सिन्धुपाल्चोकमा सहकारीः संघहरु क्रियाशिल नहुँदा गतिविधि कमजोर, स्थानीय तहको बेवास्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सिन्धुपाल्चोकमा सहकारीः संघहरु क्रियाशिल नहुँदा गतिविधि कमजोर, स्थानीय तहको बेवास्ता



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जिल्ला सहकारी संघ निष्क्रिय रहेको तथा अन्य विषयगत संघहरु क्रियाशिल नहुँदा सहकारी गतिविधि कमजोर बन्न पुगेको छ । जिल्लामा दर्ता भएका ६ वटा सहकारी संघहरु मध्ये ५ वटा सहकारी संघ सक्रिय छैनन ।

जिल्ला तथा विषयगत संघ निष्क्रिय हुँदा जिल्लाको सहकारी अभियान फस्टाउन सकेको छैन । सहकारीका माउ निकाय मानिएका संघहरुको जिल्लामा सक्रियता नहुँदा त्यसको असर सिंगो जिल्लाका सहकारीहरुले भोग्नु परेको छ ।

अभिभावकको रूपमा रहेको संघहरु नै निष्क्रिय भएपछि प्रारम्भिक सहकारीहरूको वकालत हुन सकिरहेको छैन । बहस, पैरवी गर्ने निकाय नहुँदा सहकारी समस्यामा परेका छन् ।

सिन्धुपाल्चोकका जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ, बहुउद्देश्यीय जिल्ला सहकारी संघ, दुग्ध उत्पादक जिल्ला सहकारी संघ र कृषि जिल्ला सहकारी संघ निष्क्रिय छन् । स्थापना भएका आधा दर्जन संघ मध्ये कफी जिल्ला सहकारी संघ मात्रै सक्रिय छ ।

अभिभावकको रूपमा रहेको संघहरु नै निष्क्रिय भएपछि प्रारम्भिक सहकारीहरूको वकालत हुन सकिरहेको छैन । बहस, पैरवी गर्ने निकाय नहुँदा सहकारी समस्यामा परेका छन् ।

स्थानीय तहको बेवास्ता

सिन्धुपाल्चोककाे सहकारी अभियान स्थानिय तहको पनि बेवास्ताको शिकारमा परेको छ । अधिकांश स्थानीय तहले सहकारीलाई बेवास्ता गर्दै आएका छन् ।

सहकारी के हो ? र सहकारीका लागि भनेर आएका कार्यक्रम समेत स्थानिय तहले भेउ नपाउने समस्या रहेको जिल्लाका सहकारीकर्मीहरु बताउछन् । केही नगरपालिकाले भने सहकारीसँग साझेदारी गरी विकास निर्माणका कामसमेत अघि बढाएका छन् । तर कार्यक्रम भने प्रभावकारी ढंगले अगाडी बढाउन नसकेको सहकारीकर्मीहरुको बुझाइ छ।

बलेफी गाउँपालिका स्थित लामो साँघु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पूर्णचन्द्र ढकाल सहकारीको अभिभावक नहुँदा समस्या भएको बताए । न त जिल्ला तथा विषयगत सङ्घ सक्रिय छन्, न त स्थानीय तहले नै सहकारीलाई वास्ता गर्न सकेको छ ।’ सहकारी अभिभावक विहीन हुँदा सामान्य समस्या हुँदा पनि दुःख भएको गुनासो गरे ।

श्री तपाई हाम्रो नमुना साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष शेरबहादुर रायले जिल्ला संघसहित ५ वटा संघहरू निष्क्रिय हुँदा प्रारम्भिक सहकारीहरू अभिभावकविहीनको अवस्थामा पुगेको बताए ।

आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिपी प्याकुरेलले अभिभावक संघहरू निष्क्रिय हुँदा सिन्धुपाल्चोकको सहकारी अभियान नै ओझेलमा परेको बताए ।


सिन्धुपाल्चोक जिल्ला सहकारी संघका उपाध्यक्ष चक्र बस्नेत संघको नेतृत्वको अरुचिका कारण संघका गतिविधि ठप्प हुँन पुगेको बताउछन् । संघहरु सक्रिय नहुँदा स्थानिय निकायमा समेत सहकारीको बारेमा साझा धारणा बनाएर बुझाउन नसकिएको कतिपयको गुनासो छ ।

राजनीतिक पहुँचका कारण नियामक निकाय चुप

२०६८ देखि जिल्ला संघ साधारणसभा हुन सकेको छैन । निष्क्रिय रहँदा पनि संघका सञ्चालकको राजनीतिक पहुँचका कारण नियामक निकाय चुप रहेको बताइएको छ । सहकारी ऐनमा दुई वर्षसम्म साधारण सभा नगरेको सहकारी संघ संस्थालाई निष्क्रिय संस्थाको सूचीमा राखेर कारबाही गर्ने प्रावधान रहे पनि नियामक निकाय सहकारी विभाग चुप छन् । जिल्ला संघका अध्यक्ष कृष्णभक्त नेपाललाई संघको निष्कृयताबारे कुरा गर्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : २१ श्रावण २०७८, बिहीबार २१:०६