बाढी–पहिरोको डर छ ? चिन्ता नगर्नुस् अब एनसेलले पठाउनेछ पूर्वसूचना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बाढी–पहिरोको डर छ ? चिन्ता नगर्नुस् अब एनसेलले पठाउनेछ पूर्वसूचना



काठमाडाै १० साउन । बाढी पहिरोको उच्च जोखिम रहेका स्थानहरुमा बसोबास गर्ने एनसेलका ग्राहकहरुले अब सम्भावित बाढी र पहिरोबारे आफ्नै मोबाईलमा एसएमएस मार्फत पूर्वसूचना पाउने छन् ।

एनसेलले शुक्रबार जल तथा मौसम विभागसँग पूर्वसूचना प्रदानका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी प्राप्त भई सुरक्षित रहन तथा जनधनको क्षति हुनबाट बच्न मद्दत गर्ने विश्वास लिइएको छ ।

पूर्व चेतावनी प्रणली सम्बन्धी समझदारीपत्रमा एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र जल तथा मौसम विज्ञान विभाकका महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका हुन् । समझदारीपत्र अनुसार, एनसेलले अबदेखि बाढी र पहिराको जोखिमका बारेमा पश्चिम राप्ती, नारायणी, कन्काई, कोशी, बागमती, कर्णाली, बबई, कमला लगायतका नदीका तल्लो तटिय क्षेत्रमा बसोवास गरिरहेका परिवारलाई एसएमएस मार्फत पूर्वानुमान तथा पूर्वसूचना पठाउने छ ।

समझदारीपत्र अनुसार, नदीमा पानीको सहतको स्थिति अनुसार जल तथा मौसम विज्ञान विभागले भिन्ना भिन्नै एसएमएस कन्टेन्ट एनसेललाई दिनेछ र त्यही अनुरुप कम्पनीले तोकिएको क्षेत्रमा रहेका व्यक्तिहरुलाई एसएमएस सम्प्रेषण गर्नेछ । जल तथा मौसमको अवस्थाको बारेमा जानकारी राख्ने जल तथा मौसम विज्ञान विभागले एनसेललाई नदीमा पानीको बहाब र सतहको अवस्था अनुसार एसएमएस पठाउन जानकारी दिने र त्यस अनुसार एनसेलले तत्काल सर्टकोड ११५५ बाट एसएमएस पठाउनेछ ।

पानीको बहाब खतराको सीमा भन्दा माथि गएको एसएमएस पाएपछि मानिसहरु सरकारले तोकेको वा अन्य कुनै सुरक्षित स्थानमा जान सक्छन् । पानीको सतह सामान्य अवस्थामा फर्किएपछि पनि तत्काल कुनै खतरा नभएको जानकारी ग्राहकले एसएमएस मार्फत पाउने व्यवस्था मिलाइएको छ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत जल तथा मौसम विज्ञान विभागसँग यस प्रणालीमा सहकार्य गरेको प्रबन्ध निर्देशक पार्किन्सले प्रष्ट पारे । ‘बाढी तथा पहिरो आउनु अगावै एसएमएस मार्फत पठाईने पूर्वसूचनाले सुरक्षित रहन तथा जनधनको क्षतिलाई घटाउन मद्दत गर्नेछ।’ उनले भने–‘यस नवीन कार्यमा साझेदारी गर्न पाउँदा हामी हर्षित छौ ।’

हरेक वर्ष बाढी तथा पहिरोका कारण जनजीवन तथा ठूलो मात्रामा धनसम्पतिको क्षति हुने गरेको छ । ‘एनसेलसँगको यो सहकार्यले जोेखिम युक्त ठाउँहरुमा बसोबास गर्ने मानिसहरुलाई सुसुचित हुन र सुरक्षित रहन मद्दत गर्ने छ।’ विभागका महानिर्देशक डा. शर्माले भने–‘यो एकदमै राम्रो शुरुवात हो । आउँदा दिनमा हामी अरु जोखिम भएका ठाउँमा पनि यो प्रणाली लागू गर्नेछौं ।’

हाललाई यो पूर्वसूचना प्रणाली जाखिमयुक्त स्थानको रुपमा पहिचान गरिएका ४२ वटा तटीय क्षेत्रहरुमा लागू गरिएको छ । बाढी पहिरोको जोखिमका आधारमा उक्त स्थानका बासिन्दालाई एनसेलले विभागले पठाएको सूचना एसएमएस मार्फत पठाउनेछ ।

प्रकाशित : १० श्रावण २०७३, सोमबार ०२:१२