियानमा लागेका डा. चिरिञ्जीवी नेपाल हालको गभर्नर हुनुहुन्छ । उहाँले बैंकको उक्त आलोचित व्यवस्थापनप्रति पक्कै पनि ध्यान दिने विश्वास सहकारी बैंकका आम सेयर सदस्य र निक्षेपकर्ता सहकारी संघ÷संस्थाहरुले लिएका छन ।

पूर्वगभर्नर डा. खतिवडाले सहकारी बैंक र प्रबन्ध सञ्चालक उप्रेतीप्रति ‘ब्लाइन्ड’ समर्थन हुँदाहुँदै पनि उप्रेतीले बैंकको व्यवस्थापकीय नेतृत्व गर्ने सवालमा बारम्बार प्रश्नचिन्ह भने खडा गरिरहन्थे । भृकुटीमण्डपमा भएको बैंकको साधारणसभामै पनि डा. खतिवडाले प्रबन्ध सञ्चालक उप्रेतीप्रति इंगित गर्दै बैंकको व्यवस्थापन चुस्त र दुरुस्त नभएको र हुनपर्नेमा जोड दिएका थिए । यसले बैंकका धेरै कमजोरीहरु रहेका छन भन्ने पुष्टि हुन्छ । नत्र ब्लाइन्ड समर्थनमा पनि डा. खतिवडाले आलोचना गर्नुपर्ने कुनै कारण छैन । साधारणसभामै फ्लोरमा रहेका नेशनल को–परेटर्स एलाइन्सका एक सहकारीकर्मीले उप्रेती र बैंकका धेरै कमजोरीहरु लुकाइदिएर एउटा मात्रै वाहिर ल्याएको आरोप लगाएका थिए ।
नेपाल राष्ट्र बैंकका एक कर्मचारीले भने– ‘सरकारको लगानी नभएको अन्य बैंक वित्तीय संस्थालाई त हामीले नियममा रहन कडाई गरिरहेका हुन्छौं । तर नेपाल सरकारको समेत १ करोड रुपैयाँ लगानी रहेको उक्त बैंकप्रति हाम्रो ‘ब्लाइन्ड’ समर्थनले बैंकको उन्नती र प्रगतिलाई बाधा पुग्न सक्छ भनि तत्कालिन गभर्नर डा. खतिडासँग बारम्बार कुरा उठाएका थियौं ।’ उप्रेती र बैंकप्रति पूर्बगभर्नरको मौनता प्रति आश्चर्य मानेको बताउँदै ती कर्मचारीले भने– ‘सायद त्यतिबेला सहकारी बैंकका व्यवस्थापनलाई असहयोग नगर्नु भनि माथिको कडै आदेश आएको हुन सक्थ्यो ।’ व्यवस्थपकीय असक्षमताकै कारण बैंकमा ठूला–ठूला कमजोरीहरु भेटिभएको पनि उनको भनाई थियो । ‘बैंक आफैंमा नराम्रो उद्देश्य बोकेको संस्था होइन ।’ ती कर्मचारीले भने– ‘तर बैंकलाई हाक्न सक्ने ‘ड्राइभर’ सक्षम भइदिएन ।’ सहकारी बैंक सुधार गर्ने हो भने पहिला व्यवस्थापकीय नेतृत्व परिवर्तनबाटै पहल थाल्नुपर्ने उनको भनाई थियो ।

अहिले बैंकका सञ्चालक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई साइजमा ल्याउने विषय सहित बाफियाको चर्चाले शिखर चुमेको छ । तर सहकारी बैंकले बाफियालाई नै चुनौति दिने गरिरहको गतिविधि प्रति निकायहरु बेखबर हुनु दुखद् विषय भएको एक सहकारीकर्मीले बताए । बैंकको ब्यवस्थापकीय संरचना परिवर्तन, व्यवस्थापकीय कमजोरी र बैंकमा भएको आर्थिक अनियमितता सम्बन्धमा नेपाल राष्ट्र बैंक र सेयरधनी सहकारी संघ÷संस्थाहरुले लिएको चासो बारेमा बुझ्न सहकारी समाचारपत्रले पनि पटक–पटक सम्पर्क गर्दा समेत बैंकका प्रबन्ध सञ्चालक के.बी. उप्रेतीले फोन उठाएनन् ।

नेपाल राष्ट्र बैंक र सहकारी क्षेत्रले समेत बर्तमान व्यवस्थापकीय नेतृत्वले सहकारी बैंक हाक्न नसकेको आलोचना गरिरहेको सन्दर्भमा सहकारी बैंकको बर्तमान व्यवस्थापन भने सहकारीको कर्जा सूचना केन्द्र (सीआईसी) र सहकारीलाई अनुगमन अनि नियमन गर्ने दोस्रो संस्था ‘सेकेण्ड टायर इन्स्टिच्यूसन’ (एसटीआई) जस्तो महत्वपूर्ण संस्थाहरुको नेतृत्व गर्न पाउनु पर्छ भनिरहेको छ । यसै सन्दर्भलाई लिएर समेत बैंक ब्यवस्थापनले सहकारी क्षेत्रबाट कडा आलोचना पनि खेपिरहेको छ ।
काभ्रेमा रहेको एक बचत तथा ऋण सहकारीका प्रबन्धकले भने– ‘आफैलाई वित्तीय अनुशासनमा चलाउन नसकिरहेको बैंकको बर्तमान व्यवस्थापनले सीआईसी र एसटीआई जस्तो महत्वपूर्ण र व्यवसायीक संस्थाको नेतृत्वमा कल्पना समेत गर्न लाज मान्नु पर्छ ।’ उनको बुझाईमा बैंकको व्यवस्थपकीय असक्षमता सोचे, देखे र सुने भन्दा धेरै कमजोर हुनुपर्छ । देशभरमा शाखा प्रशाखा स्थापना गरी सयौं कर्मचारीहरुद्वारा सेवा प्रदान गरिरहेको सहकारी बैंकको तथ्यांक पनि लज्जास्पद भएको उनको तर्क थियो । ‘बैंकको सेयर पूँजी, निक्षेप संकलन, कर्जा लगानी र सदस्यहरुलाई दिइने सेवा र अन्य गतिविधिको अवस्था हेर्ने हो भने हाम्रो जस्तो ५० वटा संस्था बराबर पनि देखिदैन ।’ बैंकको त्यत्रो टिमले के र कति काम गरेको छ, सहकारी क्षेत्रले सहजै अनुमान र विश्लेषण गर्न सक्छ । सरकारले समेत १ करोड अनुदान सेयर दिएर सहयोग गरिरहेको उक्त बैंकलाई आफूले हाक्न पाउने हो भने हालको हरेक परफरमेन्स दुई सय गुणासम्म बढाईदिने उनले ठोकुवा समेत गरे ।
सरकारको १ करोड सहित बैंकको शेयर रकम ७४ करोड, निक्षेप ११ अर्ब तथा कर्जा ७ अर्ब रुपैयाँ मात्र रहेको बैंकले जानकारी दिएको छ । ३७ शाखा भएको बैंकले भएका शाखाहरुबाट सेयर पूँजी बढाउने, कारोबार बृद्धि गर्ने, सदस्यहरुको मन जित्ने प्रभावकारी सेवा दिने भन्दा पनि शाखा विस्तारलाई नै जोड दिइरहेको छ । बर्तमान व्यवस्थापनले बैंकको सेवालाई विविधिकरण भन्दा पनि शाखा विस्तारलाई जोड दिइरहनुलाई सहकारी क्षेत्रमा अर्थपूर्ण रुपले हेर्न थालिएको छ । शाखा विस्तार आफ्ना आफन्त भर्ति केन्द्र र सामान खरिदमा कमाउने बाटो मात्र बनाइरहेको सहकारी अभियानका एक अगुवाको आरोप छ । उनले भने– ‘यतिबेला बैंकले व्यवस्थापन सुधार र भएका सदस्यको मन जित्नु नै ठूलो कुरा हो ।’
प्रविधिको विकाससँगै नयाँ–नयाँ सेवा सुविधाका कुराहरुमा नेपालको बैंकिङ क्षेत्रले छलाङ्ग मारिरहेको छ । नेपालका बैंक वित्तीय संस्थाहरु अन्तर्राष्ट्रियस्तरका बैंकसँग प्रतिस्पर्धा गर्न सक्षम र स्थापित भइरहेका छन । बैंक सञ्चालनको प्रणाली पनि सोही अनुसारको छ । तर सहकारी बैंकको व्यवस्थापन शैली पुरानो ढर्रा पाराको समय सुहाउँदो छैन ।
बैंकको गति र व्यवस्थापकीय नेतृत्व यही रहिरहने हो भने नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र नेफ्स्कून मातहतका जिल्ला संघहरुले सुरु गरेको अन्तरलगानीको कारोबारले सहकारी बैंकलाई जित्ने अनुमान लगाउन सकिन्छ । नेफ्स्कूनमा पछिल्लो निर्वाचित सञ्चालक समितिले बचत तथा ऋण सहकारी अभियानमा लामो अनुभव सम्हालेका शिबजी सापकोटालाई व्यवस्थपकीय नेतृत्वको जिम्मेवारी दिएपछि नेफ्स्कूनको कार्यक्षमता प्रणाली, सदस्यलाई दिने सेवामा अपनाइएको रणनीतिले विशेषगरी बचत तथा ऋण सहकारी क्षेत्रमा राम्रो प्रशंसा बटुलिरहेको छ । त्यसो त पछिल्लो पटक देशभरका बहुउद्देश्यीय सहकारीहरुको छाता संगठनले समेत अन्तरलगानीलाई प्राथमिकतामा राखेको छ । सहकारी बैंकजस्तै सहकारी संघ÷संस्थालाई मात्र सेवा दिने अन्य संस्थाहरु बढिरहँदा सहकारी बैंकको कारोबारलाई स्वतः असर पर्ने देखिन्छ ।
‘राष्ट्रिय सहकारी बैंकलाई उठ्न र उठाउन खोजिएन र सकिएको पनि छैन ।’ सहकारी अभियानका एक अगुवाले भने– ‘सहकारी बैंकलाई हाम्रो बैंक भन्ने उत्साह र जागर म मा पनि छैन ।’ त्यसैले पनि आफ्नो संस्थाले बैंकसँग एकदमै कम कारोबार गरिरहेको उनको भनाई छ ।
बैंकको हालैमात्र सम्पन्न १४ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सहकारी क्षेत्रको विकासका लागि सहकारी बैंकलाई सक्षम बनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिरहेको सन्दर्भमा सहकारी क्षेत्रले भने बैंकको व्यवस्थापनमा सुधारसहित सहकारी बैंकलाई सरकारको सहयोग हुनुपर्नेमा जोड दिइरहेका छन ।
‘बैंकमा भएका धेरै कर्मचारीहरु ‘राम्रा भन्दा पनि हाम्रा’ प्रकारका छन ।’ सहकारी बैंककै एक कर्मचारीले भने– ‘बैंकलाई यही ढंगले चलाउँदा गति लिने देखिदैन ।’ एक आधा प्रतिशत निष्पक्ष ढंगले गरिएका सक्षम नियुक्तीवालाले मात्रै बैंकको सिंगो संरचनामा परिवर्तन गर्न संभव नहुने उनको भनाई छ । प्रोफेशनल ढंगबाट नचल्ने व्यवस्थापकीय प्रमुखको अगाडि बैंकमा राम्रा र व्यवसायिक कर्मचारीहरु टिक्न नसक्ने उदाहरण पनि बैंकमा छन । केही समय अघि चार्टर्ड एकाउन्टेन्ट समेत रहेका नायब महाप्रबन्धक बद्री गुरागाईं यसका उदाहरण नै बने । बैंकलाई व्यवसायिक ढंगबाट अघि बढाउन खोजेका उनी बैंकमा धेरै टिक्न सकेनन् । तर पनि नायब महाप्रबन्धक गुरागाईकै कार्यकालमा बैंकको सेयर पूँजी बृद्धि र कारोबारले गति लिएको स्रोतले बतायो । हाल भने बैंकको कारोबारले खासै गति लिन नसकेको बताइन्छ । व्यवसायीक ढंगबाट बैंकलाई अघि बढाउन खोज्यो, तर यहाँ काम गर्ने बातावरण नभएको अनुभव गुरागाईले सहकारी समाचारपत्रसँग पनि साट्ने गरेका थिए ।
यसैबीच बैंकमा थुप्रै अनियमितता रहेको रहेको बैंक स्रोतले नै उल्लेख गरेको छ । ऋण लगानीमा भएको अनियमिता, ऋण लगानी गर्दा भएको लापरवाही, कर्मचारी भर्नामा भएको अनियमितता, विदेश भ्रमणमा भएको अनियमितता, विभिन्न खरिदहरुमा भएको आर्थिक घोटलालगायतका खोजिको विषय बनेको स्रोतले उल्लेख गरेको छ । यी विषयमा अनुसन्धान गर्ने भने प्रबन्ध सञ्चालक उप्रेतीलगायत बैंकका अन्यको गम्भीर प्रकृतिका घटना समेत सतहमा आउने अनुमान ती कर्मचारीको रहेको छ ।

सहकारी समाचारपत्र बाट साभार 

प्रकाशित : ४ श्रावण २०७३, मंगलवार १३:२१