चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग



विराटनगर । श्रमिक नेताहरूले चिया क्षेत्रमा सामाजिक सुरक्षा ऐन २०७४ तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । आइतबार झापाको विर्तामोडमा आयोजित एक छलफल कार्यक्रममा बोल्दै ट्रेड युनियन तथा चिया क्षेत्र सम्बद्ध श्रमिकका नेताहरुले सबै श्रमिकलाई तत्काल सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न माग गरेका हुन् ।

चिया उद्योगीहरुसँग यसअघि भएको सहमतिबमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा नेताहरुले जोड दिए । चिया उद्योगीले उक्त ऐन कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै उनीहरुले सरकारको समेत ध्यानाकर्षण गराएका छन् । पूर्वसहमति बमोजिम असार मसान्तसम्ममा सामाजिक सुरक्षा ऐन कार्यान्वयनका लागि चिया प्रतिष्ठान र सम्बद्ध श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकरणको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रने नेताहरुले बताएका छन् । उनीहरुले श्रम ऐनको अक्षरशः कार्यान्वयनमा समेत जोड दिएका छन् ।

श्रमिकको हक अधिकार रक्षाका लागि बनेका ऐन कानुन कार्यान्वयनमा चिया उद्योगीहरुको उदासीनता हुनु र सरकारले समेत चासो नदिँदा श्रमिकहरू समस्यामा परेको श्रमिक नेताहरुको भनाइ छ।

सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयनका लागि सबै सरोकारवालासँग छलफल गरी कुनै समस्या भए तत्काल समाधान गरेर अघि बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । उक्त ऐन कार्यान्वयन नहुँदा जीवन नै जोखिममा राखेर श्रमिकले काम गरिरहनुपरेको बताइएको छ ।

ती ऐन कार्यान्वयन भए श्रमिकसँगै चिया क्षेत्रका अधिकांश समस्याहरु समाधान हुने मजदुर नेताहरुको भनाइ छ । त्यस्तै चिया क्षेत्रमा कार्यरत कामदार कर्मचारीको ग्रेड कार्यान्वयन गर्न कानुनी व्यवस्था गरी अघि बढ्नका लागि समेत उनीहरुको आग्रह छ । त्यस्तै बढ्दो महँगीअनुसार श्रमिकका लागि विशेष राहत प्याकेजको व्यवस्था गर्न समेत उनीहरुले माग गरेका छन् ।

चिया क्षेत्रलाई विशेष पकेट क्षेत्र घोषणा गरी श्रमिक, कृषक र उद्योगीको समस्या समाधान गरी समग्र चिया क्षेत्रको विकासमा अग्रसरता लिन तीनै तहका सरकारलाई मजदुर नेताहरुले ध्यानाकर्षण समेत गराएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इञ्चार्ज भुपाल सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का प्रदेश १ अध्यक्ष हर्क थुङगिम, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल कृषि तथा वगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सहीकुमार राईले समग्र चिया क्षेत्रको समस्या समाधानका लागि उक्त ऐन कार्यान्वयनमा गर्नुपर्नेमा जोड दिए ।

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटा, चिया श्रमिक संगठनका झापा अध्यक्ष कर्ण खातीले चिया श्रमिकका समस्या समाधान नभए सशक्त आन्दोलन गर्ने बताए । सामाजिक सुरक्षा ऐन कार्यान्वयन नभए साउनबाट आन्दोलनमा उत्रने नेताहरुले संकेत गरेका छन् । संवाद समूह झापाले संयोजन गरेको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रकाशित : १३ असार २०७८, आईतवार १६:४३