साकोसको सुशासनमा नेफ्स्कून पूर्व अध्यक्षहरुको जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साकोसको सुशासनमा नेफ्स्कून पूर्व अध्यक्षहरुको जोड



सहकारीले गरेका राम्रो कामको प्रचार गर्नुपरो

कैलाश भक्त प्रधानाङ्ग, पूर्व अध्यक्ष नेफ्स्कून

अहिले केही सहकारीले जनताको पैसा उठाएर हिडेका छन् त्यसको विषयमा सशक्त आवाज उठाएर कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।

नेफ्स्कुनले सदस्यको हितमा निकै राम्रो काम गरिरहेको छ । सदस्यता, पुँजी विस्तार गरेको देखिन्छ । संस्था र सदस्यको हितमा काम गरिरहेको छ । तर मैले कहाँ कमजोरी देखेको छु भने संस्था र केन्द्रको बीचमा आत्मियता र विश्वास हुनुपर्ने हो त्यो कमजोरी भएको मैले देखेको छु ।

यसको लागि संस्थागत रुपमा प्रतिनिधित्व गर्न आवश्यक छ । आफ्नो सदस्यको हित हुने काममा ध्यान दिनुपर्यो । अहिले केही सहकारीले जनताको पैसा उठाएर हिडेका छन् त्यसको विषयमा सशक्त आवाज उठाएर कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।

पैसा राख्ने राखिरहने, भाग्ने भागिरहनेहरुले गर्दा धेरै मानिस यसबाट पीडित बनेका छन् । यसले गर्दा सहकारीले गरेको राम्रो कामको प्रचार हुन सकेन । नराम्रो कामको बढी प्रचार भयो । सहकारीले पाउने प्रतिष्ठामा आँच आएको छ । यसमा नेफ्स्कुन, सहकारी महासंघ, सहकारी बैंकको पनि कमजोरी रहेको छ ।

सहकारीले गरेका राम्रो कामको प्रचारको अहिलेसम्म रेकर्ड कतै पनि राखिएको छैन । रेकर्ड नभएपछि त्यो कुरा पत्याउन गाह्रो छ । अब यसमा ध्यान दिन आवश्यक छ । सहकारी गरिबी निवारणका लागि पनि आएको हो । मन्त्रालयको नाम पनि गरिबी निवारण मन्त्रालय रहेको छ । सहकारी ऐन नियमावलीमा १३ वटा कोष छ तर गरिबी निवारण कोष छैन । यसमा मन्त्रालय, नेफ्स्कुन, महासंघ, बैंक सदस्य कसैको पनि ध्यान गएन । सहकारीको मुल मर्म भनेको गरिबी निवारणको लागि काम गर्ने हो । त्यो हुन सकेन । अब यसमा पनि ध्यान दिने हो की । सहकारीले आफ्नो उद्देश्य र सिद्दान्त बिर्सनु हुँदैन । यसमा नेफ्स्कुनले ध्यान दिन आवश्यक मैले देखेको छु ।

तालिम, शिक्षा र प्रविधिसँग जोडेर सहकारीलाई अघि बढाउन आवश्यक छ

मिनराज कडेल, पूर्व अध्यक्ष, नेफ्स्कून

नेफ्स्कूनले ब्राण्डिङसँग जोडेर सहकारीहरुलाई सुव्यस्थित, सुशासित रुपमा अघि बढाउनुपर्छ । अब धेरै संस्था आवश्यक छैन ।

नेफ्स्कुनले अहिले सदस्यको हितमा निकै प्रभावकारी रुपमा काम गरिरहेको छ । बचत तथा ऋण सहकारी संस्थाको हित प्रबर्धनमा निकै राम्रो काम गरिरहेको छ । साकोस अभियानलाई कसरी व्यवस्थित गर्ने, सदस्यको पुँजी रिचालन गरेर उनीहरुको जीवन स्तरलाई बदल्नको लागि पहल गर्ने काम गर्ने हो । जुन भइरहेको छ ।

नेफ्स्कुनले आगामी दिनमा अझै प्रभावकारी रुपमा विभिन्न विषयमा लबिङ, एडभोकेसीको काम गर्दै जानुपर्छ । साकोस अभियानको हित प्रबर्धनको लागि साकोसको पुँजीलाई परिचालन गरेर आफ्नो सदस्यको जीवनस्तर बदल्ने, आर्थिक, सांस्कृतिक, सामाजिक र वातावरणीय क्षेत्रमा काम गर्नको लागि सरकारी र विभिन्न निकायसँग लबिङ गर्ने काम भइ नै रहेको छ । जुन निरन्तर हुनुपनि पर्छ ।

तालिम, शिक्षा र प्रविधिसँग जोडेर सहकारीलाई अघि बढाउन आवश्यक छ । स्वमिनयमान चल्नको लागि सघन अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्छ । अनुगमन भयो भने कुनै समस्या आउन दिनु हुँदैन । त्यसको लागि तालिम, शिक्षा र प्रविधिलाई सँगै लैजानुपर्छ ।

नेफ्स्कूनले ब्राण्डिङसँग जोडेर सहकारीहरुलाई सुव्यस्थित, सुशासित रुपमा अघि बढाउनुपर्छ । अब धेरै संस्था आवश्यक छैन । पहिला संस्था खोलियो । अब मर्जरमा जानुपर्छ । यसमा नेफ्स्कुनले पहल गरिरहेको छ । अझै यसमा चाहिने प्रविधिको लागि पहल आवश्यक छ ।

बचत सही रुपमा परिचालन गर्न, राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र खरिद गर्नुपर्छ । कोषको रकम र सेयरको पुँजीलाई संस्थाले पनि उत्पादन र व्यवसायसँग जोडेर लैजान आवश्यक छ । परियोजनामा लगानी गर्न सक्ने बाताबरण अहिलेको आवश्यकता हो । सहकारीले पैसाको लागि काम गरे, उत्पादन व्यवसायमा लागेनन् भन्ने आरोप आउने गरेको छ । कोषको रकम र सेयर पुँजीको केही प्रतिशत उत्पादन त व्यवसायमा जोडेर काम गर्न पहल गर्न आवश्यक छ ।

नेफ्स्कुनको ४ वर्षे रणनीति धेरै राम्रो छ । ४ वटा लक्ष्य र थप ७ रणनीति बनाएको छ । यसलाई सुव्यस्थित रुपमा अभि बढाउन सकेको खण्डमा साकोस अभियानको उचाई माथि उठाउँछ । सदस्यलाई दिने सेवामा बढोत्तरी हुनेछ । संविधानले भनेको गरिबी न्यूनिकरणमा, समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न, सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्नको लागि, दिगो विकास लक्ष्य पुरा गर्नको लागि सशक्त भूमिका निर्वाह गर्न सक्नेछ ।

साकोसको अनिवार्य एकिकरणको प्रावधान राखेर ऐन ल्याउन आवश्यक छ

ऋषि राज घिमिरे, पूर्व अध्यक्ष, नेफ्स्कून

कार्यक्षेत्र भन्दा बाहिर गएर काम गर्ने, एकिकरण भद्रगोल बनाउने, काम गर्नु भएन । एउटा एरियामा भएका सहकारीलाई एकिकरण गरेर जानु पर्ने हुन्छ ।

नेफ्स्कुनले बचत तथा ऋण सहकारीको हितमा निकै राम्रो काम गरिरहेको छ । अबको दिनमा नेफ्स्कूनको दिगोपनामा अझ शसक्त भएर काम गर्नका आवश्यक छ । नेफ्स्कून ४ हजार मात्रै होइन की १२ हजार बचत तथा ऋण सहकारीको अभिभावको रुपमा काम गर्नको लागि छुट्टै ऐनको आवश्यक छ । त्यो ऐन ल्याउनको लागि अभियानका सदस्यलाई बुझाउने, सरोकारवाला निकायलाई बुझाउने र सरकारी निकायलाई बुझाएर ऐन ल्याउन आवश्यक छ । त्यसमा शसक्त अनुगमन गर्न सक्ने बुँदाहरु राखेर, अनिवार्य एकिकरणको प्रावधान राखेर ऐन ल्याउन आवश्यक छ ।

यसले अभियानको धुमलिएको छविलाई अझै उच्च बनाउने सहयोग पुग्ने छ । कार्यक्षेत्र भन्दा बाहिर गएर काम गर्ने, एकिकरण भद्रगोल बनाउने, काम गर्नु भएन । एउटा एरियामा भएका सहकारीलाई एकिकरण गरेर जानु पर्ने हुन्छ । जबसम्म बचत तथा ऋणको छुट्टै ऐन आउँदैन तब सम्म यो विषय कार्यान्वयनमा आउँदैन । यसको लागि सरकार र अभियानले पनि बुझ्नु पर्छ । उनीहरुले नबुझेसम्म यो यस्तै नै चलिरहन्छ । केही व्यक्तिका कारण अभियानको छवि धमिलो भएको छ । छुट्टै ऐन भयो भने यो समस्या हट्दै जाने छ ।

स्थिरिकरण कोषलाई प्रभावकारी रुपमा लैजानु पर्छ

डिबी बस्नेत, पूर्व अध्यक्ष नेफ्स्कून

सुशासनको क्षेत्रमा नेपालमा कुनै निकायले काम गरिरहेका छ भने त्यो नेफ्स्कुन नै हो ।

नेफ्स्कूनले आफने उद्देश्य अनुसार नै काम गरिरहेको छ । अहिले बचत तथा ऋण सहकारी अभियानलाई सरकारले धेरै सहयोग गरेन । त्यसले गर्दा केही समस्या देखिएको छ ।


स्थिरिकरण कोषलाई प्रभावकारी रुपमा लैजानु पर्ने छ । सुशासनको क्षेत्रमा नेपालमा कुनै निकायले काम गरिरहेका छ भने त्यो नेफ्स्कुन नै हो । नेफ्स्कुनले यो अभियानलाई अघि बढाएको छ । यसमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक छ ।

सरकार वा राष्ट्र बैंकले यसमा सहयोग गरेको भए अझ राम्रो हुने थियो । सरकारको सहयोग नभएका कारण बचत तथा ऋण सहकारीले पैसा जम्मा गरे तर उत्पादनमा लागेनन् भन्ने गरिएको छ ।

उत्पादनमा जानको लागि ३७, ३८ वटा कानूनले अवरोध गरिरहेका छन् । कानूनी रुपमा निकै अवरोध रहेको छ । कानूनी अवरोध हटाउने हो भने नेफ्स्कुनलाई आफ्नो उद्देश्य अुनसार काम गर्न निकै सजिलो हुने थियो ।

अहिले समयानुकुल ऐन संशोधन होस भनेर राष्ट्रिय सहकारी महासंघ मार्फत काम गरिएको छ । त्यो विषय संसदमा लैजाने भनेको अहिलेसम्म हुन सकेको छैन ।


धेरै समयदेखि क्रेडिट यूनियन ऐनको माग भएको छ । म अध्यक्ष हुँदा नै ड्राफ्ट बनाएर पेश गरेको हो । त्यो ऐन बनाएर बचत तथा ऋण ऐन मार्फत सञ्चालन गर्नुपर्ने भनेको । हामी सबैको तिब्र माग रहेको छ । सरकारी निकाय सुस्त भएर समय लागेको छ । यो काम पनि शिघ्र भयो भने नेफ्स्कुनलाई काम गर्न झनै सजिलो हुनेछ ।

प्रकाशित : ३१ श्रावण २०७८, आईतवार २१:०८