प्रविधिमैत्री नेफ्स्कूनको आवश्यक्तामा जोड, विद्युतीय कारोबार प्राथमिकतामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बिशेष

प्रविधिमैत्री नेफ्स्कूनको आवश्यक्तामा जोड, विद्युतीय कारोबार प्राथमिकतामा



काठमाडौं । विश्व डिजिटल युगमा प्रवेश गरिरहेका बेला बैंक तथा वित्तिय संस्थाहरु पनि प्रविधिमैत्री बन्दै गइरहेका छन् । इन्टरनेटको सहायतामा घरमा बसी बसी करोडौंको कारोबार गर्न सक्ने प्रविधिको विकास भइरहेको छ । कोरोना भाइरसको महामारीलाई लक्षित गर्दै नेपालका बैंक तथा बित्तिय संस्थाहरुले आर्थिक कारोबारलाई डिजिटल माध्यमको सहयोगमा छिटो र छरितो बनाउँदै लगिरहेका छन् । यसै सिलसिलामा नेपालका सहकारी वा बचत तथा ऋण सहकारी संस्थाहरु विस्तारै प्रविधिमैत्री बन्ने तरखरमा छन् ।

अहिले सहकारी भित्र डिजिटल प्रणालीको आवश्यक रहेको बहस शुरु भएको छ । विद्युतीय कारोबार संचालनमा ल्याउन पहलहरु भइरहेको सहकारी अभियन्ताहरुले बताउँदै आइरहेका छन् । जसरी बैंकहरुले क्लियरिङ हाउस मार्फत आइपिएस प्रणाली प्रयोग गरेर आफ्नै मोबाइलबाट एउटा बैंकबाट अर्को बैंक, एक खाताबाट अर्को खाता रकम ट्रान्फर, भुक्तानी लगायत सेवा दिएका छन् त्यस्तै अभ्यास सहकारी क्षेत्रमा पनि आवश्यक रहेको औंल्याइएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)को अध्यक्ष परितोष पौड्यालले डिजिटलाइजेशन अहिलेको आवश्यकता भएकाले राष्ट्र बैंकसँग पटक–पटक छलफल गरिसकेको जानकारी दिए ।

उनी भन्छन्, ‘हामीले व्यवस्थापनका सबै कामलाई डिजिटलाइजेश गर्दा हाम्रो लागत कम हुने, विकासको गतिलाई तिब्र बनाउन सकिने, आधुनिकीकरण गर्दै नयाँ सभ्यताको विकास गर्न पनि सहयोग पुग्ने भएकाले यस विषयमा नेफ्स्कुनले इन्टरप्राइजेज रिसोर्स प्लानिङ गरे काम शुरु गरिसकेको छ ।’

समुदायको आधारभुत माग र राज्यको नीति भएको कारण डिजिटल नेपाल निर्माणमा सहकारी अभिन्न अंग हुने पौडेलको दाबी छ । अर्थमन्त्री जनार्दन शर्माले पनि सहकारीलाई डिजिटलाइजेशमा लैजान कानूनमा सहजिकरण गर्ने बचन दिइसकेकाले नेफ्स्कूनले यसका लागि तीब्र रुपमा काम अघि बढाउने अध्यक्ष पौडेलले बताए ।

मुलुकभर ३५ हजार भन्दा बढी सहकारी संस्था भए पनि बचत तथा ऋणका करिब १४ हजार सहकारी संस्थाहरु छन् । ति संस्थाहरुलाई स्थानीय सरकारबाट नीतिगत रुपमा प्रभावकारी सहयोग नपाउँदा पनि प्रविधिमैत्री बन्नलाई असहज भएको अभियन्ताहरुको गुनासो छ । ज्योती मिर्मिरे सामुहिक साकोसका अध्यक्ष उद्वव सापकोटा साकोसहरुलाई पनि प्रविधि मैत्री बनाउन निकै आवश्यक भएकाले नेफ्स्कुनले बचत तथा ऋण सहकारीको लागि छुट्टै ऐन ल्याउनुपर्ने धारणा राख्छन् ।

मिलिजुली कालिञ्चोक साकोस प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपाने बिश्वको बित्तीय क्षेत्र क्यासलेस र पेपरलेस हुँदै गइरहेकाले हाम्रो देशको साकोसहरु पनि त्यसको लागि पुर्व तयारीका साथ अगाडि बढ्नु पर्ने बताउँछन् । उनी भन्छन्,‘यसका लागि नेफ्स्कूनले नेतृत्वकारी भूमिका निर्वाह गर्नुपर्छ ।जसका कारण संस्थाका शेयर सदस्यहरुले मुस्कान र प्रविधि सहितको सेवा पाउँने छन् ।’

नेफ्स्कुनका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल प्रविधिमैत्री साकोस र नेफ्स्कुन आजको युगको अनिवार्य आवश्यक्ता भएको बताउँदै कोरोना महामारी र लकडाउनले प्रविधिको आवश्यक्ता झनै खड्काएको धारणा राख्छन् ।

उनी भन्छन्,‘कोरोना महमारीका धेरै कामहरु गर्न सकिएन, भौतिक रुपमा पुग्न सकिएन । त्यसैले यस्तो अवधिमा मैले देखेको ठूलो चुनौतीमा प्रविधि नै हो । हामीले प्रविधिलाई बलियो र प्रभावकारी बनाउन आवश्यक छ,’ उनी अगाडि भन्छन्, ‘हामी प्रविधिमा बलियो थियौ भनेर अफसाइड सुपरभिजन पनि राम्रोसँग गर्न सकिने र एमआई सिस्टम राम्रोसँग अपडेट थियो भने सदस्यको सूचना पनि राम्रोसँग अध्यावधिक गर्न सकिने थियो ।’

प्रकाशित : ३१ श्रावण २०७८, आईतवार १२:५४