वीपी कोइरालाको स्मृति दिवस मनाईंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

वीपी कोइरालाको स्मृति दिवस मनाईंदै



bpfinalकाठमाडौं, ६ साउन  । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस आज देशभर मनाइँदैछ ।

वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए ।

उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरे ।

वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेका थिए । क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न भन्ने भनाइमा बीपी सधैं अडिग थिए ।

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएका उनी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न भएका थिए ।

भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उनको प्रत्यक्ष बसउठ थियो ।

बी.पी. कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापना र राष्ट्रय हित प्रबद्र्धनका लागि कयौं पटक जोखिम मोलेका थिए । राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुहुने कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बने ।

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन विताए । प्रजातान्त्रिक समाजवादका पक्षधर वीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक थिए ।

२०१५ सालमा प्रथम पटक जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गर्नुभएको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए ।

संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याउनु भएका स्वर्गीय कोइराला नेपाली जनताको अधिकार रक्षाका लागि निरन्तर संघर्षरत भए ।

आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित थिए ।

कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।

प्रकाशित : ६ श्रावण २०७३, बिहीबार ०३:३४